दक्षिण अफ्रिकामा आँधीसँगै आएको बाढीका कारण करिब ४ सय जनाको मृत्यु

काठमाडौं– दक्षिण अफ्रिकामा आँधीसँगै आएको बाढीका कारण करिब ४ सय जनाको मृत्यु भएको छ। ६ दिन पहिले आएको विनाशकारी आँधीपछि बाढी आउँदा दक्षिण अफ्रिकाको डर्बन क्षेत्रमा उनीहरुको मृत्यु भएको हो।

प्रहरी, सेना तथा स्वयमसेवकले अझै पनि बेपत्ताको खोजी तथा उद्धार प्रयास जारी राखेको स्थानीय अधिकारीले जानकारी दिएका छन्। बाढीमा परेर अहिलेसम्म ३९५ जनाको मृत्यु भएको पुष्टि भएको छ। 

बाढीका कारण करिब ४१ हजार मानिस प्रभावित भएका छन्। आवासीयसहितका भौतिक क्षति ठूलो मात्रामा भएको स्थानीय अधिकारीले बताएका छन्।

क्वाजुलु–नाटल प्रान्तमा आँधी र त्यसपछिको बाढीले ठूलो क्षति गरेको हो। अझै पनि कम्तीमा ५५ जना बेपत्ता रहेका छन्।

आँधी तथा बाढीका कारण १३ हजार ५९३ घरमा क्षति पुगेको छ। त्यसमध्ये करिब चार हजार घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन्।