आशाराम बापुको आश्रममा फेरि एक किशोरीको हत्या

दिल्ली, एजेन्सी । बलात्कारको मुद्दामा जेलमा कैदीको जीवन विताइरहेका आसाराम बापुको गोण्डा आश्रममा १३ वर्षीया किशोरीको मृत शरीर फेला परेको छ। यी बालिकाको लास कारभित्र फेला परेको प्रहरीले जानकारी दिएको हो । प्रहरीले पोस्टमार्टमका लागि शवलाई अस्पताल पुर्याएको छ। मृतक बालिका ३ दिनदेखि घरबाट हराएकी थिइन् ।

आसारामको गोण्डा आश्रम विमौर गाउँमा पर्छ। घटनापछि प्रहरीले आश्रमलाई पूर्ण रूपमा बन्द गराएको छ । आश्रमका पालेहरूले कार विगत ८ महिनादेखि त्यही स्थानमा रहेको स्पष्टीकरण दिएका छन्। कारबाट अचानक गन्हाएको गन्ध आउन थालेपछि खोलेर हेरिएको र कारमा  बालिकाको शव बरामद भएको उनीहरूले बताए ।

बालिकाको पहिचान लुकाउन हत्याराले अनुहारमा केमिकल छर्किएको प्रहरीले बताएको छ । मृतक बालिकाकाका पिता पनि ३ वर्षदेखि बेपत्ता भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । आसाराम बापुलाई बलात्कारको मुद्दामा सन् २०१३ मा पक्राउ गरिएको थियो। उनको मुद्दाको छिनोफानो हुन नै अदालतमा ५ वर्ष लागेको थियो। हाल उनी जेलमै छन्।