रुसी सेनाले कब्जामा लिएको सहरमा शवसँग बसेका युक्रेनी

काठमाडौं– युक्रेनको येहिड्रे विद्यालयको भूमिगत सुरुङको ओसिलो सेतो पर्खालमा रातोमा कुँदिएको क्यालेन्डरले यस गाउँका मानिसहरूलाई मार्च ५ र अप्रिल २ बीचमा के भयो भन्ने अकल्पनीय त्रासदीको साक्षी दिन्छ।

युक्रेनको राजधानी किएभबाट १४० किलोमिटर उत्तरमा चेर्निहाइभ सहरको बाहिरी भागमा अवस्थित यो येहिड्रे गाउँ रुस र बेलारुसको सिमाना नजिक छ। रुसी सेनाले करिब एक महिना यो गाउँ कब्जा गरेको थियो।

जब रुसी सैनिकहरू गाउँमा प्रवेश गरे, उनीहरूले स्थानीय महिला, पुरुष र बालबालिकाहरूलाई बन्दुकको नोकमा घरबाट बाहिर निकालेर स्थानीय विद्यालयको भूमिगत सुरुङमा बस्न बाध्य पारे। करिब ७०० स्क्वायर फिटको यो सुरुङमा चार हप्तासम्म १३० जनालाई राखिएको थियो। ६० वर्षीया माइकोला क्लिमचाकी यी व्यक्ति मध्ये एक थिए।

माइकोलाले भने,‘हामीलाई सुरुङमा लगे। केही पाइला ओर्लिएपछि हामी पुग्यौं, जहाँ सडेको दुर्गन्ध आइरहेको थियो। फोहोर केही लुगा, जुत्ता र किताबहरूको थियो, जमिनमा छरिएका थिए।’

सुरुङको बीचमा केही बालबालिकाको ओछ्यान र एउटा कुनामा भाँडाकुँडा छरिएका थिए। यस सुरुङमा मरेका अधिकांश वृद्धवृद्धा थिए। ती व्यक्तिको मृत्यु के कारणले भयो भन्ने खुलेको छैन। तर, निसास्सिएर केहीको मृत्यु भएको माइकोलाको भनाइ छ।

मानिस मरेपछि तत्काल शव निकाल्न नसकिने उनको भनाइ छ। उनी भन्छन्,‘रुसी सेनाले शव निकाल्न नदिने र बाहिर निरन्तर लडाइँका बीचमा बिस्फोट र गोलीबारीका कारण बाहिर निस्कन पनि जोखिमपूर्ण भएको बताए।’

जसका कारण बालबालिकासहितका मानिसहरु घण्टौं र कहिले दिनसम्म शवसँगै बस्नुपरेको थियो। माइकोला भन्छिन्, ‘यदि अवस्था सामान्य भएको भए यी मानिसहरू मर्ने थिएनन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युद्ध अपराधी हुन्। मेरो खुट्टा फुल्न थाल्यो तर, छोरी र दुई नातिनीको खातिर म बाँच्नुपर्छ भन्ने सोचिरहें।’

सुरुङमा बस्ने मानिसहरूले आफूलाई शौचालय जान नदिइएको बताउँछन्। उनीहरु बाल्टिन प्रयोग गर्न बाध्य भए। मानिसहरूलाई खुला ठाउँहरूमा दिनको दुई पटक खाना पकाउन अनुमति दिइन्थ्यो। गाउँमा पर्याप्त खानेकुरा थियो र पिउने पानीको लागि इनार थियो।

अप्रिल ३ मा रूसी सेनाले येहिड्रे छोडे। अहिले युक्रेनी सैनिकहरू यस गाउँमा पुगेका छन् र यहाँ फसेका मानिसहरूलाई उद्धार गरी नजिकैको इलाकामा पुर्‍याइरहेका छन्।

त्यही सुरुङमा बसेकी अनास्तासिया भन्छिन्, ‘म राति कयौं पटक ब्युँझन्थें। मलाई अझै पनि गोली चलेको आवाज सुने जस्तो लाग्छ। म डराएर आमाबुवाकहाँ जान्छु।’

रुसी सेनाले चेर्निहिभको घेराबन्दीका लागि येहिड्रे जस्ता ’roundका साना गाउँहरू कब्जा गरे र अन्ततः पूर्ण नियन्त्रण लिए।

रुसी सेना सहरमा प्रवेश गर्न सफल भएनन्, तर धेरै क्षेत्रहरू नराम्ररी क्षतिग्रस्त भएका छन्। युक्रेनी अधिकारीहरूका अनुसार करिब ३५० नागरिक मारिएका छन्।