पुटिन क्रूर छन्, युद्ध अपराधमा मुद्धा चलाउनुपर्छ : वाइडेन

काठमाडौं– अमेरिकी राष्ट्रपति जो वाइडेलने रुसी समकक्षी भ्लादिमिर पुटिनविरुद्ध युद्ध अपराधमा मुद्धा चलाउन आह्वान गरेका छन्।

रुसी सैनिकहरुले युक्रेनमा युद्ध अपराध गरेको आरोपका सन्दर्भमा थप प्रमाणहरु बाहिर आउँदै गएका बेला अमेरिकी राष्ट्रपति वाइडेनले मुद्धा चलाउन आह्वान गरेका हुन्।

युक्रेनको राजधानी किएभ नजिकैको बजार बुचामा रुसी सैनिकले सर्वसाधारणको हत्या गरेर शव सडकमा अलपत्र छोडेको अभियोग छ। बुचामा भएको उक्त घटनाको तस्बिर बाहिर आएपछि अन्तर्राष्ट्रिय समुयदाले रुसको गम्भीर आलोचना गरेका छन्।

तस्बिरहरुमा बुचाका सडकमा सर्वसाधारणका शव देखिएका छन्। रुसी सैनिकको कब्जामा रहेको बुचा शहर केही दिनअघि मात्रै युक्रेनको नियन्त्रणमा आएको हो। त्यहाँबाट रुसी सैनिक फिर्ता भएपछि मात्रै ३०० भन्दी बढीकी शव फेला पारिएको बताइन्छ। 

संयुक्त राष्ट्रसंघीय नियोगले सम्भावित युद्ध अपराधका सम्बन्धमा छानबिनको माग गरेको छ। प्रमाण संकलनका लागि बुचा जाँदै गरेका अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरुलाई सहयोग गर्ने अमेरिकाले बताएको छ। 

रुसले बुचामा देखिएका तस्बिरलाई अस्वीकार गरेको छ। उसले प्रमाणबिना स्वीकार गर्न नसक्ने बताएको छ। रुसले अस्वीकार गरे पनि बुचाका स्थानीय बासिन्दा तथा अधिकारीहरुले शहर ध्वस्त भएको र सर्वसाधारण निशानामा आएको बताएका छन्। स्थानीय मेयरले करिब ३०० जनालाई सामूहिक चिहानमा गाडिएको बताएका छन्।

रुसी सैनिकले छोडेपछि बुचा पुगेको पत्रकारहरुले कम्तीमा २० जनाको शव बाटोमा अलपत्र अवस्थामा देखेको उल्लेख गरेका छन्। र, पनि रुसले यो सत्य नभएको दाबी गर्दै आएको छ।

यही परिवेशमा अमेरिकी राष्ट्रपति वाइडेनले पुटिनविरुद्ध मुद्धा चलाउन आह्वान गरेका हुन्। उनले भनेका छन्, ‘यो व्यक्ति (क्रूर) छ। तपाईँहरुले देख्नु भयो बुचामा के भयो, पुटिन युद्ध अपराधी हुन्। तर हामीले मुद्धा चलाउन प्रमाणहरु संकलन गर्नुपर्ने हुन्छ।’ उनले रुसमाथि थप प्रतिबन्धको तयारी गरेको पनि बताएका छन्।

रुसी सैनिकले नियोजित रुपमा नै युक्रेनमा बलात्कार, यातना र हत्या गरेको विश्वसनीय सूचना आफूहरुलाई प्राप्त भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। युक्रेनको आग्रहमा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता तथा वकिलहरुले युक्रेनका महान्यायाधीवक्ताको कार्यालयको युद्ध अपराध युनिटलाई सहयोग गर्ने छ।