समाधान

सरकारको नेतृत्व गरेको दुईचार महिना नबित्दै प्रतिपक्षी दलहरुले विरोध र हडताल गर्न थालिहाले । महंगी नियन्त्रण नगरेको र जनताको हक कुण्ठित हुने विधेयक ल्याउन लागिएको भन्दै गरेको आन्दोलन र विरोध कार्यक्रमले सरकार संकटमा प¥यो ।


संकटले गर्दा प्रमुखको टाउको दुख्यो । दुईचार पाँच छः पटक सहमतिका लागि वार्ता भयो तर कसैगरी पनि सहमति हुन सकेन ।

विरोध र हडतालले सरकार प्रमुखको टाउको खायो । टाउको मात्र होइन समस्या लम्बिंदै गएपछि आँखा नाक कान पेट छाती हातखुट्टा पुरै जीउ दुःख्न सुरु भयो । डाक्टर देखायो । औषधि खायो । बीसको उनाइस भएन ।

दुवैतर्फको समस्या उस्तै रह्यो ।

केही सल्लाहकारले देशमा यसको उपचार सम्भव छैन भनेर विदेशमा जँचाउने सल्लाह दिए । सरकार प्रमुखलाई सल्लाह सर्वोत्तम उपाय लाग्यो । उपचार पनि हुने, केही दिन तनावबाट मुक्ति पनि मिल्ने ।

विदेशमा उपचार पनि भयो साथमा सरकार प्रमुख भएकाले विदेशी कुटनीतिकसित भेटघाट पनि भयो ।

दुईचार दिनपछि प्रमुखको रोग बिसेक भयो ।

उपचार गरेर स्वदेश फर्केपछि प्रमुखले पत्रकारहरुलाई भने – भ्रमण सफल भयो र उपचारले स्वस्थ्य भएर फर्केको छु । अब देशको समस्या चुटकीको भरमा समाधान हुन्छ ।