वाइडेनले तत्काल युक्रेनको राजधानी किएभको भ्रमण नगर्ने

काठमाडौं– अमेरिकी राष्ट्रपति जो वाइडेनले तत्काल युक्रेनको राजधानी किएभको भ्रमण नगर्ने भएका छन्।

ह्वाइट हाउस प्रवक्ता जेन साकीले सोमबार पत्रकार सम्मेलनमा राष्ट्रपति वाइडेनको तत्कालै किएभको भ्रमण गर्ने योजना नरहेको बताएकी हुन्।

‘राष्ट्रपति किएभ जाने कुनै योजना छैन,’ उनले भनिन्,‘उच्च तहका सरकारी प्रतिनिधि युक्रेन पठाउने तयारी भने भएको छ।’ उनका अनुसार विदेशमन्त्री एन्टोनी ब्लिंकन या रक्षामन्त्री लोय अस्टिन किएभ जाने सम्भावना छ।

राष्ट्रपति वाइडेनले पनि युक्रेनी समकक्षी भोलोडिमिर जेलेन्स्कीसँग भेट गर्न उच्चस्तरीय अधिकारीलाई युक्रेन पठाउने विचार गरिरहेको बताएका थिए। त्यो उच्च अधिकारी वाइडेन आफैं पनि हुन सक्ने उनले बताएका थिए।

उनले भनेका थिए, ‘हामीले यो निर्णय लिइरहेका छौं।’ आफू जान तयार हुनुहुन्छ कि भनेर सोध्दा उनले भनेका थिए,‘हुन्छ’।

राष्ट्रपति वाइडेनको उक्त भनाइपछि ह्वाइट हाउसका एक अधिकारीले फक्स न्यूजसँग भनेका थिए,‘अमेरिकी राष्ट्रपतिलाई युक्रेन पठाउने कुनै योजना छैन।’

यता, अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनलाई आइतबार दिएको अन्तर्वार्ताको क्रममा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पनि अमेरिकी राष्ट्रपति वाइडेनले किएभको भ्रमण गर्ने आशय व्यक्त गरेका थिए।

उनले भनेका थिए, ‘पक्कै पनि भ्रमण गर्ने नगर्ने उहाँको निर्णय हो। सुरक्षा अवस्थासँग पनि यो जोडिएको छ। अमेरिकी राष्ट्रपति रहेका कारण उहाँ यहाँको अवस्था हेर्न आउनु पर्छ जस्तो लाग्छ।’

रुस–युक्रेन युद्ध सुरु भएपछि राष्ट्रपति वाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले युक्रेनको छिमेकी मुलुक पोल्याण्डको भ्रमणमा गरेका थिए।

धेरै युरोपेली नेताहरूले राष्ट्रपति जेलेन्स्कीसँग कुरा गरेका छन्। बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पनि गत हप्ता युक्रेनको भ्रमण गरेका थिए।

ह्वाइट हाउस प्रवक्ता साकीले अमेरिकाले चाँडै नै किएभमा अमेरिकी दूतावास पुनः खुला गर्ने सम्भावना रहेको बताइन्।

तर, उनले समय सीमा भने प्रदान गरेकी छैनन्। युद्ध सुरु भएपछि अमेरिकाले किएभबाट आफ्नो दूतावास हटाएको थियो।