हलीको विलाप

-भागवत खनाल

धेरै वर्ष बिते

हली दाइ बाँझो जोतिरहेछ

अटेर बूढो गोरुलाई हली दाइले

कहिले हान्यो कहिले फकायो

कहिले सिङ कानमा तेल हालिदियो

खुसी होला कि भनी पछाडि कन्याइदियो

बूढो गोरु झन जाद्रो

ज्यानै बाङ्गो बनाउँदै पुच्छर ठाडो पार्दै

थचक्क बसिदियो बाँझो बारीमा

पछाडि मुख फर्काएर बोल्यो

“हली दाइ अझै कन्याइदे हरियो घाँस हालिदे”

हरियो उब्जाउन खेतबारी मिहिन जोत्नुपर्छ

यहाँ त बाँझो पनि मरेन

तन्नेरी हुँदा तान्न नसकेको हलो

अब झन के सक्लास् बाबै !

तेरो मस्ती गलिसक्यो a

बरु उग्राएर बस्

बाँझो मार्न बलिया बहर नार्छु

हली दाइले सुनायो गोरुको इतिहास

बिग्रेका र बनेका

उत्तरका दक्षिणका पूर्वका पश्चिमका

काले सेते राते लाले तारे सिंहे नर्मोदे सिजे

समुद्रपारका फिरङ्गे

बिग्रेका हिट्ले मुस्ले चाउचे ट्रम्के

बनेका लिङ्के ओबे केण्डे चर्चे

हलीले फेरि भन्यो

ससाना बारी सम्याएर ठुल्पाटो बनाउनेलाई याद गर्

बारीलाई सबैको फूलबारी बनाउनुपर्छ भन्नेलाई याद गर्

तेरो आफ्नै दरिद्र इतिहासलाई याद गर्

तेरो आफ्नै प्रतिज्ञालाई याद गर्

हली दाइले एक एक गरेर फोटा देखायो

पृथ्वीनारायण बीपी गणेशमान कृष्ण र मनमोहन

परन्तु विडम्बना ! गोरुले चिनेन

निरास हली भुतभुतायो

आफ्नो मलिलो पाटो बाँझो राखेर

जनतालाई बेसाउरे बनाउने बेसरम !

यी हेर् त ! यिनलाई चिन्छस् ?

गोरु जुरुक्क उठेर प्रफुल्ल डुक्र्यो

चिन्छु हली दाइ चिन्छु

यो डडे यो खप्रे यो मादुने यो बाब्रे

यो झल्खे यो बाम्दे यो राचरे यो चण्डे

यो सबै चिन्छु

किनकि म नै यो हुँ

कहिले हलो लिन्छु कहिले हलो दिन्छु

कहिले कन्याउँछु कहिले चिमोट्छु

कहिले सत्तोसराप कहिले सराहना

कहिले निन्दनीय कहिले वरणीय

ज्यान एक अङ्ग अनेक

एउटा कुरा बुझेस् हली दाइ

म नै अनेकता म नै एकता

फेरि हली दाइले विलाप गर्दै

बाछाबाछीले दु:ख पाए विचार गर् भन्यो मानेन

मरी जाने चोला सम्झायो मानेन

मनपरी नगर् कुवाच्य नबोल् भन्यो मानेन

ईर्ष्या र आसक्ति छाडिदे भन्यो मानेन

जरो आयो कि विदेशतिर नदगुर् भन्यो मानेन

राम्रो अस्पताल बना भन्यो मानेन

लाज मान्न सिक् भन्यो मानेन

आफ्नै बारीमा रोजगार दे भन्यो  मानेन

सक्दैनस् छाडिदे भन्यो मानेन

र फेरि

बूढो गोरु नजिकै आयो

हलीको कानैमा बोल्यो विस्तारै

बोलिराख् हली म सुन्दिन 

बुझाइराख् हली म बुझ्दिन

गीत गाइदे हली बरु नाचिदिन्छु

हलो छाड्दिन हली दाइ बरु भाँचिदिन्छु