रुसले भन्यो– मारिउपोलमा खटिएका युक्रेनी सैनिकले आत्मसमर्पण गरे ‘जीवन दान’ दिन्छौं

काठमाडौं– रुसले रणनीतिक रुपमा महत्वपूर्ण रहेको तटीय शहर मारिउपोलमा खटिएका युक्रेनी सैनिकलाई आत्मसमर्पण गरे ‘जीवन दान’ दिने वाचा गरेको छ।

रुसी सरकारले युक्रेनी सेना र विदेशी भाडाका सैनिकहरू अझै पनि मारिउपोलमा लडिरहेको बताएको छ।उनीहरुलाई ज्यान जोगाउन मन भए आत्मसमर्पण गर्न भनेको हो।

रुसले मारिउपोल शहर लगभग आफ्नो कब्जामा आएको बताएको छ। युक्रेनी सैनिकलाई आइतबार (मस्को समय) बिहान ६ देखि दिउँसो १ बजेभित्र हतियार बिसाउन रुसले अल्टिमेटम दिएको हो।

यो अवधिमा हतियार बिसाउनेलाई ‘जीवन दान’ दिने रुसको भनाइ छ। आत्मसमर्पण गर्नेहरुलाई जेनेभा कन्भेन्सन अनुसार युद्धका बन्दीलाई गरिने व्यवहार हुने रुसी रक्षा मन्त्रालयले बताएको छ।

रक्षात्मक यद्ध नरोक्ने अर्थात हतियार नबुझाउने युक्रेनी सैनिकको अवस्था के हुन्छ वा के गर्ने भन्ने’bout रुसले चेतावनीसहित जारी गरेको वक्तव्यमा केही भनिएको छैन।

एजोभ्स्ताल क्षेत्रमा मात्रै सानो संख्यामा (करिब २५ सय) युक्रेनी सैनिक रहेको दाबी रुसको छ। उनीहरुलाई आत्मसर्मपणको प्रस्ताव सम्बन्धी जानकारी रातभर नै हरेक ३० मिनेटमा दिइने रुसले उल्लेख गरेको छ। आत्मसमर्पणका लागि किएभको स्वीकृति नपर्खेर आफ्ना लागि आफै निर्णय गर्न युक्रेनी सैनिकलाई रुसले आग्रह गरेको छ।

यसअघि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मारिउपोलमा बाँकी रहेका युक्रेनी सैनिकको हत्या भएमा त्यसले रुससँग जारी वार्ता अन्त्य हुने चेतावनी दिएका थिए।

युक्रेनले आफ्नो भूमि र नागरिकको सम्झौता नगर्ने जेलेन्स्कीले बताएका छन्। मारिउपोलमा अझै पनि युक्रेनी सैनिकले रक्षात्मक युद्ध गरिरहेको उनले बताए।