तेस्रो विश्वयुद्धको खतरा वास्तविक : रुस

काठमाडौं– रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनमा भयंकर युद्ध भइरहेका बेला तेस्रो विश्वयुद्धको खतरा वास्तविक रहेको चेतावनी दिएका छन्। उनले तेस्रो विश्वयुद्धको खतरा वास्तविक रहेको र यसलाई हलुकामा लिन नहुने बताए।

लाभरोभले युक्रेनसँग शान्ति वार्ता जारी रहने पनि बताए। ‘रुस र युक्रेनबीचको सम्झौताले द्वन्द्व अन्त्य हुनेछ। त्यसबेलाको लडाइँको अवस्थाका आधारमा यो सम्झौताका सर्तहरू तय गरिने छ,’ उनले भने।

रुसी विदेशमन्त्री लाभरोभले पश्चिमी देशहरूले युक्रेनमा पठाइने हतियार रुसी सेनाको वैध लक्ष्य हुने चेतावनी दिएका छन्। यसअघि उनले तेस्रो विश्वयुद्ध भयो भने त्यसमा खतरनाक हतियार प्रयोग हुने र विनाशकारी हुने बताएका थिए। 

यस्तै, रुसी विदेशमन्त्रीले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की राम्रो अभिनेता भएको र बोल्ने नाटक गरेको आरोप लगाएका छन्। 

उनले मस्को टाइम्सलाई भने, ‘यदि तपाईंले ध्यानपूर्वक हेर्नुभयो र पढ्नुभयो भने तपाईंले जेलेन्स्कीले भनेको कुरामा हजारौं विरोधाभासहरू देख्नुहुनेछ।’

यसैबीच, युक्रेनका विदेशमन्त्री दिमित्री कुलेबाले तेस्रो विश्वयुद्धको खतरालाई लिएर लाभरोभमाथि प्रहार गरेका छन्। लाभरोभको भनाइले रुसले युक्रेनलाई समर्थन गरेर विश्वलाई डराउने अन्तिम आशा पनि गुमाएको उनले बताए। 

‘यसको अर्थ रुसले युक्रेनमा हार महसुस गरेको मात्र हो,’ कुलेबाले भने।साभार: drishyatv.com