धोएको गधा

नेताजीले गधालाई राम्ररी धोएर पखालपुखुल गर्नुभयो । पुछपाछ गर्नुभयो र कार्यकर्ताहरुतर्फ हेरेर सोध्नुभयो – लौ भन, यो के हो ?

सबलाई थाहा थियो के हो भन्ने कुरा । तर नेताजीले सोधेपछि ’emलाई आफ्नो दृष्टिमाथि एकाएक अन्यौल र शंका पैदा भयो । अधिकांश कार्यकर्ताहरु बोल्न सकेनन् । एकदुईजनाले अकमकिंदै भने –हजुर , यो त गधा .. ।

नेताजीले बीचैमा बोल्नुभयो – धत् ! यस्तो सफा सुग्घरी सुन्दर जीव पनि कहीँ गधा हुन्छ !
कार्यकर्ताहरुलाई लाग्यो तर्क त सो¥है आना ठीक हो ।

त्यसपछि नेताजीले घोषणा गर्नुभयो – आजदेखि यो गधा होइन , गाई भयो । सबैले यसलाई गाई भनेरै व्यवहार गर्नू ।

कार्यकर्ताहरु एकछिन अकमकिए, विस्मित् बने । लगत्तै ’emलाई आफ्नो आज्ञाकारिताको बोध भयो र नेताजीको आदेशलाई ब्रम्हवाक्य ठानेर समर्थनमा जोडदार ताली बजाए ।

हेर्दाहेर्दै त्यो गधा कार्यकर्ताहरुको आँखामा गाई देखिन थाल्यो । ती सबै गाईको पुच्छर समातेर जयजयकार गर्दै ढोग्न थाले ।

अब गधाले भारी बोक्न परेन । गधाको भारी मात्र होइन गधालाई समेत कार्यकर्ताहरुले बोकेर हिंड्न थाले ।