सडक यतायात मृत्युको धराप, पासो, एम्बुस

हाम्रा बाटाहरु, मृत्युका धराप, पासो या एम्बुस जस्तै छन यसको जिम्वेवारी खै कसले लिने ? भवितव्य टार्न नसकिएला तर कम गराउन सकिन्छ । आम नागरिकको पनि भूमिका चासो र सक्रियता उत्तिकै र सधै खाँचो पर्ने विषय हो । चालकले गर्ने लापरवाहीको जबाफ दिने निकाय, सम्बन्धित सडक बिभाग जहाँ दुर्घटना हुन्छ त्यो क्षेत्रको ट्राफिक, यातातायत व्यवस्था बिभाग, सम्बन्धित अधिकृत, उप सचिव सह सचिव, सचिव र मन्त्री सम्मले जबाफदेहि हुने अवस्था सिर्जना गर्नु बान्छनीय देखिन्छ ।


 प्रचलित मान्यता अनुसार, कुनै सवारी साधनले अर्को वा सडकमा रहेका अन्य सजिव वा निर्जिव बस्तुलाई ठक्कर दिन्छ र त्यसबाट क्षति हुने, घाइते हुने र मृत्यु हुने तीन वटा अबस्थामध्ये कुनै एक वा बढी अवस्था सिर्जना हुन्छ भने त्यसलाई सवारी दुर्घटना भनिन्छ । नेपाली बृहत् शब्दकोश अनुसार – कुनै ब्यक्ति वा वस्तुको हानि वा क्षति हुने आकस्मिक घटना अर्थात अपर्झट आइपरेको कष्टपूर्ण अशुभ घटना दुर्घटना हो । काबु बाहिरको घटना कल्पनाभन्दा दूरको अथवा नसोचेको घटना दुर्घटना हो । दुर्घटना आकस्मिक भवितव्य हो । सवारी दुर्घटना हुनका बिबिध कारणहरु छन । सडक सवारी दुर्घटना मानवीय कारण, यान्त्रिक कारण, वातावरणीय कारण, सडकको कारण लगायतले हुनेगरेको छ । हाम्रो जस्तो भौगोलिक विकटता भएको, फरक फरक भौगोलिक अवस्थिति भएको मुलुकमा दुर्घटना अन्यत्र भन्दा बढी हुनेगरेको बताइन्छ ।

सडक अनुशासन पालनामा चालक र यात्रुको लापरवाही पनि दुर्घटना बढ्नुको अर्को समस्या देखिन्छ ।  समग्रमा सडक अनुसाशन नै सबै समस्या निराकरणको उपाय र औसधि हो । सडक अनुशासनमा जे जे पर्नु पर्ने हो त्यो त्यो पालन गर्न सकियो भने दुर्घटनाको सम्भावना अत्यन्त न्यून रहन्छ । धेरैजसो दुर्घटना राज्यको नियमन निकाय, नियमन पद्दति र नियामक कर्मचारीको कारण भएको छ । त्यसैले सडक दुर्घटना राज्य संरक्षित हत्या र कत्लेआम हो भन्दा फरक पर्दैन । जबाफ देहिता नभएको राज्यमा सार्वजनिक यातातात राज्यले प्रश्रय दिएको अपराध हो । राज्यमा स्तरहीन सडक निर्माण गर्ने र जस्तो पनि सडकमा जस्तोसुकै कन्डिसनको गाडी अनि जोसुकैलाई ड्राइभिंग लाइसेन्स दिनु राज्यले मानव हत्यालाई उत्प्रेरित गरे झैँ देखिएको छ ।

सडक सवारी भरपर्दो, विश्वासिलो र सुरक्षित गन्तव्य बन्न सकेको छैन । उसै पनि सडक यात्रा मृत्युको आठौं कारणको रुपमा विश्वमा परिचित छ । त्यसमा पनि हाम्रो देशमा अनि विगत तीन महिनामा भएका अत्यन्त कहालीलाग्दा दुर्घटना हेर्दा जो सुकैको मन पनि सडक सवारी सम्झंदा झसंग हुन्छ आंग फुलेर आउछ । हाम्रा सडकहरु मृत्युका धराप अर्थात एम्बुस थापे झैँ लाग्छन । हरेक दिन जसो आउने सवारी दुर्घटनाको खबरले हाम्रो सडक यात्राको जोखिम कति र कस्तो छ बताउने गरेको छ । आइतबार सिन्धुपाल्चोक जिल्लाको छ किलो भन्ने ठाउँमा विभत्स अर्को दुर्घटना भयो जसमा १५ को मृत्यु १० जना गम्भीर घाइते र अरु ७ जना सामान्य घाइते बने ।

सिन्धुपाल्चोक त्यस्तो जिल्ला भयो जसले दुई महिनाको अबधिमा चार दुर्घटना पचास जना भन्दा बढीको मृत्यु १५० भन्दाबढीको  अंगभंगको साक्षी बस्यो । असोज २४ मा इन्द्रावती गाउँपालिकामा भएको बस दुर्घटनामा १४ जनाको इहलिला समाप्त भयो । कार्तिक १४मा अत्याधिक लोडको कारण बस पल्टीदा ३ जनाको मृत्यु , कार्तिक १७ गते सुकुटेमा बस सुनकोसीमा खस्दा १७ जनाको ज्यान गएको थियो ।  मंगसिर ११को अर्घाखाँचीमा १९ जनाको जीवन लिला समाप्त गर्ने दुर्घटना अनि मंगसिर १७ गते बाग्लुंगको १६ जनाले दुर्घटनामा परेर ज्यान गुमाउनु परेका ताजा घटना हुन । यी लगायत अरु साना तिना सडक दुर्घटनामा यो बीच देशभर थुप्रैले ज्यान गुमाएका छन । यावत घटनाको शृंखला हेर्दा र २०६६ देखि २०७६ सम्मको दुर्घटना आँकडा हेर्दा १००७०४ सडक दुर्घटना घटित छन । यो १० वर्षको अबधिमा २०६७६ जनाले आफ्नो चोला त्याग गरेका देखिन्छन भने गम्भीर घाइते र अंगभंग हुनेको संख्या १२४१८१ देखिन्छ झन्डै एकलाख सामान्य घाइते छन ।

यसरी तथ्यांक हेर्दा युद्द, महामारी, प्राकृतिक प्रकोप भन्दा धेरै मानवीय क्षति सडक दुर्घटनाको कारण भएको छ अत यस्ता दुर्घटना र क्षति न्यूनीकरण गर्न राज्यको ध्यान किन गएको छैन, जान सकेन ? दिन परदिन बढ्दो दुर्घटना र निर्दोष मान्छेहरुको हताहत अर्थात सडक सवारी प्रति राज्यको उदासिनता र मौनता किन ? सामान्य हवाई दुर्घटनामा संवेदनशील हुने राज्य आफ्नो नागरिकको सबैभन्दा बढी पहुच हुने सडक सवारीप्रति किन भेदभावपूर्ण नजर राख्छ ? ज्यान एकै तर हवाई दुर्घटना र सडक दुर्घटनामा मृत्यु वरण गर्नेको सवालमा क्षतिपूर्ति रकममा पनि हवाईमार्ग र सडक मार्ग जत्तिकै फराकिलो अन्तर छ । आकाश जमिनकै भिन्नता यो सोचनीय र बदल्नुपर्ने एकरुपता कायम गर्नु पर्ने अहम सबाल हो । जिन्दगी उही तर क्षतिपूर्ति रकम फरक ।

सडक सवारीका मुख्य चुनौतीहरु – स्तरहीन सडक, न्यूनतम अनुगमन बिना नै सवारी संचालनमा अनुमति दिने प्राबिधिक । स्काभेटरले जबर्जस्ति प्रबिधिक अध्ययन र विश्लेषण र नाप नक्सा बिना बनेका साँघुरा बाटाहरु ।  सडक सवारीमा क्षमता र अवस्था नै नहेरी सवारी गुडाउन दिने यातायात ब्यबस्था बिभाग । योग्यता नै नपुगेकाहरुलाई लेनदेन आर्थिक प्रलोभनमा लाइसेन्स दिने प्रवृति । समयसीमा नाघेका थोत्रा गाडी । क्षमता भन्दा अत्याधिक धेरै मान्छे चढाउने र आवस्यकताको कारण कोचिएर नै भए पनि गाडी नचढी नहुने आम प्रवृति । स्तरहीन सडकमा अपहत्ते गरेर गाडी गुडाउन चाहने संचालक र यात्रुहरु ।

आपसमा प्रतिस्पर्धा गरेर आँखा चिम्लेर बेगवान गाडी कुदाएरयात्रू तान्ने होड । भौगोलिक विकटता, भूगोलको अवस्थिति । लामो रुटको यात्रामा पनि एक जना मात्रै चालकले काम चलाउने व्यवस्थापन । सडकलाई आर्थिक उपार्जनको माध्यम बनाउने ट्राफिक प्रहरी । घुम्ती र मोडमा ट्राफिक संकेतको अभाव । बाक्लो हुस्सु कुहिरो, बर्सात, हिउ, असिना, बाढी, पहिरो लगायत थुप्रै मानवीय, यान्त्रिक, प्राबिधिक, बातावरणणीय, भौगोलिक कारणहरु मुख्य, गौण, सहायक कारण भएर दुर्घटना भएको कुरा बिभिन्न अध्ययन र अनुसन्धानले पुस्टि गरेका छन ।

कहिलेकाही दुर्घटनाको कारण तत्क्षण अज्ञात पनि हुनसक्छ । कारण ज्ञात छ यद्दपि हामी लापरबाही पुर्वक सवारीसाधन चलाई रहेका हुन्छौ । लापरवाहीले दुर्घटना अवश्यंभावी छ । यहाँ लापरवाही भन्नाले जुन जुनकुरा सवारी सन्चालनको लागि बर्जित र कानुनको बर्खिलाप हुन्छ त्यो सबै हो । स्तरहीन सडक, गलत नीति बनाउने देखि यान्त्रिक गडबड भएको सवारी साधन, नक्कली लाइसेन्स धारी ड्राइभर देखि, रकम असुलेर चालकलाई उन्मुक्ति दिने कर्मचारी यी सबै लापरवाहीका कारण र श्रोत हुन् ।

दुर्घटना न्यूनीकरणका उपायहरु :

ट्राफिक नियमको पूर्ण पालना नै सडक दुर्घटना कम गर्ने मानवीय कारण हुन् । ट्राफिक नियम ’bout भरपुर जानकार चालक हुनु र नियमको परिधिभित्र बसेर सवारी चलाउदा सवारी दुर्घटनाको जोखिम अत्यतै न्यून गर्न सकिन्छ । भएका नियमको पालना र नयाँ नयाँ सुरक्षाको अवधारणा खोज्दै र पहिल्याउदै सवारी चलाउने हो भने अरु धेरै कुरा तपशिलका कुरा हुन जान्छ । धेरै मान्छेको ज्यान बोकेर हिड्ने चालकमा आफ्नो दायित्व र जिम्वेवारी धेरै र गुरुत्वपूर्ण छ भन्ने सचेतना भयो भने सवारी यात्रा सहज र भरपर्दो हुन्छ  ।

एक चालक शारीरिक र मानसिक रुपमा स्वस्थ छ भने उसले चलाउने सवारी पनि दुरुस्त राख्न उसको कर्तव्य हुन आउछ । धेरै अध्ययन र अनुसन्धानले देखाएको तथ्य के हो भने चालक तनावरहित हुनुपर्छ उसलाई तनावरहित बनाउने जिम्मा ब्यबस्थापकको भए पनि तनाव दिने माध्यम ट्राफिकको ब्यबहार, यात्रुहरुको ब्यबहार पनि रहेको देखिन्छ ।चालकले गल्ति गर्दा पनि उसलाई दण्डदिने महशुश गराएर हो, थर्काएर, बेइज्जत गराएर होइन । चालक सधै तनाव रहित, नसालु पदार्थ अनिन्द्रा भोक र डर रहित अवस्थामा रहनु जरुरि छ ।

चालकको दिमागमा सुरक्षित यात्रा र ट्राफिक नियमको पालना हर हमेसा गर्ने बानीको बिकास गराउनु आवस्यक छ । चालक प्राबिधिक रुपमा मात्र हैन आचरणमा पनि अब्बल हुनु अनिवार्य छ  । गाडी चलाउने ड्राइभर त हो नि भनेर जो जसलाई पनि लाइसेन्स दिने कुरामा विचार गर्नुपर्ने छ । ड्राइभर पेसालाई मर्यादित र ब्यबस्थित बनाउन आचरणको ब्यबहारिक परिक्षा पनि पास गर्नु पर्ने र सधै नियमन गर्ने सरकारी संयन्त्र पनि विकास गर्नुपर्छ । सामाजिक र मनोवैज्ञानिक काउन्सिलिंग पनि चालक र सहचालकको हकमा बारम्बार दिनु सामयिक हुनेछ ।

हाम्रा बाटाहरु, मृत्युका धराप, पासो या एम्बुस जस्तै छन यसको जिम्वेवारी खै कसले लिने ? भवितव्य टार्न नसकिएला तर कम गराउन सकिन्छ । मानवीय लापरवाही कम गरेर दुर्घटनालाई घटाउन चालक र राज्य संचालकका बिभिन्न निकायमा रहेर कार्य सम्पादन गर्नेको भूमिका ठूलो र महत्वपूर्ण रहन्छ । आम नागरिकको पनि भूमिका चासो र सक्रियता उत्तिकै र सधै खाँचो पर्ने विषय हो । सडक दुर्घटना हुदाँ त्यसको जिम्वेवारी लिने उत्तरदायी बन्ने संस्थाको चेन अफ कमाण्ड हुनु पनि अत्यावश्यक हो । चालकले गर्ने लापरवाहीको जबाफ दिने निकाय, सम्बन्धित सडक बिभाग जहाँ दुर्घटना हुन्छ त्यो क्षेत्रको ट्राफिक, यातातायत व्यवस्था बिभाग, सम्बन्धित अधिकृत, उप सचिव सह सचिव, सचिव र मन्त्री सम्मले जबाफदेहि हुने अवस्था सिर्जना गर्नु बान्छनीय देखिन्छ ।

सडक यात्राका क्रममा उल्लिखित कारण र समाधानका उपायहरूलाई विचार गरी आफ्नो यात्रा अनि गन्तब्य तय गर्ने हो भने धेरै हदसम्म सवारी दुर्घटना घटाउन सकिन्छ । हालसम्मको अनुभवमा यातायातसँग सम्बन्धित विषयहरूको योजना तर्जूमा, कार्यान्वयन, अनुगमन मूल्याङ्कन तथा यातायात क्षेत्रको समग्र व्यवस्थापन गर्ने कार्य त्यति प्रशंसनीय हुन सकेको छैन । सम्बद्ध विभिन्न तालुकदार निकायहरु बीचमा तल देखि माथि सम्म उचित समन्वय हुन नसक्नु देखिएको छ ।  अधिकार प्राप्त मुख्य संस्थाको रूपमा रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभाग अझ सक्षम एवं स्रोत, साधन सम्पन्न हुन नसक्नुले संस्थागत कमी कमजोरीहरू प्रष्टै देखिएका छन् भन्छन अध्येताहरु । यस तर्फ सरकारले बेलैमा सोच्नु र योजना तर्जुमा गरेर लागु गराएमा दुर्घटना कम गरि अनाहकमा मान्छे सडक सवारीमा मारिने क्रममा कमि आउथ्यो ।