राप्रपामा झण्डा र मिर जाफरको खोजी

राप्रपाभित्र देशद्रोही वा विदेशी प्यादा क्रियाशील छन् भन्ने सन्देश अध्यक्ष कै तहबाट सार्वजनिक भइसकेपछि यस्तो गंभीर विषयमा राप्रपा जस्तो जिम्मेवार पार्टी मुकदर्शक बनेर बसीरहन मिल्दैन ।

-प्रभास डल्लाकोटी

राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाव चिन्ह ‘गाई’ राख्दा राप्रपा नेपालको ‘गोरु’ सँग मतदाता झुक्किने सत्य कुरा हो । चुनावको अनुभव पनि यही छ । गाई र जोडबैल चिन्हमा मतदाता झुक्किदा नेता धवलशमशेर राणा संसदीय चुनावमा थोरै मतले हार्नुभयो । नत्र शुशील कोइरालाको पराजय निश्चित थियो । यस्तो चुनावी अनुभव देशभरी नै छ ।

जोडबैलमा त झुक्किए भने एकल गोरुसँग नझुक्किने प्रश्नै भएन । त्यसैले गाई चुनाव चिन्ह उपयुक्त नहुने भनेर राप्रपासँग सम्वद्ध धेरै जिम्मेवार साथीहरुले बताउनु भएको छ ।

मा. राजेन्द्र लिङ्देनको पछिल्लो भनाइले (निर्वाचन आयोगले गाईसँग झुक्किने गोरु चुनाव चिन्ह दिएको प्रसंगको आलोचना, मत खेर जाने स्वीकारोक्ति) त्यही यथार्थता पुनर्पुष्टि गरेको छ । त्यसकारण स्थापनाकालदेखिको हलो राखेर, पार्टी र भावी उम्मेद्वारलाई धोका नहुने आधार खडा गरौं ।

चुनाव चिन्हमा झुक्किने प्रसंग पार्टीको झण्डामा पनि जोडिन्छ । मा. लिङदेन कै आशय झण्डामा पनि लागू हुन्छ । एकै रंगको— रातो, पहेँलो, नीलो रंगमा राप्रपा नेपालले गोरु राखेको छ, झण्डा हुबहू छ । गाई र गोरु मात्र फरक छ, जो प्रष्ट छुटिन्न । समान झण्डाबाट जनता झुक्किने निश्चित छ ।

यस्तो द्विविधा, भ्रम कायम राख्नुभन्दा वा चुनावको बेला गोरुको उम्मेद्वारसँग बार्गेन गर्नु पर्ने बाध्यता अहिले नै दुर गर्नु बुद्धिमानी हुन्छ । आदरणीय नेता दिपक बोहरा उस्तै उस्तै चिन्ह (गोलाकार र चतुर्भुज भित्रको हलो) र समान झण्डाका कारण थोरै मतले गत संसदीय चुनावमा हार्नुभयो । नेता विक्रम पाण्डेको अवस्था पनि यही हो ।

त्यसैले चुनाव चिन्हमा ध्यान पुर्याउदा, झण्डा जस्तो महत्वपूर्ण बिषय पनि नजरअन्दाज नगरौं । राप्रपा (चन्द) र राप्रपा (थापा) ले स्थापनाकालदेखि प्रयोग गरेको ऐतिहासिक ध्वजालाई निरन्तरता दिऔं । विद्वान नेता राजेश्वर देवकोटाको कालजयी भिजनलाई विगतमा राप्रपाले अनुसरण गरे झैँ, अहिले पनि सम्मान र निरन्तरता दिऔं ।

राप्रपा (चन्द) र राप्रपा (थापा) एक भएर, राप्रपाले राष्ट्रिय राजनीतिमा बलियो झट्का दिँदा, आकाश (निलो), हिमाल (सेतो), पहाड (हरियो), तराई (पहेँलो) समेट्ने हलो अंकित झण्डा नै प्रयोगमा ल्याइएको थियो । पार्टीले दुई प्रधानमन्त्री, मंत्रीहरु, राष्ट्रिय सभा अध्यक्ष, उपसभामुख प्राप्त गर्नुका साथै, स्थानीय तहमा बलियो पकड बनाएको थियो ।

त्यसैले एकतावद्ध राप्रपाले स्थापनाकालदेखि कै झण्डा प्रयोग गर्नु उपयुक्त हुन्छ । बरु एकताको स्पिरिट अनुसार, हलोको ठाउँमा गाई राखे हुन्छ । यसबाट दुबै पक्षको प्रतिनिधित्व र जित सुरक्षित रहन्छ ।

माथि उल्लेखित चुनाव चिन्ह र पार्टीको झण्डाको विषय, पार्टी कै सर्वोपरी हितलाई ध्यानमा लिएर प्रस्तुत गरिएको हो । नीति विचारमा ध्यान नदिएर, चिन्ह र झण्डाको बहस किन गरेको भन्ने प्रश्न गर्छन् केही साथीहरु । बास्तवमा पार्टी एकतामा भाँजो हाल्ने मकसद होइन । हैसियत पनि कति नै होला र । एकीकृत राप्रपा निर्वाचन आयोगमा दर्ता हुन नसकेको पिडाले पोल्दा एक, दुई शब्द खर्चिने जमर्को भने गरेकै हो ।

दुई राप्रपाको एकताको हकमा तीन अध्यक्षहरुले जे जति निर्णय गर्नु भएको छ, पार्टीपंक्तिले स्वीकार गरेकै छ । भोली पनि चिन्ह, झण्डा वा अन्य विषयमा जे जस्तो निर्णय गर्नुुहुन्छ, त्यो पनि पार्टी पद्धतिअनुरुप स्वीकार गरिने नै छ । विलम्ब नगरौं, दर्ता तत्काल सम्पन्न गरौं भन्ने अनुरोध मात्र हो ।

एकताको आधारपत्रले पार्टीको सम्पूर्ण गठन, मनोनयन, विधानको व्याख्या र बाधा अड्काउ जस्ता भएभरको अधिकार अध्यक्षत्रयलाई सुम्पिएको छ । त्यसकारण अन्य विषय जस्तै चुनाव चिन्ह, हलो कि गाई ? के राख्ने भनेर अध्यक्षहरुको तहबाट निर्णय भइदिए, हामी जस्ता तल्लो कार्यकर्ताले बोली खर्चिनु पर्ने थिएन । दर्ता प्रक्रिया जुंगाको लडाई बन्दा, बार्गेनिङको बहाना बन्दा पिडा र हिनताबोध गर्नु पर्ने थिएन ।

हामी कार्यकर्ताको सर्त एउटा मात्र छ, केवल एउटा छ । एक भएको राप्रपा फेरी फुट्नु हुँदैन । नेपाली राजनीतिमा राप्रपाको खोजी भइरहेको बेला कुनै पनि बहानामा विभाजन मान्य हुने छैन । पार्टी र कार्यकर्ताको भविष्यमाथि कति खेलबाड गर्ने ? हामी कहिले नसुध्रिने ? त्यसकारण ‘वीन–वीन’ सन्दर्भ अपरिहार्य बनेको हो ।

पार्टीको नाम, झण्डा, विधान, छाप र चुनाव चिन्ह सबै एक पक्षको राखेर पार्टी एकता ग्यारेन्टी हुन्छ भने अध्यक्षत्रयले एक स्वरले भन्नुहोस्, कुनै विमति, द्विविधा पाल्ने छैनौं । तर चिनी बढी खाए तितो हुन्छ भने जस्तो आधार निर्माण नगरौं । पाँच पाण्डवलाई पाँच गाउँ नदिँदा के गति भयो, गीताको कसम खाने नेतृत्वलाई जानकारी छैन कसरी भन्ने ।

अध्यक्ष कमल थापाले भर्खरै मात्र राप्रपाभित्र मिर जाफर छ भन्ने जानकारी सार्वजनिक गर्नुभयो । पार्टीभित्र राष्ट्रदोही क्रियाशील छन् भन्ने जानकारी ज्यादै नै संवेदनशील विषय हो । त्यसैले मिर जाफर को को हुन् भन्ने निर्क्यौल गरेर अध्यक्षत्रयले संस्थागत निकास दिनु अत्यावश्यक भएको छ ।

राप्रपाभित्र देशद्रोही वा विदेशी प्यादा क्रियाशील छन् भन्ने सन्देश अध्यक्ष कै तहबाट सार्वजनिक भइसकेपछि यस्तो गंभीर विषयमा राप्रपा जस्तो जिम्मेवार पार्टी मुकदर्शक बनेर बसीरहन मिल्दैन । त्यसर्थ शिघ्रताशिघ्र मिर जाफरको पहिचान होस्, कारवाही गरियोस्, अध्यक्षत्रयलाई विनम्र अनुरोध छ ।

साथसाथै मा. लिङ्देनले प्रष्ट गरे जस्तै मत खेर नजाने गरी चुनाव चिन्ह (हलो) र झण्डा (स्थापनाकालदेखिको पार्टी झण्डामा गाई राखेर) निश्चित गरियोस् । एकताका दुबै पक्षको आत्मसम्मान र सहभागिता कायम राखेर, विभाजन नहुने एकढिक्का पार्टी निर्माण गरियोस् । दर्तामा अलिकति पनि ढिला नहोस् । -प्रभास डल्लाकोटी

(लेखक राप्रपा निकट विद्यार्थी अभियन्ता हुन्)