सिंहदरवार : आफ्नो बुझाइ , आफ्नै भोगाइ

सिंहदरवारमा रजगज गर्न योग्य भएर मात्र नपुग्ने, छट्टु पनि हुनु पर्दो रहेछ ! सायद सिंहदरवारको नियती नै छट्टु मानिसलाई पाल्नेमा अडेको छ । यो दरवार बनाउने श्री ३ महाराज पनि नेपालकै उच्चस्तरीय छट्टु थिए ।

 

 

भागवत खनाल

 

”ऊ कानून सचिव थियो । ऊ कुनै पनि कानूनी बुँदामा दुईटा दृष्टिकोण राख्ने र मलाई सोध्ने ” के छ तपाईंको इच्छा , त्यस मुताविक बनाउँछु ।” ऊ बडो छट्टु मान्छे थियो तर बडो योग्य थियो । मेरो उसको ’boutमा धारणा थियो , ऊ असाध्य छट्टु मानिस हो तर कानूनको कुरामा ऊ अत्यन्त योग्य हो ।” स्व . बीपी कोइराला ।

 

स्व.विश्वेश्वरप्रसाद कोइरालाले एकजना सचिवको ’boutमा जुन मूल्यांकन गर्नु भएको छ , त्यो अहिले पनि उत्तिकै सान्दर्भिक छ । उच्चपदस्थ निजामती कारिन्दा आफ्नो योग्यतालाई कति छट्टु तरिकाले प्रयोग गर्दा रहेछन भन्ने  कुरा बीपी जस्ता सुयोग्य राजनेताले नबुझ्ने कुरा भएन । तर बोक्रो बाक्लो गुदी पातलो भएका नेताले भने यस्ता चलाख प्रशासकको मनपेट पाउन सहज छैन । सिंहदरवारमा रजगज गर्न योग्य भएर मात्र नपुग्ने , छट्टु पनि हुनु पर्दो रहेछ ! सायद सिंहदरवारको नियती नै छट्टु मानिसलाई पाल्नेमा अडेको छ । यो दरवार बनाउने श्री ३ महाराज पनि नेपालकै उच्चस्तरीय छट्टु थिए ।

 

बुझेको सिंहदरवार

 

सिंहदरवार जति व्यक्त छ , त्योभन्दा धेरै गुणा अव्यक्त , छद्म र रहश्यमय ! यसभित्र बसेर वर्षौं काम गरेका , कोठा चोटा चाहारेका र लोकले देख्दा हर्ताकर्ता देखिएका व्यक्तिले पनि यसको जरो पत्ता लगाउन नसकी बाहिरिन्छन । महाराज चन्द्र शमशेरलाई यो विशाल , सुन्दर र भव्य संरचना बनाउन जम्मा दुई वर्ष लाग्यो । उनले यसलाई निर्माण गरिसक्दा यो नै नेपालको एकल शक्तिकेन्द्र भान पर्थ्यो होला । तर छद्मरुपमा यो सिंहमाथि शुरुदेखि नै लौनचौर सवार थियो । महाराज चन्द्र शमशेरले तीस वर्षसम्म निरंकुस शासन गरे ।

 

जंगबहादुरपछि नेपालको शासन व्यवस्थामा सवैभन्दा ठूलो छाप छाड्न सफल प्रधानमन्त्री हुन उनी । तर आन्तरिक रुपमा उनी जति शक्तिशाली थिए , वाह्य रुपमा त्यत्ति नै निरीह र विवस ! यिनले लैनचौरसित निहुँ नखोज्ने नीति अख्तियार गरे । लैनचौरसित जति झुक्यो मुलुकभित्र त्यत्ति नै हैकम चलाउन पाइन्छ , अकण्टक शासन गर्न पाइन्छ भन्ने मूलमन्त्रलाई यिनले आजीवन अंगीकार गरिरहे । सत्तामा टिकिरहन उनी भित्रको बाघ तर बाहिरको स्याल बन्न तयार थिए ।

 

सात सालमा त्यही लैनचौरले राजा त्रिभुवनको गुहार के सुनेथ्यो बज्रलेप राणाशासन सहजै ढल्यो । चन्द्रशमशेरका छोरा शक्तिशाली प्रधानमन्त्री श्री ३ महाराज मोहनशमशेरले सारा राजकीय शक्ति नारायणहिटीलाई बुझाउनु पर्यो।

 

लैनचौर खुसी नराखी सिंहदरवारको रजाइं सफल हुँदैन भन्ने मूलमन्त्र अहिलेका शासकले पनि खुबै बुझेका छन् । उनीहरुलाई थाहा छ , यो यस्तो काउछो हो जोसंग ज्यादा टाँसियो भने चिलाउन थाल्छ , झुकेको र साखुल्ले भएको आरोप लाग्छ । टाढा राख्यो भने कुन बेला मिल्क्याउँछ भेउ पाउनै गाह्रो ! छट्टु नेता नेपाली जनता सामु बडो हिम्मती र अडानयुक्त भएको भान पार्ने प्रयास गर्दछन । तर उनीहरु जान्दछन लैनचौरका चतुर कान र आँखाले नसुन्ने बोली र नदेख्ने दृश्य सायद कतै पनि छैन ।

 

झन् सिंहदरवार त उसको अर्जुनदृष्टिमै पर्दछ । कोतमा भयङ्कर मारकाट हुँदै गर्दा भयानक रात्रीमा राजा राजेन्द्र गुहार माग्दै लैनचौर पुगे , तर उनको क्रन्दन सुनिएन । उनी पहिले निर्वासित र पछि स्वदेशमै नजरवन्दमा परे । लैनचौरको आशीर्वादले एकशय चार वर्ष राणा शासन चल्यो । तर सात सालमा त्यही लैनचौरले राजा त्रिभुवनको गुहार के सुनेथ्यो बज्रलेप राणाशासन सहजै ढल्यो । चन्द्रशमशेरका छोरा शक्तिशाली प्रधानमन्त्री श्री ३ महाराज मोहनशमशेरले सारा राजकीय शक्ति नारायणहिटीलाई बुझाउनु पर्यो । गोरो लैनचौर कालोमा परिणत भयो , तर सिंहदरवारप्रतिको उसको नीति सदा उस्तै रहँदै आएको छ । अहिले त सिंहदरवारलाई आफू अनुकूल चलाउन उत्तर र पश्चिम समेत कस्सिएर लागेका छन् ।

 

अतीतमा बाह्य शक्तिको सामु नतमस्तक भए तापनि आन्तरिक रुपमा सिंहदरवार शक्तिशाली थियो । सिंहदरवार र यसको नजिकैमा नोकरी गर्ने सारा जागिरेहरु बेलुका अड्डा छुटेपछि यसको प्रांगणमा चाकरीको लागि सामेल हुन्थे । त्यो बेला न क्यामेरा न सीसी क्यामेरा । तर सिंहदरवार कति स्मार्ट ! को आयो र को आएन भन्ने थाहा पाइहाल्थ्यो । टाढा टाढाका गतिविधिका हरेक खवर पाउँथ्यो सिंहदरवार ।

 

अत्यन्त न्यून सुविधा , कडा अनुशासन , साधनहीन र खराव कार्य वातावरणमा पनि कर्मचारीले उत्कृष्ट कार्यसम्पादन गर्दथे । उच्चपदस्थ देखि कनिष्ठ तहसम्मका सवै कर्मचारी कर्तव्यशील थिए , आफ्नो औकातमा बस्थे । छट्टु प्रशासकलाई हैसियत प्रदान गर्ने काम त स्वयं आधुनिक नेताजीहरुले गरेका हुन ।

 

सिंहदरवार धेरै घटनाको मुक साक्षी पनि हो । भव्य , आलिशान र महिमामय शक्तिशाली जीवन विताउने उद्देश्यले यो दरवार निर्माण गर्ने महाराज चन्द्र शमशेर स्वयंलाई पछि यसको भव्यताले भयभित पार्यो । आफ्ना भाइभतिजाले कुन बेला ज्यानै खतरामा पार्ने हुन भन्ने डरले उनी हरेक दिन कोठा बदली बदली सुत्दथे रे ।

 

महाराज जुद्ध शमशेर परम शक्तिशाली थिए तापनि आफ्नै नजिकका मानिस र चाकरीवाजको डरले गर्दा राज्यत्याग गर्न वाध्य भए । पद्म शमशेर आफ्ना भाइ भातिजाहरुकै डरले रुँदै भारत पलायन भए । सिंहदरवारमा आफ्नै निकटका र सदा चाकरीमा रहने प्रशंसकबाट खतरा हुँदोरहेछ भन्ने कुरा वर्तमान राजकीय शक्तिमा विराजमान व्यक्तिहरुले समेत बुझ्नु आवश्यक छ , कटु र यथार्थ सल्लाहलाई सहने र मनन गर्ने प्रवृत्तिको विकास हुनु जरुरी छ  ।

 

सिंह दरवार रहश्यमय छ । त्यसैले त होला सिंहदरवारमा टाठा , साहसी र अनुभवी कहलिएका प्रधानमन्त्रीले   समेत आफूलाई विवस र निरीह पाउछन् । सिंहदरवाररुपी बग्गीको लगाममाथि आन्तरिक र बाह्य दृश्य एवं अदृश्य शक्तिले कसरी पकड कायम गर्छन भन्ने भेउ पाउन सायद धेरै गाह्रो छ । आफूले समातेको लगाम व्यक्त रुपमा आफ्नै हातमा तर अव्यक्त र साररुपमा अरु कसैको हातमा रहेको कुरा थाहा पाएरै पनि प्रकटमा स्वीकार गर्न सजिलो पक्कै छैन । एकसे एक टाठा बाठा र मै हुँ भन्ने नेतालाई समेत हैरान र लखतरान पार्ने औकात राख्दछ सिंहदरवार ।

 

एकपटक सिंहदरवार पसी उच्च राजकीय पद र शक्तिको रस चाखेका नेतालाई  फेरि पनि यसभित्र पसम पसम लाग्दो रहेछ । यो कति गरिमामय रहेछ भन्ने त जनताको मतबाट हारेका नेताले यसभित्र पुनरागमन गर्न जस्केला चाहार्दै हिंडेको देखेरै अनुमान गर्न सकिन्छ ।

 

नेपालमा सिंहदरवारप्रति आकर्षित नहुने नेता गणेशमान बाहेक कोही देखिएको छैन । यसले धेरै कांग्रेस र कम्युनिस्ट नेतालाई सिद्धान्त त्याग गर्न उक्सायो पंचायत कालमा । यसको आकर्षणले अलि पर सर्वोच्च न्यायालयमा प्रमुख भएर बसेका प्रधान न्यामूर्तिलाई पनि बाँकी राखेन । एकपटक सिंहदरवार पसी उच्च राजकीय पद र शक्तिको रस चाखेका नेतालाई  फेरि पनि यसभित्र पसम पसम लाग्दो रहेछ । यो कति गरिमामय रहेछ भन्ने त जनताको मतबाट हारेका नेताले यसभित्र पुनरागमन गर्न जस्केला चाहार्दै हिंडेको देखेरै अनुमान गर्न सकिन्छ ।

 

शक्तिमा   टिकिरहन आन्तरिक र बाह्य अदृश्य शक्तिको सहारा लिन पनि तयार हुँदा रहेछन मानिसहरु । तर कतिपयको लागि यो निरासा दिने र दुखी पार्ने ठाउँ पनि हो । यसभित्रको चक्रब्यूहले गर्दा केही गर्न नसकिएकोमा दुखित हुने केही नेता र प्रशासक पनि छन् , जो पुनः कुनै अवसर पाए पनि यसभित्र नछिर्ने अठोट गरेर बसेका छन् । धेरै यस्ता पनि छन् जो जुनसुकै हतकण्डा प्रयोग गरेरै भए तापनि यसभित्र पसी रसपान गर्न चाहन्छन । बिडम्बना नै भन्नु पर्दछ , यस्तो उत्कट चाहना राख्ने प्रायः कोही पनि व्यक्तिगत हित र आत्मरतिभन्दा माथि उठेर मुलुकको हितको लागि काम गर्ने चाहना राख्दैनन् ।

 

देखेको र भोगेको सिंहदरवार

 

माथिको विवेचन मैले बुझेको र अध्ययन गरेको सिंहदरवारको हो , जुन अदृश्य र अव्यक्त भावनामा आधारित छ । करिव अठार वर्ष सिंहदरवारमा काम गर्दा मैले देखेको वस्तुगत , व्यावहारिक र सदृश्य सिंहदरवार ’bout मेरो धारणा भने मेरो भोगाई , ममा परेको छाप र अनुभवको आधारमा व्यक्त गर्ने जमर्को गरेको छु ।

 

मैले भोगेको  सिंहदरवार एक छ , तर यसका स्वभाव भने अनेक छन् । वास्तवमा यसको रुप जस्तो छ , सार त्यस्तो छैन । छिर्ने बेला र लामो समय काम गरेर फर्कदाको यसप्रतिको दृष्टिकोण अत्यन्त भिन्न हुन पुग्दो रहेछ । मेरो यो दृष्टिकोण मेरो आफ्नो विभिन्न पदीय हैसियत अनुसार काम गर्दै जाँदा परेको छापमा आधारित हो । कर्तव्य पालनको सिलसिलामा  देखेको र भोगेको सिंहदरवार यस्तो छ ।

 

  • कैयौं दिनसम्म विशेषज्ञ समेतको उपस्थितिमा व्यापक छलफल भई तयार गरिएका नीतिगत वा कानूनी दस्तावेज कुन अँध्यारो सुरुङ्गभित्र पुगेर कुन हातबाट दूषित बनाई बाहिर निकालिन्छन , पत्तै हुँदैन ।
  • सारा राजकीय सत्ता आफ्नो हातमा लिई नारायणहिटीलाई शक्तिकेन्द्र बनाएका राजा ज्ञानेन्द्रलाई पनि सिंहदरवारको चुम्बकले तानेछ । त्यसै कारणले होला उनले सिंहदरवारको मुखिया समेत आफै बनेर प्रधानमन्त्री पदको स्वाद चाखे ।

 

  • राजा ज्ञानेन्द्रले समस्त शक्ति आफैमा समेटेर एकछत्र शासन गर्दाको सिंहदरवार अलि फरक देखियो । कर्मचारीमा अपेक्षाकृत समयापालन र अनुशासन कायम भयो । राजाका मन्त्रीहरु नाममात्रका , विहानै कार्यालय आउने , दिनभरि कतै नजाने , भाषण नगर्ने र चुपचाप बस्ने गरेको देखियो । सिंहदरवार राजनीतिविहीन जस्तो भयो । शान्त , तर एक प्रकारको सन्नाटामा थियो त्यो सिंहदरवार ।

 

  • निजामती सेवा ऐन र नियमावली सदाकाल कसै न कसैको पक्षपोषण गर्ने हतकण्डाको रुपमा उपयोग हुँदै आएको हो । यस ऐन र नियमावलीलाई सिंहदरवारले कहिल्यै पनि निष्पक्ष रुपमा जगेर्ना गर्न सकेन । समय समयमा अनेक प्रकारका पक्षपात र धाँधली भइरहे । यी हर्कतको पराकाष्टा दफा २४घ१. को व्यवस्थामा देखियो । यो व्यवस्था राखेपछि तत्कालीन मुख्य सचिवले सिंहदरवार परिसरमा ठूलो कार्यक्रम गरी वृहत भेला गराए र निजामती सेवा ऐन लागू भएदेखिकै सकारात्मक कोशेढुंगा भएको घोषणा गर्दै खुव ताली पाए । यस बढुवा व्यवस्थाले गर्दा कुनै पनि हालतमा बढुवा नहुने कर्मचारीले बढुवा पाए र उनीहरुलाई त राम्रै भयो , तर योग्यता पुगेका कर्मचारीको लागि यो बडो अपमानित र निरुत्साहित हुने घटना थियो । निजामती सेवालाई यस घटनाले अत्यन्त भद्रगोल अवस्थामा पुर्यायो । यो निजामती इतिहासकै नकारात्मक कोशेढुंगा सावित भयो ।

 

  • ससाना मन्त्रालयहरुमा समेत मंत्री , राज्यमन्त्रीले नपुगेर सहायक मंत्री समेत नियुक्त भए । त्यसले नपुगेर कतिपय मन्त्रालयमा दुईजना सचिव राखियो । सरकार टिकाउन थुप्रा उपप्रधानमन्त्री समेत राखिए । बस्ने ठाउँ नपुगेर सहसचिवको कार्यकक्षमा राज्यमन्त्री वा सहायकमन्त्री र उपसचिवको कार्यकक्षमा सचिवलाई बसालेर तमासा गरियो । भनसुन र सम्पर्कको आधारमा कसैको लागि सचिव पद सृजना गर्न पनि लाज शरम मानिएन । त्यस्तो तरिकाले सचिव हुने महानुभावहरुले अन्य कर्मचारीलाई अनुशासनमा बस्नु पर्दछ , पद्धतिमा चल्नु पर्दछ , निष्पक्ष रुपमा काम गर्नु पर्दछ भनेर अर्ति उपदेश दिएको सुनेर सारा निजामती संसार हाँस्यो ।

 

  • निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर कति हुने भन्ने विषयमा सधैभरि अनावश्यक हल्ला गर्ने काम भइरह्यो , भइरहेछ । कसैले पनि वस्तुगत र निष्पक्ष आधारमा यस विषयमा चर्चा गरेको पाइएन । नेपाल सरकारका मंत्रालय र लोक सेवा आयोगवीच यति कुरामा पनि कहिल्यै मतैक्य हुन सकेन , सकेको छैन ।

 

  • सिंहदरवारमा सधैभरि देखेभोगेको अर्को तमासा हो मन्त्रीहरुको पदबहाली । मन्त्रीको पदबहालीको दिन मन्त्रालयका सवै कर्मचारी , मातहत बिभाग र उपत्यकास्थित सारा कार्यालयका विभागीय प्रमुख र कार्यालय प्रमुखहरुको मेला लाग्छ । दोस्रो जनआन्दोलन पश्चात गठन भएका लोकतन्त्रवादी , जनवादी र गणतन्त्रवादी सवै सरकारका मन्त्रीहरुको पद बहाली जुन चहलपहल , ठस्सा र आडम्बरी तरिकाले गरियो र गरिंदै छ , त्यसले नेता वर्गको संस्कार देखाउँछ । जव पद प्राप्त हुन्छ , सिद्धान्तहरु आफू पदमुक्त नहुँदासम्मको लागि स्थगित हुन्छन । मन्त्रीको बहालीको लागि कर्मचारीहरु घन्टौं कुर्छन , कहिलेकाहीं त रातिको आठ नौ पनि बज्दछ , तर अपवाद बाहेक ती नवागन्तुक मन्त्रीमा त्यत्रा मानिसलाई कुराएकोमा कुनै ग्लानी हुँदैन । बरु आफू देश विकासको चिन्ताले गर्दा रात साँझ गर्दै बहाली गर्न आएको कुराको बखान गर्दछन ।

 

  • संसारभरि आफै पुरस्कार पाउनको लागि दौडधुप र चाकरी गर्ने चलन छैन । पुरस्कार , पदक र तक्मा कर्मचारीको व्यक्तिगत कार्यसम्पादन र योगदानको आधारमा प्रदान गरिन्छ । तर सिंहदरवारले पुरस्कार दिनको लागि समेत चाकरी र हारगुहार गराउँछ । धेरैजसो पुरस्कार भनसुनको आधारमा पाइन्छ । कार्यसम्पादन र योगदानको आधारमा पुरस्कृत भएका थोरै संख्याका सच्चा व्यक्तिहरुलाई पुरस्कार थाप्ने पंक्तिमा भनसुनमा पुरस्कृत हुनेको मन्दमन्द व्यंग्यपूर्ण मुस्कान देख्दा उल्टै हीनतावोध हुन्छ होला !

 

  • सिंहदरवारमा जसले जुन काम गर्नु पर्ने हो त्यो काम त्यसैले नगरी अर्कै अनधिकृत व्यक्तिले गर्ने  गराउने चलन पनि छ । यसरी इतर व्यक्तिबाट काम गराउनमा सिंहदरवार खुव रमाउँछ । यहाँ आफूलाई तोकिएको कामभन्दा अरुको काम गर्न रमाइलो हुन्छ । आफ्नो काम नजाने पनि केही हुँदैन , तर अर्काको काम’bout गज्जवले थाहा हुन्छ र अरुले गरेको कामको खोट खोज्न महारथ प्राप्त गरेको छ सिंहदरवारले । मन्त्री र उच्च निजामती पदाधिकारीहरु तोकिएको नभई मन पराएको कर्मचारीलाई काम गराउन गौरव मान्छन । बजेट बनाउने काम अन्यत्र कुनै अदृश्य कुनाबाट भइरहेको थाहा पाउने एकजना अर्थ सचिवले राजीनामा गर्ने हिम्मत गरे । सवैमा यत्रो हिम्मत र आँट हुँदैन , चुपचाप सहेर जागिर पकाउँछन् ।

 

  • ट्रेड युनियनले थोरै राम्रा काम पनि गरे होलान । तर यिनका पदाधिकारीहरुको प्रमुख काम भनेको ट्रेड युनियन गतिविधिभन्दा अन्य काममा दौडधुप गर्नमै सीमित रह्यो र रहिरहेछ । ट्रेड युनियन राजनीतिमय छन् र भिन्न भिन्न राजनीतिक पार्टीलाई प्रतिनिधित्व गर्दछन । अपवाद बाहेक केन्द्रदेखि कार्यालयसम्मका ट्रेड युनियन पदाधिकारीहरु कार्यालयको काम गर्दैनन । समग्रमा ट्रेड युनियनको गतिविधि निजामती सेवाको श्रीवृद्धि गर्नभन्दा यसको हुर्मत लिनुमै केन्द्रित रहेको कुरा स्वीकार गर्न कसैले शरम मान्नु पर्दैन ।

 

  • सिंहदरवारमा काम गर्ने नव्वे प्रतिशत कर्मचारी शक्ति , स्रोत र सोर्सभन्दा धेरै टाढा र बेखवर छन् ।  उनीहरु सिंहदरवारभित्र काम गर्दछन , तर सिंहदरवार देख्ने र महसुस गर्ने हैसियत राख्दैनन् । निर्दयी सिंहदरवार उनीहरुलाई चिन्दैन । सवै चलखेल र हालीमुहाली बाँकी दश प्रतिशतकै हुन्छ । छट्टुहरु त्यही कित्तामा विराजमान छन् ।

 

  • राजनीतिक पहिचान बनाएका सानो पदका कर्मचारी पनि मन्त्रीको कार्यकक्षसम्म पहुँच राख्दछन । राजनीतिक पहिचान बनाएका निम्नस्तरीय कर्मचारीसंग हात मिलाउँदै एकै सोफामा बसेर चिया खाने सचिवले सहसचिवलाई उभ्याउँछन् ।

 

  • प्रायः योजनाहरु योजना आयोगले बनाउँदैन । दौडधुप र भनसुनको आधारमा योजना बन्दछन । योजना माग्न आउनेहरुको भिड योजना आयोगतिर जाँदैन , विकासे मन्त्रालयमा धाउँछ । विकासे विभागीय मन्त्रीको जिल्लामा अरु चार जिल्लाकोभन्दा चारगुना बढ़ी बजेट जान्छ ।

 

  • सिंहदरवार नगरी नहुने कामभन्दा नगरे पनि हुने काममा रमाउँछ । उच्च प्रशासकहरुको धेरै समय अनावश्यक बैठकहरुमा बित्दछ । निर्णय प्रक्रिया सरल र छरितो छैन । डर संस्कृतिको विकास भएको हुँदा कानूनमा आफ्नै एकल निर्णय हुनुपर्ने कुरालाई समिति बनाएर सामूहिक जिम्मेवारी बनाउने प्रचलन बढेको छ । मन्त्रालय तहबाट हुनसक्ने निर्णय आफै नगरेर मन्त्रिपरिषदमा पुर्याउने चलन छ ।

 

  • असंख्य कर्मचारी वर्षौंदेखि बिना सूचना अनुपस्थित छन् । विदा स्वीकृत नगराई नव्वे दिनसम्म अनुपस्थित हुने कर्मचारीलाई आवश्यक प्रक्रिया पूरा गर्री नोकरीबाट हटाउनु पर्दछ । तर यस मामिलामा सिंहदरवार बेखवर जस्तो बसिरहेछ । कानूनी प्रक्रिया पूरा नगर्ने उच्च पदस्थ कर्मचारीले यस बापत कतै जवाफ दिनु पर्दैन ।

 

  • छट्टु मन्त्रीहरुले नीतिगत कुरामाभन्दा दैनिक प्रशासनिक र जनसम्पर्क हुने काममा चाख लिने गरेको पाइन्छ । सचिव तहबाट निर्णय हुने सरुवा काजजस्ता विषयमा मन्त्रीहरुको ठाडो हस्तक्षेप हुन्छ । सचिवहरु आफ्नो पूर्ण जिम्मेवारीमा हुने निर्णय पनि मन्त्रीसंग नसोधी गर्न सक्दैनन् । छट्टु सचिवहरु मन्त्रीले भनेको हर कुरा मान्दै आफ्नो दुनो सोझ्याउन पछि पर्दैनन् । कहिलेकाहीं आफूलाई खुव बाठो मान्ने मन्त्रीलाई पनि छट्टु सचिवले सहजै झुक्याउछन् ।

 

  • सिंहदरवारमा को योग्य , को अनुशासित , को परिश्रमी , को इमान्दार ,  को निडर , को कुन खालको काममा सिपालु , को भर पर्न लायक भन्ने ’bout कुनै अभिलेख छैन । सचिव पदको हालसाविक हुँदा समेत कुनै ब्रिफिङ्ग र बरबुझारथ हुँदैन ।

 

  • प्रायः मुख्य सचिवहरुले समग्र प्रशासकीय पद्धतिको नेतृत्व गर्न सकेको देखिदैन । शासन र प्रशासनवीच प्रष्ट सीमारेखा छैन । प्राशासनिक कार्यमा समेत राजनीति हावी छ । निजामती सेवारुपी स्थायी सरकारको गरिमा कतै देखिदैन । अभिलेख प्रणाली टिठलाग्दो छ । अवकाश पछि पनि कतै कुनै पद पाउने आशाले गर्दा उच्च प्रशासकहरु भरसक नेताहरुलाई चिढ्याउन चाहँदैनन् ।

 

चाँदीको घेरा

 

धेरै विरक्तलाग्दा गतिविधिका वावजुद सिंहदरवार आफ्नो मार्गमा यात्रारत छ । मुलुकका सामु आएका अत्यन्त जटिल समस्याहरुलाई यसले व्यवस्थापन गरेको छ । पटक पटक अन्यायपूर्ण बाह्य थिचोमिचोलाई पार गर्दै राष्ट्रको सार्वभौमसत्तालाई जोगाएको छ । अव गयो गयो भनेर डर लागेको क्षेणमा यसले आफूलाई सम्भालेर देखाएको छ । धेरै माथापच्ची र विलम्ब गरेरै भए पनि सिंहदरवारले आफ्नो अस्मिताको जगेर्ना गरेको छ ।

 

नेपाली राजनीतिक नेतृत्वले सुझबुझपूर्ण निर्णय गरी कालो बादलको किनारामा चाँदीको घेरा देखाउने काम पनि गरेको छ । धेरै कमजोरी र बेथितिवीच पनि निजामती प्रशासनले आफ्नो अस्तित्व शिद्ध गरेको छ । हाल सिंहदरवारले समृद्ध नेपाल र सुखी नेपालीको सपना देखेको छ । अहिलेको राजनीतिक सिंहदरवार धेरै बलियो रहेको हुँदा यसले अवान्छित र अदृश्य आन्तरिक एवं वाह्य व्यवधनहरुलाई परास्त गर्ने भरोसा गर्न सकिन्छ । आशा गरौँ निजामती सेवारुपी स्थायी सरकारलाई सवल र सक्षम बनाउदै यसलाई व्यावसायिक र दक्ष सेवाको रुपमा विकास गर्न संघीय निजामती सेवा ऐन ल्याउँदा गम्भीर रुपमा विचार पुर्याइने छ  ।