रुसले अझै भयानक यातना र अत्याचार गर्न सक्छ-युक्रेनी राष्ट्रपति 

काठमाडौं– युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले अझै भयानक यातना र अत्याचार गर्न सक्ने बताएका छन्।

रुसी सैनिकको कब्जामा रहेका क्षेत्रमा सर्वसाधारणको ठूलो संख्यामा हत्याका घटना सार्वजनिक भएका छन्। युक्रेनी राजधानी किएभ नजिकैको बुचासहितका बजारमा सर्वसाधारणका शव सडक अलपत्र अवस्थामा भेटिएको थियो।

युक्रेनले यसलाई रुसी सैनिकले गरेको नरसंहार र युद्ध अपराध भनेको छ। रुसले भने सर्वसाधारणको हत्या अस्वीकार गर्दै आफूलाई फसाउन खोजिएको दाबी गर्दै आएको छ।

आफ्नो नियमित रात्रिकालीन सम्बोधनको क्रममा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भनेका छन्,‘उनीहरु बुचामा भएको हत्या हामीले गरेको आरोप लगाएका छन्, आफूले होइन भनिरहेका छन्, जुन सरसर झुट हो। यसले रुसको कमजोरी संकेत गर्छ।’

रुसले सर्वसाधारणको हत्या गर्नु उसको कायरता र कमजोरीको निशानी रहेको उनले बताएका छन्। आफ्ना गल्तीहरु स्वीकार नगर्नका लागि रुसले थप गल्तीहरु गर्ने र त्यसले सर्वसाधारणलाई खतरा हुने जेलेन्स्कीको भनाइ छ।

उनले भनेका छन्,‘दशकौँदेखि युक्रेनप्रति लिएको रुसको सम्पूर्ण नीति नै गलत रहेको स्वीकार गर्न उनीहरु डराएका छन्। जब कायरता बढ्छ, त्यो विपदमा परिणत हुन्छ। जब मानिसमा गल्ती स्वीकार गर्ने, वास्ताविकता स्वीकार गर्ने, त्यसबाट सिक्ने र माफी माग्ने साहस हुँदैन तब उनीहरु राक्षर बन्छन्।’