भुत्ते हतियार

ऊसित चमचम चम्कने धारिलो खुकुरी छ । ऊ त्यसलाई हरदम बोकेर चोक, गल्ली र टोल बजार घुम्ने गर्छ । ऊ बाटोमा हिंड्दा पनि कुनै हिंस्रक जन्तु झैं फर्की फर्की यताउति आँखा घुमाउँदै हिंड्ने गर्छ । उसको कुरा नसुन्ने , उसलाई नमान्ने जोसुकैलाई पनि ऊ भेटेकै ठाउँमा अठ्याउँछ । त्यसैले टोलबजार छरछिमेकमा सबै उसित सतर्क छन् र उसको सामु पर्नासाथ अदबपूर्वक नमस्कार गर्छन् । ऊ जहाँतहाँबाट गुज्रन्छ, त्यहाँ करतल ध्वनि बज्छ । स्वस्तिको लहर चल्छ ।

एकदिन उसले बाटोमा हिंडिरहेको एकजना निर्दोषलाई आफ्नो खुकुरीले हान्यो । कारण थियो, त्यो अपरिचितले उसलाई स्वस्ति गरेन । अपरिचित आफ्नै सुरमा कतै जाँदै थियो । उसलाई लाग्यो, त्यसले देखेर पनि नदेखे झैं ग¥यो र स्वस्ति गर्नुपर्ला भनेर तर्केर जान खोज्यो । अनि त के चाहियो उसले खुकुरी उजाएर प्रहार गरिहाल्यो ।

 र, बजारमा यस्तो घटना प्रायशः भइरहेकै हुन्छ ।

टोलबजारमा उसको हैकम चल्छ । ऊ कुनै पनि बखत कसैलाई पनि केही गर्न सक्छ । ऊसित धारिलो खुकुरी छ । सबै त्यो खुकुरीको धारिलोपनबाट त्रस्त छन् ।

 यसरी धेरै वर्षसम्म उसको हैकम चल्यो । तर एकदिन उसको हतियार भुत्ते भयो, त्यसमा खिया लाग्यो । ऊ स्वयं पनि कमजोर र अशक्त देखिन थाल्यो । तर अझै पनि टोलछिमेकका मान्छेहरु उसको सामु पर्दा स्वस्ति गर्न बिर्संदैनन् ।

 एकदिन बीच बजारमा कसैले उसलाई स्वस्ति गर्नु त कता कता जानाजान धक्का समेत दियो । वर्षाैंदेखि हैकम चलाएर बसेको उसले रिसले आँखै देखेन । क्रुद्ध भएर आफ्नो हतियार निकालेर त्यसलाई हान्न हात उजायो ।

बजारमा धेरै दिनपछिको यस्तो अनौठो घटना देखेर मान्छेहरु भयले काँप्न थाले । तर त्यसले भने खासै बास्ता गरेन । उसले आफूमाथि उजाइएको हातलाई सहज रुपले ट्याप्प समातेर आरामसंग खुकुरी थुत्यो र नजिकैको नालीमा फुत्त फ्याल्यो ।

जानुस् तपाईँ, खिया लागेृको र भुत्ते हतियार बोकेर तर्साउने युग गइसक्यो ।

 उसले केही भन्न सकेन, केही गर्न पनि सकेन । त्यही बेला सबैले देखे, साँच्चिकै उसको हतियार त भुत्ते भइसकेको थियो । कति दिनदेखि खिया लागेर कामै नलाग्ने भइसकेको थियो ।   

 त्यसै दिनखेखि उसलाई कसैले नमस्कार गर्नु त के महत्वसमेत दिएन । उसका लागि नमस्कार गर्न उठ्ने हातहरु त अचेल त्यो अर्र्कोलाई पो नमस्कार गर्न थालेछन् ।

००