वार्ताको विकल्प छैन
नेत्रविक्रम चन्द समूहका पोलिटब्यूरो सदस्य मोहन कार्कीले सरकार र आफ्नो पार्टीबीच वार्ताको विकल्प नभएको बताउनुभएको छ ।
महानगरीय प्रहरी परिसर टेकुमा आज रासससँग कुुरा गर्दै कार्कीले देश द्वन्द्वमा जाँदा कसैलाई फाइदा नपुग्ने भएकाले शान्तिपूर्ण रुपमै समस्याको समाधान खोजिनुपर्नेमा जोड दिनुभयो । उहाँले आफू वार्ताको पक्षमा रहेको र वार्ताकै लागि विभिन्न सम्पर्कसूत्रमार्फत प्रयास गर्दैगर्दा पक्राउ परेको जानकारी दिनुभयो ।
वार्ताका लागि राज्य गम्भीर हुनुपर्ने उहाँको भनाइ छ । पार्टीको राजनीतिक कार्यदिशा एकीकृत जनक्रान्ति भएको र छापामार युद्ध नरहेको जिकिर गर्दै उहाँले भन्नुभयो, “एकीकृत जनक्रान्ति भनेको किसान, मजदूर, मध्यमवर्ग र राष्ट्रिय पूँजीपति वर्गलाई एकीकृत ढङ्गले अगाडि बढाउने र जनआन्दोलन सञ्चालन गर्ने हो, कतिपय साथीहरुले त्यसलाई नबुझेर छापामार युद्धतिर लैजाने प्रयत्न गरिराख्नुभएको छ ।”
आफूले पार्टीका महासचिव चन्दलाई समेत पार्टीमा केही कुराहरु सच्याउन र कार्यदिशाअनुसार शहरका मध्यम वर्गको साथ लिएर जनतालाई राहत दिने तथा राष्ट्रिय जागरण फैलाउने अभियान गर्नुपर्ने सुझाव दिएको जानकारी दिनुभयो । उहाँले आफ्नो समूहको केही कमजोरी भएको स्वीकार गर्नुभयो ।
चन्द समूहले सञ्चालन गरेको विध्वंसात्मक घटनामा संलग्न रहेको आरोपमा उहाँलाई गत चैत १ गते ललितपुरबाट प्रहरीले पक्राउ गरेको थियो ।