स्वदेशको मायाले तानेको युवा मौसमविद्

उनलाई क्यानाडाबाट नेपाल फर्कन्छु भन्दा त्यहाँ रहेका स्वदेशी तथा विदेशी दुवैले आश्चर्य प्रकट गरेका थिए । युनिभर्सिटीका पदाधिकारीहरूले उतै बस्न निक्कै जोड गरेका थिए । नेपालीहरूले पनि यति राम्रो अवसर छाडेर नजाऊ भनेर धेरैले सल्लाह दिएका थिए । नेपाल फर्किएपछि त किन फर्केको भनेर धेरैले गाली नै गरे । उनी हुन् मौसमविद्, धीरज प्रधानाङ्ग, पीएचडी ।

आजभन्दा झन्डै साढे चार दशक अगाडि भक्तपुर नगदेशमा जन्मिएका धीरज एक वर्षको हुँदा बुवा–आमासँगै काठमाडौँ आए । धीरजका बुवा राष्ट्र बैंकमा जागिरे थिए । त्यतिबेला काठमाडाँैमा आफ्नै निवास थिएन । यताउताको डेरा सराइपछि जब बुवाले बिजुलीबजारमा घर बनाए, त्यसपछि धीरजको परिवार त्यहीँका स्थायी बासिन्दा भए ।

धोबीखोलानजिकै बिजुलीबजारस्थित घरबाट करिब आधा घन्टा पैदलयात्रा गरेर धरहरा, गणवहाल, गोल्छा अर्गनाइजेसनसँगै रहेको नेपाल आदर्श विद्यालयमा दैनिक आउजाउ गर्दै धीरज हुर्किए । उनी सम्झन्छन् “त्यतिबेला सेनाले आफ्नो मुख्यालयअगाडिको बाटो बन्द गरेको थिएन, जुन अति छोटो थियो । माइतीघरबाट एकैछिनमा भद्रकाली निस्किन्थ्यो । अनामनगरको हनुमानथान र सिंहदरबारको दक्षिणी गेट, जुन अहिले ट्राफिक जाम भएर हैरान हुन्छ, त्यतिबेला सुनसान थियो । दिउँसै पनि एकलै हिँड्ने आँट आउँदैन थियो । बेलुका अलिकति ढिलो भयो भने त डरलाग्दो हुन्थ्यो ।”

धीरज एक दिदी र एक भाइ बीचका सन्तान हुन् । सानैदेखि पढाइमा तीक्ष्ण उनी २०४४ सालमा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण हुन सफल भए । त्यसपछि आईएस्सीका लागि त्रिचन्द्र कलेज भर्ना भए । त्रिचन्द्रबाटै बीएस्सी पनि सकाए । एमएस्सी भने धीरजले केन्द्रीय क्याम्पस त्रिभुवन विश्वविद्यालय कीर्तिपुर र युनिभर्सिटी अफ मेलबर्न, अष्ट्रेलिया दुईठाउँबाट गरे ।

स्नातक अर्थात् बीएस्सी सकिनेबित्तिकै धीरजले लोकसेवा आयोगबाट लिइने परीक्षा पास गरेर शाखा अधिकृत (मौसमविद्) मा नाम निकाल्न सफल भए । उनी सम्झन्छन्, “त्यतिबेला म त्यस्तै २२–२३ वर्षको थिएँ । मलाई लाग्छ, सायद म पनि कम उमेरमै अधिकृत हुनेहरूको सूचीमै पर्छु । त्यसको आधिकारिक रेकर्ड निजामती किताबखानामा हुनुपर्छ ।”

शाखाअधिकृत भएपछि धीरजको काम मौसम तथा जलवायु विज्ञान विभागबाट सुरु भयो । उनको पहिलो पोस्टिङ क्षेत्रीय कार्यालय पोखरा थियो । “उपत्यकाको रैथाने केटो, पहिलोपल्ट पोखरा जाँदै थिएँ, अधिकृत भइसकेको छोरालाई विदेशै जान लागेजस्तो गरेर आमा एअरपोर्टसम्म पुगेर आँखाभरि आँशु पार्दै बिदाइ गरेको मलाई अहिलेसम्म पनि झल्झली सम्झना आउँछ”, त्यो बेलाको दृश्य सम्झेर उनी अलि भावुक हुन्छन् ।

केही गर्ने अवसरको खोजी र घरबाट धेरै टाढा नबसेका धीरज तीन महिनाभन्दा बढी पोखरामा रमाउन सकेनन् । उनी सरुवा मिलाएर काठमाडाँै नै आए । काठमाडौँ आएपछि उनलाई मौसम विभागअन्तर्गत एअरपोर्टमा खटाइयो, जहाँबाट नेपाल अधिराज्यभरिको मौसम पूर्वानुमान गर्ने गरिन्छ । त्यहाँस्थित कहिले जंगलमा रहेको कार्यालय त कहिले टावरमा बसेर उनले काम गरे ।
सधैं कामको दायरालाई फराकिलो बनाउन रुची राख्ने धीरज सन् १९९५ देखि १९९८ सम्म करिब तीन वर्षको निजामती कर्मचारीको अधिकृतस्तरको नियमित जागिरदेखि अघाइसकेका थिए । “कुर्सीमा बसेर सधैँ एउटै कामलाई निरन्तरता दिनुभन्दा अलि खुकुलो अवसरको खोजीमा थिएँ, म । त्यसैले त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापक पदमा जनशक्ति मागेको मौकामा मैले पनि आवेदन दिएँ र त्यसमा नाम निकाल्न सफल भएँ । त्यसपछि निजामती अधिकृतको जागिर छाडेर उपप्राध्यापकको जागिर खाँदै विद्यार्थी पढाउन थालेँ । मलाई जहिले पनि आफूले जानेको कुरा अरूलाई सिकाउन मन लाग्थ्यो । त्यही भएर कुर्सीमा बसेर तलब खानुभन्दा कक्षाकोठामा चकको धुलो खाँदै विद्यार्थीसँग घुलमिल हुन आनन्द लाग्यो”, धीरज आफ्नो रुचि बयान गर्छन् ।
विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागअन्तर्गत धीरज फेरि आफैँ विद्यार्थी भएको त्रिचन्द्र कलेजमा उपप्राध्यापकको रूपमा आइपुगे । पछि करिब दुई वर्ष उनी उक्त विभागको विभागीय प्रमुखसमेत भए ।

सन् २००० धीरजका लागि दुई महत्वपूर्ण अवसरका रुपमा आए । एउटा त त्यसै वर्ष उनले सुन्दर, सुशील र शिक्षित जीवनसंगिनी भित्र्याउन सफल भए भने अर्को सोही वर्ष छात्रवृत्ति प्राप्त गरेर नेदरल्यान्डस् गएर पोस्ट ग्र्याजुएट गर्ने मौका पाए । उनकी जीवनसंगिनी मनिषा श्रेष्ठ पुल्चोक इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङमा डिप्लोमा, नेपाल कमर्श क्याम्पसबाट स्नातक र नेदरल्याण्ड्सबाट मास्टर्स गरेकी छन् ।

नेदरल्यान्डस्बाट फर्केपछि धीरजलाई लाग्यो कि अब आफ्नोतर्फबाट केही न केही गर्नैपर्छ, सधैँ अरूको मुख ताक्नुहुँदैन । त्यसैले उनले सम्बन्धित विषयका विद्यार्थी, शिक्षक र वैज्ञानिकहरू समेटेर आफ्नै अध्यक्षतामा “द स्मल अर्थ नेपाल” नामक गैरसरकारी संस्था दर्ता गर्न पुगे । जसले मुख्यगरी मौसम तथा वातावरणसम्बन्धी तीनवटा उद्देश्य लिएको छ– क्षमता अभिवृद्धि, अनुसन्धान र जनचेतना तथा पैरवी ।

हालसम्म धीरजको संस्थाले मौसमसम्बन्धी अनेकौँ जटिल प्रकारका समस्या समाधान गरेको छ । स्वदेशी तथा विदेशीलाई तालिम दिइरहेको छ । विभिन्न देशका विज्ञ भेला गराएर छलफल चलाइरहेको छ । वातावरण जोगाउन फोहोर वा काम नलाग्ने सामान भनेर फालेको सामानलाई फेरि कसरी काम लाग्ने बनाउने भनेर विद्यालयका स–साना केटाकेटीलाई सिकाइरहेको छ । साथै, यो संस्था गाउँ–गाउँमा गएर पानी भण्डारणदेखि खेती–किसानीसम्मका कार्यक्रम गरिरहेको छ । कयौं अनुसन्धानकर्ता हिमाल, तराई र पहाडका विभिन्न जिल्लामा गएर महिनौंसम्म विभिन्न प्रकारका मौसम तथा वातावरणसम्बन्धी अध्ययनमा आफूलाई चुर्लुम्म डुबाएर अनुसन्धानमै केन्द्रित भएर दिनरात खटिइरहेका छन् । बाँकी कार्यक्रमका ’boutमा बताउन थाल्यो भने लामै लिस्ट तयार हुन्छ, बरु इच्छा हुनेहरूका लागि www.smallearth.org.np गएर हेर्न उनी सुझाव दिन्छन् । उनी भन्छन्, “अनुसन्धान, त्यसमा पनि मौसम तथा वातावरणको विषय भनेको बाहिर हल्ला हुने अन्य विषयजस्तो होइन । त्यसैले साधारण मानिसलाई यो संस्थाले के गर्छ भन्ने थाहा नै छैन । तर यससँग सम्बन्धित मन्त्रालय, विभाग र अन्य सरोकारवाला संस्थाहरूलाई यसको ’boutमा यथेष्ठ जानकारी छ र यसले दिएको सल्लाह ती निकायले मनन् पनि गर्दै आएका छन् । कति अनुसन्धान र अन्य कार्यक्रमहरू त हामी ती निकायहरूको सहकार्यमै गरिरहेका हुन्छौं ।”

उदाहरण दिँदै धीरज भन्छन्, “हालै बारा र पर्सामा ठूलो जन–धनको क्षति हुने गरी आएको विनाशकारी आँधी “टोर्नाडो” नै हो भनेर यथेष्ठ प्रमाणसहित बाहिर ल्याउने काम पनि नास्टका वैज्ञानिक र जल तथा मौसम विज्ञान विभागको सहकार्यमा यही संस्थाले गरेको हो ।”

प्रत्येक वर्ष मनाउने “नेपाल राष्ट्रिय जल, तथा मौसम सप्ताह दिवस” त यो संस्थाको पर्यायवाचीजस्तै बनिसक्यो । पृथ्वीमा रहेको पानीको सदुपयोगदेखि लिएर मौसम तथा वातावरणसँग सम्बन्धित विभिन्न प्रकारका जनचेतनामूलक कार्यक्रम बनाएर एक हप्तासम्म नेपाल सरकारको सहकार्यमा यो कार्यक्रम सम्बन्धित मन्त्रीदेखि विज्ञ तथा विद्यार्थीसम्मको संलग्नतामा मनाउने गरिन्छ । “यस्ता कार्यक्रम सफल भएको देख्दा देशका लागि आफूले सानै भए पनि केही गरेजस्तो लाग्छ”, उनी गर्व गर्छन् ।

सन् २०११ मा क्यानाडाको सस्क्वेच्योवान विश्वविद्यालयले “ग्लेसियर हाइड्रोलोजी” विषयमा अनुसन्धान गर्न धीरजलाई पीएचडीको पूर्णछात्रवृत्ति उपलब्ध गरायो । जहाँ उनले हप्तौं, महिनौं र वर्षौंसम्म माइनस ३०–३५ डिग्रीको अत्यधिक जाडोमा कठ्याँग्रिँदै विभिन्न हिमताल, हिमनदीजस्ता हिमाल तथा हिउँसम्बन्धी विषयमा अध्ययन र अनुसन्धान गरे । “नेपाल पनि एउटा हिमाली देश हो । यसको उत्तरतिर हिमालै–हिमालले ढाकेको छ । त्यसैले मैले गरेको अनुसन्धानले हाम्रो देशलाई पनि लाभ पुग्नेछ”, उनी आफ्नो अनुसन्धानलाई प्रयोगमा ल्याउनेमा ढुक्क छन् ।

तिनै विभिन्न कारणलाई मध्यनजर गर्दै धीरजले नेपाल फर्कने निर्णय लिए । सपरिवारसँगै रमाएर एउटा विकसित देशमा लाखौं आम्दानी गरेर बस्न छाडेर उनी फेरि नेपाल फर्कन त्यति सहज भने थिएन । परिवारको दायित्व पनि थियो । श्रीमती र एक छोरा, उनीहरूलाई मनाउनु अर्को प्रमुख कार्य थियो । नेपाल फर्केपछि श्रीमतीलाई त कामको समस्या भएन तर पाँच वर्षसम्म नेपालको पढाइ छाडेर क्यानाडामा अध्ययन गरेको छोरालाई भने अहिले पनि यहाँको विद्यालीय वातावरणमा घुलमिल हुन समस्या परिरहेको छ । “झन् यत्तिका वर्षसम्म नेपाली पढ्न छाडेर होला उसलाई नेपाली विषय त फलामको च्युरा चपाउनुसरह भएको छ’, उनी थप्छन्, “उताको पढाइ यति गाह्रो हुँदैन, यहाँको जस्तो शिक्षकहरूले पनि मरिमेटेर पढाउँदैन र विद्यार्थीहरूले पनि त्यसरी पढ्नुपर्दैन, घोकाइभन्दा व्यवहारिक शिक्षामा जोड दिइएको हुन्छ, फेरि उसका मिल्ने साथीहरू पनि उतै छुटे, त्यही भएर अली गाह्रै छ ।”

धीरजले अहिलेसम्म क्यानाडा, अमेरिका, थाइल्यान्ड, जापान, चीन, भारत, फिलिपिन्स, श्रीलंका, पाकिस्तान, अस्ट्रेलिया, स्विडेन, नेदरल्यान्डस्लगायतका देशको भ्रमण गरिसकेका छन् । जहाँ गए पनि उनलाई नेपाल नै प्यारो लाग्छ ।

हाल सानेपास्थित निवासमा देशले ओझेलमा पारेको मौसम तथा वातावरणको विषयलाई कसरी अझ गहनभन्दा गहन तरिकाले अनुसन्धान गर्न सकिन्छ, मानिसमा कसरी जागरण फैलाउन सकिन्छ भनेर अहोरात्र खटिइरहने उनी भावी पुस्ताका लागि शिक्षाको ज्योति फैलाउनुपर्छ भनेर विभिन्न देशका विश्वविद्यालयसँग पनि सम्पर्क स्थापित गरिरहेका छन् । जसको ज्वलन्त उदाहरण अमेरिकाको रोह्ड आइल्यान्डस्थित युनिभर्सिटी अफ रोह्ड आइल्यान्डलाई त्रिभुवनविश्वविद्यालयसँग शिक्षा तथा विभिन्न विषयमा सूचना आदान–प्रदान गर्न सम्झौतापत्रमा हस्ताक्षर गराउन सफल हुनु पनि त्यसमध्ये एक हो । भविष्यमा नेपालमै विज्ञान विषयमा गुणस्तरीय शिक्षा दिनमा मद्दत गर्ने, विज्ञानसँग सम्बन्धित विषयका सूचना तथा तथ्यांकलाई कसरी व्यवहारिक प्रयोगमा ल्याउने भन्नेमै तल्लीन हुने उनको योजना छ ।