पुटिन ‘तानाशाह’ हुन्, उनकै आदेशमा युक्रेनमा ‘नरसंहार’ मच्चिरहेको छ : वाइडेन

काठमाडौं– अमेरिकी राष्ट्रपति जो वाइडेनले रुसी समकक्षी भ्लादिमिर पुटिन ‘तानाशाह’ बनेको भन्दै उनको आदेशमा रुसी सेनाले युक्रेनमा ‘नरसंहार’ मच्चाइरहेको बताएका छन्।

अमेरिकी राष्ट्रपति वाइडेनले आओवा राज्यको मेन्लोमा मंगलबार भएको कार्यक्रममा पुटिनले युक्रेनमा नरसंहार मच्चाइरहेको आरोप लगाएका हुन्। 

उनले भने, ‘हो मैले युक्रेनमा भएको अत्याचारलाई नरसंहार भनेको हुँ। यो स्पष्ट हुँदै गएको छ कि पटिन युक्रेनी हुँ भन्ने भावना नै मेटाउन चाहन्छ। नरसंहारका प्रमाणहरु बढ्दै गएका छन्। गएको हप्ता भन्दा अहिले अवस्था फरक भएको छ ।’

वाइडेनले पहिलोपटक रुसी राष्ट्रपति पुटिनमाथि नरसंहारको आरोप लगाएका हुन्। युक्रेन तथा विश्वका विभिन्न देशका नेता एवम् अन्तर्राष्ट्रिय संगठनहरुले लगातार नरसंहार तथा युद्ध अपराधको आरोप तथा युद्ध अपराधको आरोप लगाउँदै छानबिनको माग गर्दै आएका छन्।

वाइडेनले पनि पुटिनको आदेशमा युक्रेनमा गएको २४ फेब्रुअरीदेखि आक्रमण गर्दै आएका रुसी सैनिकले सर्वसाधारणको आमहत्या गरेका प्रमाणहरु आउने क्रम जारी रहेको बताएका छन्।

‘थप प्रमाणहरु आउँदै गर्दा रुसी सैनिकले युक्रेनमा गरेको निकृष्ठ भयानक अपराधहरु सार्वजनकि भएका छन् । हामीले थप अत्याचारहरु थाहा पाउँदै गएका छौं’, उनले भने, ‘अहिले देखिएका प्रमाणहरु नरसंहार हो होइन भन्ने अन्तर्राष्ट्रिय रुपमा निर्णय गर्ने अधिकार वकिलहरुलाई जिम्मा दिइने छ। तर, मेरा लागि भने पक्कै पनि जे भएको छ त्यो नरसंहार हो।’ 

अमेरिकाले यसअघिसम्म रुसले युक्रेनमा युद्ध अपराध गरेको बताउँदै आरोप लगाउँदै आएको थियो। यसैबीच युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सत्य कुरा बोलेको भन्दै आफ्ना अमेरिकी समकक्षी वाइडेनको प्रशंसा गरेका छन्।

रुसले आफ्नो देशमा गरिरहेको अत्याचारलाई परिभाषित गर्ने सही शब्द नै ‘नरसंहार’ रहेको र सत्य कुरा बोलेको भन्दै जेलेन्स्कीले ट्वीटमार्फत् वाइडेनलाई धन्यबाद दिएका छन्।

रुसले युक्रेनमाथि आक्रमण थालेको ४९ दिन भइसकेको छ। तर, उसले सुरुमा लक्ष्य गरेअनुसार राजधानी किएभसहितका प्रमुख सहर कब्जा गर्न सकेन।

अहिले रुसले आफ्नो आक्रमण युक्रेनको पूर्वी क्षेत्र डोन्बासमा केन्द्रित गरेको छ। तुलनात्मक रुपमा आकारमा सानो र सैन्य क्षमताका हिसाबले पनि कमजोर मानिएको युक्रेनी सैनिकले भने गएको फेब्रुअरी २४ मा रुसले आक्रमण सुरु गरेदेखि नै प्रभावकारी रक्षात्मक प्रदर्शन गरिरहेको छ।