पीडा र पैसा

गाउँमा अचेल सपना देख्ने युवाहरु छैनन् । अब तिनका सपनाहरु वृद्ध र विवाहित महिलाहरुले सम्हालीदिएका छन् । ती प्रत्येक दिन शून्य आँगनमा उभिएर रित्तो आकाश र उदास क्षितिजतर्फ लोलाएका आँखाहरु बिछ्याएर परदेश गएकाहरुलाई गहभरि सम्झंदै सपनाको खेती गर्छन् ।

गाउँमा रामप्रसाद लुइँटेलको छोरा अमेरिका पुगेको खबर फैलियो । केही दिनपछि सँगै घरको हरिबहादुर कार्कीको छोरा पनि पैसा कमाउन भनेर मलेशिया गयो ।

अलि तल बजारछेउ घर भएका श्रीमति मैयाँनानी त्वायनाकी छोरी नर्सिङ्ग पढ्दापढ्दै अष्ट्रेलिया पुगी। यता पाखामा घर भएका मानबहादुर तामाङका दुई जना छोरा पनि हेर्दाहेर्दै अरब पुगे । तल्लाघरे धनबहादुर गुरुङको छोरा पनि बाउको पदचाप पछ्याउँदै व्रिटिश सेनामा भर्ना हुन पुग्यो ।

यसैगरी गाउँका प्रत्येक घरबाट कोही न कोही विदेश नपुगेको भन्ने नै भएन । जसको पनि घरबाट एक न एकजना परदेश गएकै छन् र जानेहरुले अरुलाई प्रेरणा दिने कार्य पनि गरिरहेकै छन् । पल्लाघरे हिरालाल विकको छोरा भने जति गर्दा पनि विदेश जान पाएको छैन ।

कतिलाई भन्यो कसैले लगेको होइन । भनेजति पैसा खर्च गर्न नसकेकोले ऊ गाउँमै हल्लिएर हिंडिरहेको छ । घरमा आमाबाबु पनि उसलाई विदेश जान नसक्ने भनेर गाली गरिरहन्थे । एकदिन ऊ पनि कसैलाई नभनी घरबाट हिंड्यो ।

गाउँबाट हिंडेपछि ऊ पनि विदेशै गएको ठाने गाउँलेहरुले । आमाबाबुलाई एक्लो छोरा परदेश गएकोमा कति पनि पीर लागेन । बरु वरिपरि जोरीपारीका बीच आफ्नो छोरा पनि विदेश गयो भन्न पाएकोमा बडो खुशी छन् ।