उम्मेदवारको कठोर अपरेशन गरौं

काठमाडौं। स्थानीय निर्वाचनमा नेतृत्व लिन चाहने नेताहरुले आज निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गरिरहेका छन्। हिजो र आज उम्मेदवारी दर्ता गर्ने समय तालिका थियो। यही वैशाख ३० गते स्थानीय निकायको नेतृत्व चुन्न मतदान हुने छ। 

निर्वाचन आयोगले प्रकाशित गरेको तालिका अनुसार भोलि १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने समय निर्धारित गरिएको छ। त्यसैगरी, १४ र १५ गते मनोनयन पत्र जाँचबुझ गरि निर्णय हुने छ। १६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिन चाहेमा फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ। भोलिपल्ट १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम छ। त्यसपछि ३० वैशाखमा देशैभर मतदान हुने छ। 

यसपटक स्थानीय निकायका प्रतिनिधि चुन्न योग्य मतदाता १ करोड ७७ लाख ३३ हजार ७२३ छन्। यही वैशाख २९ मा १८ वर्ष उमेर पुगेका मतदातामध्ये महिला ८७ लाख ४१ हजार ५३० छन् भने पुरुषको संख्या ८९ लाख ९२ हजार १० छ। अन्य मतदाताको सूचीमा १८३ को नाम समावेश छ।

देशमा संघीयता कार्यान्वयन भएपछि दोस्रो कार्यकालका लागि स्थानीय निकायमा प्रतिनिधि चुनिन लागेका हुन्। पहिलो कार्यकाल मिश्रित अनुभव सहित बितेको छ। पारदर्शिताको दृष्टिबाट पहिलो कार्यकालका प्रतिनिधिले मतदाताको आशंकाको पात्र हुनुपरेको अनुभव सँगालेको पाईन्छ। जुनसुकै दलको प्रतिनिधिका हैसियतमा चुनिएका भएपनि उनीहरु आर्थिक क्रियाकलापमा बढी सुविधामुखी भएका भनेर व्यापक आलोचना भएको थियो। अपवादमा केही स्थानीय निकायले अब्बल दर्जाको काम गरेको भनेर स्यावासी पनि बटुलेका छन्। तर अधिकांश आलोचनाबाट बच्न सकेका छैनन्।

तैपनि सानामसिना कमीकमजोरीलाई छाडेर स्थानीय निकायले भौतिक बिकास, स्वास्थ्य सेवा र कानूनी सेवामा स्थानीय जनतालाई खुशी नै पारेको पाईन्छ। लामो समय स्थानीय निकायमा निर्वाचित प्रतिनिधि नहुँदा भोगेको प्रशासनिक नेतृत्वको तुलनामा आफैंले चुनेको प्रतिनिधि हुँदा जनताले सहजता महसुश गरेको पाईन्छ।

अब समय आएको छ कठोर समीक्षाको। दोस्रो निर्वाचनका लागि मनोनय सकिएपछि उम्मेदवारको अन्तिम नाम सार्वजनिक हुने नै छ। फरक फरक दलको कार्यक्रम र नारा बोकेका हजारौं उम्मेदवार जनताको घर आँगनमा विनम्र भएर प्रकट हुने छन्। ती मध्ये कतिपय साँच्चैका सेवक हुन लायक हुनेछन् भने कतिपय राजनीतिक दललाई प्रभावित पारेर राजनीतिक आवरणमा व्यापार गर्ने उदेश्यले जनताको मत बटुल्न पनि घर घर पुगेका हुनसक्छन्। सेवक र शासक छुट्याएर चिन्न सकिएन भने भविष्यमा धोका पाईन सक्छ। यो निर्वाचनले आफ्नो सेवक चुन्न जनतालाई सुवर्ण अवसर दिएको छ। 

अर्कोतिर, बिगत कार्यकालमा वचन र कर्ममा को कति समान र इमान्दार देखिए भनेर जनताले कठोर समीक्षा गर्न चुक्नु हुँदैन। बिगतको समीक्षा गरिएन भने भविष्यका लागि असली नेता पनि चुन्न सकिने छैन। आगामी निर्वाचनले सबै मतदातालाई असली नेता चयन गर्ने र मत दिने अवसर दिएको छ। कसलाई दण्डित गर्ने कसलाई पुरस्कृत गर्ने भनेर कसैसँग सोध्न नपर्ने र आफ्नो विवेकले फैसला गर्ने यस्तो अवसर फेरि पाँच वर्ष पछि मात्र आउने छ। समयको यो मूल्यलाई गम्भीर रुपमा लिन आवश्यक छ। 

सबै ससाना त्रुटी, बिकृति र बिसंगतिलाई किनारा लगाएर शुध्दिकरणतिर बढ्ने एकमात्र माध्यम भनेकै निर्वाचन हो, मतदानले खराब र असल कित्ता छुट्याउन सकिन्छ। केही दिनपछि दोस्रो निर्वाचन हुन गैरहेको छ, यसले लोकतन्त्रको जग मजबूत बनाउन थप योगदान गर्ने नै छ। आवधिक निर्वाचन हुन नपाउँदा बिगत वर्षहरुमा राज्यकोषको चरम दुरुपयोग भएको र भ्रष्टाचारको बिकृति बढेको हामी सबैले देखेभोगेकै हो।

आवधिक निर्वाचन नै त्यस्तो अस्त्र हो जसले राजनीतिक बिकृतिको सही उपचार गर्न सक्छ ’cause त्यहाँ जनताले प्रत्यक्ष निगरानी गरिरहेको हुन्छ। यही नै लोकतन्त्रको सुन्दर पक्ष हो। यसलाई अझ चहकिलो पार्न देशभरका मतदाताले असल सेवक चुन्न कुनै कसर छाड्नु हुँदैन। त्यो भन्दा पहिला तपाईंको नेतृत्व लिन उम्मेदवारी दावी गरिरहेका व्यक्तिहरुको बिगत र वर्तमानको अपरेशन गर्न भुल्नु हुँदैन। यही नै असल नेता छान्ने र उसलाई आफ्नो अमूल्य मत दिएर चुन्ने सुवर्ण अवसर हो। साभार: drishyatv.com