आगामी दिनमा

झमक्क साँझ प¥यो ।
साथीसित कुरा गर्दागर्दै समय सरक्क बितेको पत्तै भएन रामीलाई । कुरैकुरामा यसो घडी हेरेपछि पो ऊ झसङ्ग भई – लौ मा¥यो ! अब कसरी घर फर्कने ! उसले झ्याल बाहिर हेरी । घाम डुबिसक्यो । उज्यालो मात्र अलिअलि बाँकी छ ।

लौ न, अब म कसरी घर जाने ! ढिला भइसक्यो, उसले चिन्ता प्रकट गरी ।
भर्खर साढे छ भयो केको ढिला हुनु, साथीले घडी हेर्दै उसलाई आश्वस्त पार्न खोजी ।

साढे छ भनेर के गर्ने ! अँध्यारो हुन लागिसक्यो , अब म कोसंग घर फर्कने होला । आज मैले भाइलाई पनि ल्याइनँ नत्र उसैसंग जान हुन्थ्यो ।

चार पाइला जानलाई पनि केको साथी चाहियो तँलाई ?
चार पाइला भनेर के गर्ने ? बाटोमा डर लाग्दैन कि क्या हो !
के को डर मान्नु कसले के गर्छ ?, साथी आश्वस्त पार्न खोज्दै थिई । तर ऊ आश्वस्त भइन ।
त्यसपछि उसले घरमा फोन गरी । उसकी आमाले फोन उठाई ।
मम्मी, म रामी , साथीकहाँ छु ।, उसले अलि हडबडाएको स्वरमा भनी ।

किन, के भयो ?
हेर्नोस् न ममी, छिटो घर आउँछु भन्दाभन्दै ढिलो भएछ । भाइलाई पठाउनोस्न म उसैसंग आउँछु ।
के तिमी एक्ली आउन सक्तिनौ ? रचनाको घरबाट यहाँसम्म आउन पनि कति वेर लाग्छ र ?
कसरी आउनु एक्लै, डर लाग्छ नाइँ ! भाइलाई पठाउनोस् न मम्मी , रामीले आमालाई मनाउन खोजी ।

रामी, के भनेकी तिमीले । तिम्रो सुरक्षाको लागि भाइलाई पठाउने ? भाइ त तिमीभन्दा सानो छ । उसले तिम्रो सुरक्षा कसरी गर्न सक्ला ? तिमीले त आफ्नो सुरक्षा आफै पो गर्नुपर्छ । तिमीलाई पढाएको लेखाएको के यस्तै डरछेरुवा हुनलाई हो ? यस्तो सम्साँझमा हिंड्न नै तिमीलाई डर लाग्छ भने आगामी दिनमा जीवनका अँध्यारा रातहरु तिमी कसरी छिचोल्छौ ?, यति भनेर उसकी आमाले फोन राखिदिई ।