गणतन्त्र दुखाउने पूर्वराजाको नाच
मन्दिर जाँदा आलोचना खेप्ने पूर्वराजा,डान्सबार र डान्स क्लबमा जाँदा आलोचना मुक्त कसरी हुन सक्थे र ? आलोचना नगरिने विषय, आलोचना नपाउने पात्र को होला र ? आलोचना मुक्त भगवानको समेत कल्पना गरिएको छैन भने पूर्वराजा ज्ञानेन्द्र अपवाद हुन सक्तैनन् । उसो त ठमेलतिर रात्रीकालिन मनोरन्जनलाई हाम्रो समाजले उतीसारो निको मान्दैन जसको पछिल्लो उदाहरण फुटबल खेलाड़ीहरु रात्रीकालिन मनोरंजन गर्न ठमेलका डान्स क्लब गए बापद (बन्द क्याम्प भित्र रहेका खेलाडीहरु जथाभावी जान र गर्दै हिड्न नमिल्ने संवेदनशील पक्षमा मेरो असहमति छैन) कार्यबाहीको सूचीमा रहेर खेल खेल्न बन्देजमा परेका छन । यस्तै उदाहरण आएको हप्तादिन बित्न नपाउदै पूर्वराजा ज्ञानेन्द्र शाह रात्रीकालिन मनोरन्जनमा सपरिवार ठमेल पुगेर नाच गान गरेको भिडियो भाइरल बनेको छ ।
व्यक्तिको आफ्नो स्वतन्त्रता निर्बाध रुपमा प्रयोग गर्ने अवसर हाम्रो संविधानले सबै नेपालीलाई दिएको छ यद्दपि ज्ञानेन्द्रको हकमा भने यो यदाकदा कुण्ठित हुनुपर्छ भन्दै बोल्ने गरिएको छ । बिभिन्न खाले चेतावनी र धम्की र आक्रोश व्यक्त गरिएको पाइन्छ । व्यक्तिको धार्मिक स्वतन्त्रता, देसमा बिना हातहतियार निर्भय पुर्वक हिड्न, डुल्ने संबिधान प्रद्दत हक संबिधानमा सुरक्षित छ तर ज्ञानेन्द्र शाह मन्दिर जाँदा, देश देशावारको भ्रमणमा निस्कँदा त्यो हक अधिकार बन्देज गर्ने खालको अभिव्यक्ति राज्य संचालन गर्नेहरुको मुखारावृन्दबाट निस्कन्छ । संविधानत: सबै नेपाली नागरिकको लेख्ने, बोल्ने, पढ्ने, लगायत यावत पक्ष एकै हुन्छ तर ज्ञानेन्द्र शाहको हकमा त्यो स्वतन्त्रता संकुचित हुनुपर्छ किन ? संबिधानमा सबै नेपालीको लागि बराबरी हक अधिकार भने पनि ब्यबहारत: समाजमा जातीय छुवाछुत कायम छ त्यसैगरी गणतान्त्रिक नेपालमा पनि पूर्वराराजा अछुत झैँ ठानिन्छन, गणतान्त्रिक अछुतको रुपमा छन ज्ञानेन्द्र शाह ।
गणतन्त्रमा अछूत हुने दुर्भाग्य कसैको हुनु हुँदैन । देसको नियम, कानुन र ऐनले, संविधानले गलत गर्नेलाई छूट दिदैन र दिनुहुदैन तर संबिधान भित्र बसेर मर्यादामा हिड्दा, डुल्दा, बोल्दा पनि गणतन्त्र संकटमा पर्छ, गणतन्त्रको गजुर हल्लन्छ, जग चर्कन्छ भने त्यसको भागीदार ज्ञानेन्द्र कसरी हुन सक्छन ? ज्ञानेन्द्रको धार्मिक स्वतन्त्रता, मठ मन्दिर जाने पूजा गर्ने, भाकल गर्ने धार्मिक कर्मले गणतान्त्रिक जग भासिन्छ भने त्यसको भागीदार कमजोर, धरातलमा गणतन्त्रको घडेरी खन्ने ठेकेदारले लिने कि नलिने ?
सरक्क राजपाठ छोडेर नागरिक भएको पूर्वराजालाई अबपनि सबै गणतान्त्रिक दोषको हिस्सेदार भन्दा अलि अलि लाज सरम लाग्नुपर्ने होइन र ? सत्र हजार मान्छेको मृत्युको कारण र बातावरण बनाउने मान्छेले आफ्नो कार्यकालमा १७ जना मान्छे मरेकोमा सम्पूर्ण राजपाठ र पैत्रिक सान सौकत, गुमाएर साधारण नागरिक भएको मान्छेलाई अब कति लान्छना लगाउने ? अहिले भएका, हुर्केका बढेका विकृतिको भारी बोकाउने ? लाजलाई नै लाज लाग्ने गरि गणतान्त्रिक नेपालका नेताहरुलाई बोल्ने अधिकार कहाँबाट प्राप्त भयो ? कतै नेता विशेषका लागि विशेष हक, स्वतन्त्रता र विशेष व्यवस्था गरेको त छैन संविधानले प्रश्न गणतन्त्रका मुर्धन्य नेताहरुलाई?
निर्मम लागोस या तीतो तर सत्य र आजसम्म प्रमाणिक इतिहास र वर्तमानको एउटा तथ्यमा घोत्लिएर हेरौ । पृथ्वीनारायण शाह्को नेपाल एकीकरण पश्चात ज्ञानेन्द्र शाहको पाला सम्म राजतन्त्रको कारण राजनीतिमा लागेका कति मान्छे मारिए ? अनि २०४६ पछि हालका सबै जसो राजनीतिक दलका नेताहरूले देश हाकेको बेला कति मान्छे राजनीतिमा लागेका कारण मारिए ? अबधि र रेसियोको हिसाब गरौ त ? राजतन्त्र कालीन यूग र आधुनिक प्रजातान्त्रिक गणतान्त्रिक यूगको ? पुराना पन्च र अहिलेका नेताको जीवन स्तर हेरौ, भ्रस्टाचार कसको पालामा कति वृद्धि भयो कस कसले भ्रष्टाचारीको संरक्षकत्व प्रदान गरे ।
कुन कुन पार्टी र सरकारले नितिगत भ्रष्टाचारको संस्थागत शुरूवात र विकास गरे ? अनुशासन र ब्यबस्थापकीय क्षमता कसको पालामा सम्वृद्द र शोभनीय थियो ? पन्चायत कालीन नेता र तिनको भ्रष्टाचार अनि बहुदलीय ब्यबस्था पछिको नेता कार्यकर्ताको भ्रस्टाचार र अराजकता एउटा तराजुमा जोखेर हेरौ त कतातिर पल्ला भारी हुन्छ । अनुशासन र देशभक्ति कहाँ बढी थियो । स्वतन्त्रता, प्रगति र प्रतिष्ठा भनेको अर्कोको नाक भांचेर आफ्नो जत्रै बनाउनु होइन बरु अरुको समान बनाउन अथक, मेहनत, परिश्रम र अवसर खडा गरि सामाजिक प्रतिष्ठाको अभिवृद्धि गर्नु हो । पक्कै पनि पनि खराबी नभएको कुनै बस्तु मान्छे र ठाउ हुदैन ब्यबस्था हुदैन, छैन, निर्विकल्प कसैलाई मानिदैन ।
राजतन्त्रका पनि थुप्रै कमी कमजोरी थिए, छन देखिन्छन् तर राजतन्त्रको कारण नै देश बिग्रेको र यस्तो भएको स्विकार्न मलाई मात्रै होइन गणतान्त्रिक अवस्था र व्यवस्था भोगेका सबै नेपालीलाई अब लाज लाग्छ । म जस्तै धेरै धेरै मान्छे अब यो स्विकार्ने र देशको अधोगतीको दोष राजतन्त्रको थाप्लोमा मात्र हाल्ने पक्षमा छैनन् । हो देश राजतन्त्रको बेला पनि केही हदसम्म बिग्रिएको थियो अब फरक यति रह्यो अहिले बेहदै बिग्रेको छ । दल बिहिन ब्यबस्था महेन्द्रको भूल थियो तर त्यो समाजको चेतना बहुदलीय व्यवस्थाको प्रयोगको लागि परिपक्व थिएन भन्ने कुरा आज पनि दलीय चेतनामा अल्पता देख्दा भन्न सकिन्छ ।
ब्यबस्था आफैमा सबै थोक होइन भन्ने कुरा प्रमाणित सत्य र संसारका प्रयोगहरुले पुष्टी गरेका छन् । ज्ञानेन्द्र शाह मेरो ब्यक्तिगत विचारमा असल र उत्तम मान्छे हुन भन्ने अझै लाग्दैन, यिनैले देश बनाउछन भन्ने विश्वास पनि छैन तर यिनले बोल्ने लेख्ने राजनीति गर्ने स्वतन्त्रता पाउछन र पाउनुपर्छ भन्ने मेरो अभिमत संबिधान प्रतिकुल अवश्य पनि छैन । संविधान यिनको मामिलामा बिभेद्कारी बन्न मिल्दैन । ज्ञानेन्द्र बोल्दा , कहीँ जाँदा किन झस्कन्छ्न राजनीतिक पार्टीहरु ? किन डराउछ्न नेताहरू ? यसको कारण हो ज्ञानेन्द्र जति पनि क्षमता र दक्षता छैन यिनीहरूमा ? ज्ञानेन्द्र शाहमा जति देशभक्ती छैन यिनीहरूमा ।
आफ्नो अयोग्यता ढाकछोप गर्न ज्ञानेन्द्र शाहलाई गाली गर्छ्न नेताहरू,पार्टीहरु ? त्यसैले संविधान प्रद्दत्त हकअधिकार प्रयोग गर्न रोक लगाउछन । दैवी प्रकोप र प्राकृतिक विपत्ति पर्दा मानवीय सहयोग गर्न पनि राजनीति गरेको देख्छन प्रतिबन्ध लगाउछन पुर्व राजा ज्ञानेन्द्र र उनको परीवारलाइ । बिडम्बना ज्ञानेन्द्र शाह र उनको परीवारले खुशी भएर रमाइलो गर्दा पनि गणतन्त्रलाई आपत्ति लाग्छ । अनुशासन भंग गरेको आरोप खेप्नु पर्छ ज्ञानेन्द्र शाहले । मन्दिर जादा राजनीति गरेको आरोप लगाउछ देश ।
देशमा रहेका राज्यका भुपु र बर्तमान भि भि आइ पि राज्यको सेवा सुबिधा र सुरक्षा लिएर राजनीति गर्न मिल्ने, हुने तर ज्ञानेन्द्र शाह भने अपवाद बनेर बस्नु पर्ने रे बोल्न नहुने, हिंड्न् नहुने, देशमा भएको घटना प्रसङ्गमा आफ्नो धारणा राख्न नहुने कस्तो प्रजातान्त्रिक अभ्यास ? यदि यिनले बोल्न नहुने राजनीति गर्न नहुने हो भने राजा फेरि पुनर्स्थापना गरौ हैन भने एक नेपाली नागरिकलाई संविधानले जे जे गर्न छूट दिएको छ त्यो यिनले पनि पाउनुपर्छ ।
पूर्वराजा राजा ज्ञानेन्द्र्को अभिव्यक्ति स्वतन्त्रता संविधान प्रद्दत हक हो । ज्ञानेन्द्र शाहको विचार र धारणासँग असहमति राख्न सकिन्छ तर तिमीले बोल्न नै पाउदैनौ भन्न पाइदैन । नाच्नै पाइदैन भन्न पाइदैन । ज्ञानेन्द्रको नाचमा खोट लगाउन मिल्छ तर नाच्ने स्वतन्त्रता अवरुद्द गर्न हुदैन । ज्ञानेन्द्र झैँ निर्धक्क र ढुक्क भएर जनताको बिचमा सामान्य सुरक्षामा जाने हिम्मत छ गणतन्त्रका पहरेदारहरुसँग ?
तनावरहित बनेर आफ्नो सामाजिकीकरणको अभ्यासलाई नजाती भन्नुपर्ने अवस्था छैन । अभूतपूर्व विरासत त्याग्न विवस भएर पनि देसको माया गर्दै स्वदेशमा नै बसेर सरल जीवन यापन गर्दै सहज तरिकाले जिन्दगी जिउने कला र तरिकालाई गज्जब पो भन्नुपर्छ । देश भक्तिको गीत गाएर सगर्व नेपाली हुनुको मजा लिने ज्ञानेन्द्रप्रति किन रोष क्षोभ र प्रतिसोध ? जनतासँग एकाकार भएर सौहाद्रपूर्ण नाच गान र मनोरंजन गर्दा गणतन्त्रको चित्त दुख्नुपर्ने कारण छैन । गणतन्त्र दुखाउन ज्ञानेन्द्र नाचेका होइनन, ज्ञानेन्द्र नाच्दा खुशी हुदा गणतन्त्र दुख्नु पर्ने कारण देख्ने नेताहरुको आफ्नो असफलता हो, भयको मनोविज्ञान हो । ज्ञानेन्द्रको स्वतन्त्रता कुण्ठित गरेर गणतन्त्र बलियो हुन्छ भन्ने सपना निर्दो र नामर्दको हतियार हो । ज्ञानेन्द्र नाचेर नै मस्त र व्यस्त बनुन । सामाजिकीकरण गर्ने उनका हर प्रयास र अभ्यास नेपाली संस्कार र मौलिकता हुन ।