सम्पत्ति विवरण

मन्त्री बनेको हप्ता दसदिनपछि सुदामा प्रसाद क्वार्टरमा बसेर सम्पत्ति विवरण बनाउन थाले – सदरमुकाममा दुई तल्ले पक्की घर । दुई वर्ष अगाडि किनेको बाइक । गाउँमा सगोलको एउटा घर र अंशवण्डा गर्न बाँकी बाउको नाउँमा तीन रोपनी खेत र केही वस्तुभाउ ।

यसैबेला चिया लिएर श्रीमती कोठामा पसिन् । स्वास्नीलाई देखेर मन्त्रीजीलाई गरगहना पनि उल्लेख गर्नुपर्ने सम्झना भयो र सोधिहाले – तिमीसित सुनचांँदी गरगहना कति तोला छ ?

सुनको सिक्री दुई तोला, आधा आधा तोला भएको सुनको औंठी दुइटा, सुनकै टप र चुरा गरेर त्यस्तै पाँच तोला होला, श्रीमतीले औंला भाँच्दै भनिन् ।

त्यति हो ?

हो, किन र हजूर !, श्रीमतीले जिज्ञासा राखिन् ।

मन्त्री हुनु अगावै मसंग कति सम्पत्ति छ भनेर सरकारलाई त्यसको विवरण बुझाउनु पर्छ के , सुदामा प्रसादले सम्झाउँदै भने ।

त्यसोभए हजुर मेरो नाउँमा एउटा घर, दुई रोपनी जग्गा र गरगहनामा बीसपच्चीस तोला सुन अहिल्यै थपिहाल्नोस् । श्रीमतीले भनिन् ।

किन नभएको विवरण दिने !, मन्त्री सुदामा छक्क परे ।

तपाइँ मन्त्री होउञ्जेलसम्म त्यति सम्पत्ति कसो नकमाइएला । अहिले नै लेखिराखे पछि मन्त्री हुँदा एक पैसा पनि घुस खाएको छैन भन्न पाइन्छ क्या हजुर !, मन्त्राणी आँखा नचाउँदै बोलिन् ।

मन्त्री सुदामा प्रसाद केही बोल्न सकेनन् ।