प्रिय दमाई मित्र फिता लिएर आउनुस समाजको नयाँ डिजाइन गरौ !
हामी किन र कसरी बिभिन्न धर्म संस्कृतिमा विभाजित भयौ र आफ्ना पूर्वजले धारण गरेको धर्म बोकेर हिंडयौ आज त्यो हाम्रो विवादको विषय होइन ? हाम्रो विवाद, सबाल र सन्दर्भ हो हामीले धारण गरेको धर्मले मानवीय मुल्य ग्रहण गर्छ कि परित्याग ? म आफू जस्तै अर्को मानवलाई समान सम्झन्छु कि जन्म संयोग र बर्गको आधारमा तुच्छ ? मेरो जन्म संयोगलाई तपाई घृणा गर्नु हुन्छ कि, मेरो आचरण र ब्यबहारलाई ? हामीले अन्धकार यूगको चेतना बोकेर हिड्ने कि नयाँ यूगको सामयिक चेतनामा आफूलाई परिमार्जित गरेर लैजाने ? मैले लगाएको जनैले च्यातिएको हाम्रो सामाजिक सद्भावको कमिज सिउने धागो बन्छ कि विभाजनको रेखा कोर्छ ?

प्रिय दमाई मित्र फिता लिएर आउनुस समाजको नयाँ डिजाइन गरौ !
प्रिय कामी मित्र घन लिएर आउनुस विकृति र विसंगतिलाई मिलेर ठोकौ ।
सियो बोकेर आउनुस मेरो जनैको धागोले च्यात्तिएको सद्भाव सिलाऔ ।
म जनै लगाउछु । जन्म संयोग म तागाधारी वर्गमा परे । म मन्दिर जान्छु, टीका लगाउछु, टुपी पनि पाल्छु । धार्मिक अनुस्ठानहरु गर्छु । मेरो धार्मिक स्वतन्त्रता विश्वास र शैली हो । मेरो मन मस्तिस्कमा हिन्दु धर्म छ । मैले धर्म जन्मदै धारण गरेको हू । धर्मको मनोविज्ञानबाट म हत्तपत्त बाहिर निस्कन सक्दिन । मेरो शरीरको प्रत्येक रौँ चिरामा मेरो सामाजिक धर्म र संस्कृति छ ।
नेपालमा रहने सबै धर्म संस्कृति र सम्प्रदायमा जन्मने मान्छेको मेरो झैँ आफ्नै छुट्टै विशेषता र जीवन शैली छ । बुद्द धर्मको आफ्नो शैली र शील छ भने किराँत, मुश्लिम, जैन क्रिस्चियन लगायत यावत धर्म र संस्कृतिको आ आफ्नो विशेषता छ । आचरण र ब्यबहार छ । आफ्नोपन छ । मैले जनै लगाएकै कारण, टुपी पालेकै कारण, मन्दिर ढोगेकै कारण म तपाई भन्दा उपल्लो र माथिल्लो जातको मान्छे आफूलाई सम्झन चाहन्न । म आर्थात कथित उच्च जात हुँदै होइन । तर यो आम मान्छेमा पाइन्न किनकि हाम्रो धर्म संस्कृतिको एक अबगुण छ जसले जातको आधारमा मान्छेलाई सानो ठूलो र उच्च निच भनेर परिभाषित गरेको छ जुन नितान्त अबैज्ञानिक र असमान छ ।
एकै हावाले सास फेरेर एकै धर्तीमा बसेर एकै पानीले प्राण रक्षा गर्ने हामी कसरी छूत अछुत,तल र माथि हुन सम्भव छ ? कसरी कोही सानो र कोही ठूलो हुन सक्छ ? जैविक, शारीरिक र अनुबांशिक सबै प्रक्रिया एकै हो । छूत, अछूत कृतिम र मानव निर्मित अल्पचेतनाको तत्कालिन प्रबन्ध हो । आज २१औ शताब्दी सुहाउदो छैन । यो कृतिम असमानता मानवअधिकार र समान अस्तित्व बोक्ने मान्छेको हकमा न्यायोचित हुदैन , छैन यसर्थ हामी भित्रका फोहोर सोहोर्न र अविवेकी चेतना हटाउन अत्यावश्यक छ ।
मेरो जन्म संयोग र वर्गकै आधारमा तपाई मलाई घृणा नगर्नुस । जन्म न मेरो बुताको कुरा हो न निवेदनको कुरा यो फगत संयोग हो , केवल संयोग । हामी जन्म संयोगले को कसको कोखमा बस्न आइपुग्यौ त्यो हाम्रो जैविक ल्याकतको कुरा हो हाम्रो चेतनाको पक्ष होइन । हामी किन र कसरी बिभिन्न धर्म संस्कृतिमा विभाजित भयौ र आफ्ना पूर्वजले धारण गरेको धर्म बोकेर हिंडयौ आज त्यो हाम्रो विवादको विषय होइन ? हाम्रो विवाद , सबाल र सन्दर्भ हो हामीले धारण गरेको धर्मले मानवीय मुल्य ग्रहण गर्छ कि परित्याग ? म आफू जस्तै अर्को मानवलाई समान सम्झन्छु कि जन्म संयोग र बर्गको आधारमा तुच्छ ?
मेरो जन्म संयोगलाई तपाई घृणा गर्नु हुन्छ कि,मेरो आचरण र ब्यबहारलाई ? हामीले अन्धकार यूगको चेतना बोकेर हिड्ने कि नयाँ यूगको सामयिक चेतनामा आफूलाई परिमार्जित गरेर लैजाने ? मैले लगाएको जनैले च्यातिएको हाम्रो सामाजिक सद्भावको कमिज सिउने धागो बन्छ कि विभाजनको रेखा कोर्छ ? । तपाई दमाई मित्र सियो लिएर आउनुस ,कैची बोकेर आउनुस च्यात्ने च्यातौ ,जोड्ने जोडौ , फाल्ने फालौ , नमिलेको मिलाऔ । फिता बोकेर आउनुस हाम्रो समाजको नयाँ डिजाइन गरौ । तपाईको सियोमा मेरो जनैको धागो दिन तयार छु । मिलेर समाज सिउनु पर्छ , संगै जिउनु पर्छ । नमिलेका समाजका विसंगति उदार्नु पर्छ । विगतमा मेरा अग्रजले गरेको कमजोरी म सच्याउन र मेटन चाहन्छु । सबै अटने सद्भावनाको चौतारी भेटन चाहन्छु । मैले प्रायास्चित गर्ने ठाउँमा म सहजतापुर्वक क्षमा याचना गर्न सक्छु । कमिकमजोरी सुधार्न म हरदम तयार छु । त्यसैले सबै मिलौ । हाम्रो सामाजिक सदभाव कतै खल्बलिएको छ त्यसलाई हामी मिलेर बचाऊ ।
तपाईंले सिएको मोजा र टोपी अनि कमिजले शिर ,शरीर र पाउ ढाक्ने म छुत अनि तपाईं अछुत कसरी ? म मान्दिन यो कुरा । अलय भत्काउ । मानवीय सदभावको डोरी बाटौ । प्रकृतिले हामीलाई विभेद गर्दैन भने मान्छे हामी किन बिभेदी हुने ? रुकुमको अमानवीय घाऊलाई अब दोहोरिन नदिन राज्यलाई खबरदारी गरौ । मेची कोसी कर्णाली र गण्डकीमा अब मानिसको आलो रगत बग्नु हुन्न । जसरी भेरीमा बग्यो । नदीहरु मानवीय सभ्यता बोकेर बगुन नकी अमानवीय हर्कत झेल्दै मानिसको रगतले धमिलो नबनुन ।
प्रिय कामी मित्र तपाई वैज्ञानिक आविष्कारक र सिल्पी हो ।
विकृति र विसंगति विरुद्ध निरन्तर शव्दका घनले हिर्काउछु तसर्थ म पनि कामी हुँ । हर सिर्जनात्मक क्षमता र सिर्जनशील हात हुनेहरु कामी हुन । मेरो घरको चुलोको ओदान देखि भण्डारको देवता सम्ममा कामीको सीप र पसिना छ । मैले पुज्ने देवता देखि मन्दिरको गजुर पनि कामीकै सिर्जनशील हातको करामत हो । मेरो हातको औंठी देखि मेरी आमाको फुली बुलाकी सबै सबैको निर्माता कामी हो । मेरो सालनाल गाडने देखि मेरो चिहान खन्ने हतियार कामीकै उत्पादन हो । रेल बनाउने कामी तेल पेल्ने कोल बनाउने कामी , अन्नबाली उत्पादन गर्ने साधन बनाउने कामी । कामी वैज्ञानिक हो । आविष्कारक हो । कामीको श्रम सीप र पसिनाले नभिजेको कुनै अश्त्र र ठाँउ छैन तर कामी अछुत कसरी ? अछुत हाम्रो मानसिकता हो । अछुत हामीले गर्ने व्यबहार हो ।
मान्छे छुत र अछुत बनाउने हाम्रो परम्पराको खारेजी जरुरी छ । दिमागबाट फोहोर सफा गर्नु पर्ने छ । तसर्थ म तयार छु समाज तयार बन्नुपर्छ । समाजको सफाई गर्ने कर्म तुच्छ कसरी हुन्छ अत म पनि सामाजिक फोहोर बढार्न चाहन्छु म सफाई कर्मी पोडे हुँ ,च्यामे र डोम हुँ । कर्म अभिशाप हैन बरदान र गर्व हुनुपर्छ । कथित छुत बिदेशमा सफाई कर्मी हुँदा अछुत नहुने तर नेपालमा सफाई कर्म गर्ने छूत कसरी हुन्छ ? सफाई कर्म झन समाजको स्वास्थ्य र वातावरणको लागि सहयोग अमुल्य छ तसर्थ सफाई कर्म हेलाहोचोको विषय होइन । जुत्ता सिलाउने सार्की कसरी अछूत हुन्छ जसको सिप श्रमले यात्रा सहज हुन्छ । पाउलाई कस्ट नदिने पाउपोसको निर्माता कसरी अछूत हुन मिल्छ ? सार्कीले सिलाई दिएको जुत्ता लगाएर, टल्काएर इज्जत बढ्छ भन्ने मानसिकता राख्नेले आफ्नो इज्जत राखिदिने हात र श्रम अनि सिपको अपहेलना गर्न पाउदैन , हुदैन र मिल्दैन । त्यस्तै गीत संगीतका साधक बादीहरु कसरी अछूत हुन सक्छन ? जसको मंगल धुनले हाम्रो मंगल हुन्छ । जसको गानाबजनामा संसार झुल् , आल्हादित हुन्छ तब ऊ कसरी अछूत ? अछुत मनस्थिति हो अछूत कु प्रचलन हो ।
शिल्पी श्रम र साधक अनि श्रमिक जब सम्म आत्मसम्मान पूर्वक पेशा ब्यबसायमा जम्न सक्तैन उसको रोजोरोटो खोसिन्छ नै ? आज जुत्ता बनाउने गैर दलित ठूलो उद्धमी भयो जुत्ता कारखानाको मालिक भयो , कपडा सिलाउने त्यस्तै गैर दलित देसको नामुद टेलेरिंग हाउसको मालिक बन्यो , स्टिल आइरन फलाम र सुनको काम गर्ने ब्राम्हण नछोइने जात बनेन , सफाई अफिस खोलेर बस्ने क्षत्री समाजको सफल ब्यबसायी र ठूलो रोजगार दाता बन्यो तर परम्परागत शिप र साधना भएकाहरुलाई आफ्नो पुर्ख्यौली पेशा गर्न हेय र सानो काम भन्ने बुझियो, बुझाइयो ? परम्परागत पेशा र ब्याबसयाको आधुनिकीकरण , बजारीकरण र ब्यापारीकरण गर्न सोचिएन फलत पुर्ख्यौली पेशाबाट समेत बिमुख बनेर बनाइए र् दलितलाई बेरोजगार र बेचैन बनाउन भूमिका खेलियो । परम्परागत पेशा छोड्नु अघि वैकल्पिक पेशाको ग्यारेन्टी गरिएन जुन अत्यन्त दुखद र अदुरदर्शी कार्य हुन् पुग्यो ।
अधिकार भनेर अन्य कुरामा बहकिन लगाइयो तर उसको आफ्नो पेशा र ब्यबसायको आधुनिकिकरण, उत्थान र औधोगीकरण गरिएन बरु यो पेशाको कारण नै दलित भएको भनियो र परम्परागत पेशा त्याग्ने घृणा गर्ने र हामीले गर्ने काम यो होइन यस्तो कामले दलित बनिन्छ भन्ने गलत धारणा र प्रवृति भित्र्याइयो । जसको कारण रोजगारी अरु गुम्यो । पेशा त्याग्ने बाताबरण भन्दा पेसालाई उत्थान गर्ने , संरक्षण गर्ने र व्यावसायिक बनाउने तालिम लगायत गरेर दलित सामुदायको हितको कुरा गरिनु पर्थ्यो । पेशा छोडेपछि विभेद कम हुन्छ भन्ने जुन मानसिकता विकास गरियो त्यो अत्यन्त घातक आत्मघाती बन्यो ।
आर्थिक सशक्तीकरणले जात विभेदमा कमि ल्याउछ । आर्थिक असमानता पनि जात र विभेद’bout अध्ययन गर्दा अर्को छुटाउन नहुने पाटो हो । तसर्थ आर्थिक सबलीकरण सिप र क्षमताको अभिबृद्दि आजको पहिलो आवश्यकता र जात व्यबस्थाको अन्त्यको प्रस्थानविन्दु हो । हामीले भावनात्मक कुरा गरेर कतिपय अवस्थामा भड्काउने काम गर्यौ पेशालाई दुत्कार गर्यौ । पेशा हेय भनियो । आज अवस्था फेरिएको छ परम्परगत पेशालाई आधुनिकीकरण गर्न सकियो भने मनग्य आय आर्जन गर्न उधोग धन्दामा रुपान्तरण गर्न सकिन्छ । विगतमा झैँ बिस्ट बराजुको बालीघरे भएर बस्नु पर्दैन सिप र पेशालाई बिक्रिगर्ने ब्याबसाय बनाउन सकिन्छ ।
सिप र श्रम जस्ता मुल्यवान चिजको अवहेलना र अवमुल्यन गर्ने समय यो छैन । श्रम सिप गरेर पेशा गर्नेहरु छूत र घुष कमिसन , ब्ल्याक मेलिंग गरेर बिना श्रम शक्ति र सत्ताकोको आडमा पैसा कमाउनेहरु अछूत हुन् । देशको नियम कानुन बिधि र पद्दति मिच्ने र शोषण दमन गर्नेहरु चै अछूत हुन । छूत र अछुत कायमै राख्नुपर्छ तर यसको परिभाषा र क्षेत्र बदल्नु आवश्यक छ ।
अछूत त्यसलाई भनौ जसले नियम मिचेको छ । भ्रस्टाचार , व्याभिचार ,अनाचार र दुराचार गर्छ । हैन पेशा र ब्यबसाय अपहेलित र घृणित उच र निच हुन सक्दैन , हुनुहुदैन ।अब परम्परागत छूत र अछूतको परिभाषा र क्षेत्र बदलेर समाज र देस हितको प्रतिकुल काम गर्ने अछूत भनिनु पर्छ । अरु मानव र सामुदायमा मानव आत्मसम्मान र साझा संबैधानिक हक र प्रबन्धको आधारमा मानव बन्ने भन्ने स्थिति सिर्जित हुनुपर्छ ।
(संजिव कार्की लामो समय देखि जातीय विभेद असमानता र विकृति कुप्रथा विरुद्द कलम चलाउदै आएका छन् । -सम्पादक)