वसन्तपुरमा फोटो प्रदर्शनी

काठमाडौं । फोटो पत्रकार क्लब (पिजे क्लब) नेपालले ९५औँ राष्ट्रिय फोटो पत्रकारिता दिवसको उपलक्ष्यमा मंगलबार ‘लेन्सबाट फोटोपत्रकारिता’ विषयक फोटो प्रदर्शनी गरेको छ ।

काठमाडौँको वसन्तपुरमा आयोजित प्रदर्शनीमा फोटो पत्रकारहरुले कार्यसम्पादन गर्दा भोग्नु परेको चुनौती र जोखिम झल्काउने ३० वटा फोटा राखिएका छन् । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत र नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले संयुक्तरुपमा प्रदर्शनी शुभारम्भ गरेका थिए ।

अध्यक्ष बस्नेतले फोटो सत्य, तथ्य र निष्पक्ष हुुनुपर्नेमा जोड दिँदै सबै पत्रकारले पत्रकारिताको मूल्य मान्यता र आचारसंहिताअनुसार काम गर्नुपर्ने बताए । महासङ्घका अध्यक्ष पोख्रेलले फोटोले पाठकलाई थप आकर्षित र समाचारलाई थप विश्वसनीय बनाउने धारणा व्यक्त गर्दै पत्रकारिता पेसालाई सुरक्षित बनाउन सरकारले बनाउने कानुन प्रेसमैत्री हुनुपर्ने बताए ।

पिजे क्लवका अध्यक्ष श्रुती श्रेष्ठले क्लबले फोटो पत्रकारका पेसागत हक, हित र सुरक्षामा काम गर्दै आएको जानकारी दिँदै राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायत क्षेत्रमा काम गर्दा फोटो पत्रकारले भोग्नु परेको जोखिमहरुलाई समावेश गरेर प्रदर्शनी आयोजना गरिएको बताइन् ।

नेपाल पत्रकार महासङ्घ र सेन्टर फर मिडिया रिसर्च नेपालसँगको सहकार्यमा आयोजना गरिएको प्रदर्शनी आज अपराह्न ५ बजेसम्म चल्ने क्लबका प्रवक्ता विकास द्वारेले जानकारी दिए ।