अपहरित स्थलमा
मैले बाटोमा हतार हतार हिंडिरहेको कुनै अपरिचितलाई गएर ट्याप्प समातें । यही त एउटा उपाय बाकी छ अब मसित । नत्र जो पनि तर्केर हिंड्ने । बोल्नु पर्ला भनेर पर भाग्ने । मान्छेको छायाँ देख्नासाथ नै मान्छेहरु परैबाट ओझल पर्ने । कस्तो अचम्मको ठाउँ ! लामो बाटो हिंडेर आइसकें । कसैसँग संवाद हुन सकेन । कसैसित मुखामुख हुन सकेन । अकस्मात् मैले समातेपछि ऊ कुनै भगुवा झैं झसङ्ग भयो र केही नबोली पाखुरा छुटाउने प्रयास गर्न थाल्यो । नसकेपछि आँखामा प्रश्नचिन्ह बोक्यो ।
हेर्नुस् मेरो शरीर डढ्न सुरु भइरहेछ । बडो चर्को घाम रहेछ । कृपया सियाँल कहाँ छ भनिदिनुहुन्छ कि ?, मैले सोधेँ ।
उः त्यहाँ हुन्थ्यो , तर पछि बनाउनेले नै भत्काइदियो ।
किन ?, अचम्म मानेर प्रश्न गरेँ ।
अँहँ ! यो नसोध्नुहोला, त्यसले मेरो मुखभरि ताक्यो । यसपछि ऊ फुत्केको बिरालो झैं फटाफट हिंड्न थाल्यो । एकै क्षणमा कता हो कता अलप पनि भयो । मलाई यो कुनै दिवास्वप्न जस्तो लाग्यो ।
केही पर एक दुइटा सानातिना झोपडीहरु देखा परे । यो देखेर आफूभित्र केही साहस सञ्चार भयो । एउटा छाप्रो नजिक गएर हेरेँ । दैले ढप्काएको मात्र रहेछ । भित्र खास केही भएकोजस्तो देखिंदैन । मैला र धुजा धुजा भइसकेका थाङनाहरु तथा माटाका एक दुइटा भाँडाकुँडाहरु छन् जसमध्ये कुनै टुटेफुटेका । त्यहीँ एउटा कुनामा निष्प्राण एकजना बूढो मान्छे टाउकोलाई घुँडामा अड्याएर झोक्रिरहेको पाएँ । सुरुमा हेर्दा भूत हो कि झैं लाग्यो।
मैले आवाज दिंदै तिर्खाले निकै छटपटिएको कुरो भनेँ । प्रत्युत्तरमा बूढोले लाचारीका साथ पानी सिद्धिसकेको र पानीको लागि कतै ढल खनेर पाइप ओछ्याउँदै गरेको समाचार वर्षौदेखि सुनेको, तर त्यस ’bout के कति काम वास्तवमा भइरहेछ भन्ने थाहा नपाएको कुरा सुनायो । दैलासम्म आइपुगेको पाहुनालाई कुनै प्रकारले स्वागत गर्न नसकेकोमा सुर्ता मान्यो । लगत्तै यो कुरा बिर्सेजस्तो पुनः झोक्राउन थाल्यो ।
त्यस बूढोको छाप्रोका भित्ताहरु चर्किसकेका तथा छाना ठाउँठाउँमा ह्वांगह्वांगती प्वाल परिसकेकोले झन दयनीय देखिन्थ्यो । गरीवीले ग्रस्त त्यो छाप्रोमा अभावको एउटा नमीठो गन्धले करुण स्थितिलाई उदाङ्गो पारिरहेको थियो । यी सबबाट अभ्यस्त झैं बूढो निर्लिप्त भएर झोक्रिइरहेछ । सायद यस्तै उसको नियति होला ।
००
यता सुन्नुस् त, जाँदाजाँदै अकस्मात एउटा अपरिचित अनुहार भएको मान्छेले मलाई रोक्यो – तपाइँ कहाँ जाँदै हुनुहुन्छ ?
मैले भनें – मलाई त कता कता धेरै पर पुग्नु छ ।
धेरै पर कता ?
थाहा छैन ।
थाहा छैन !, उसले अचम्म मान्यो ।
किन जाँदै हुनुहुन्छ ?, उसले पुनः प्रश्न ग¥यो ।
यो पनि थाहा छैन ।
ऊ झन तीन छक्क खायो ।
मेले उसलाई सोधें – तपाइँ यो सब किन सोध्दै हुनुहुन्छ ?
मलाई आशङ्का लागिरहेछ ।, उसले भयभीत आँखाले एकचोटि ’round हे¥यो ।
उसले दृष्टि फैलाएको ठाउँतिर मैले पनि यसो हेरेँ । त्यता अँध्यारो थियो । अँध्यारोमा केही आँखाहरु घुमिरहे झैं लाग्यो ।
किन ?
सम्भवतः तपाइँ त्यहाँ पुग्न सक्नुहुन्न ..अर्थात् तपाइँलाई त्यहाँ पुग्न दिइनेछैन .., उसले भन्यो ।
कारण ?, उसको कुराले म चकित भएँ ।
मलाई थाहा छैन । भन्दाभन्दै उसका आँखा अनौठो रुपले चम्के । म उसको अनुहारलाई हेर्दै ट्वाल्ल परिरहेँ ।
पानी कहाँ पाइन्छ ?, मैले एक्कासि सोधेँ ।
मलाई थाहा छैन ।
निश्चय पनि तपाइँलाई यो थाहा छ । हेर्नुस् म यहाँ पानीको प्यासले मर्न लागिसकेँ ।
साँच्चि धरोधर्म मलाई थाहा छैन । हामी नै यहाँ विना पानीले बाँचिरहेका छौं ।
भैगो यति त कृपा गर्नुस् । यस्तो चर्को घाम छ । छायाँ कहाँ पाइन्छ ? अर्थात् यो घामबाट बच्ने उपाय …
यो झन …, उसको अनुहार दयनीय र कातर देखियो ।
तपाइँलाई यो कुराको आवश्यकता छैन ?
छ । .., ऊ घोरियो । त्यसपछि गम्भीर भएर बोल्यो – यो अपहरित स्थल हो । यहाँ पानी पिउन र सियाँल पाउन मनाही छ तर यो कसैलाई नभन्नुहोला ।, सुस्तरी सुनायो यो कुरा ।
००
अझै समय मध्यान्हबाट खुस्केको जस्तो लाग्दैन । पसिनाले शरीर भिजिसक्यो । समय कहिले बदलिने हो थाहा छैन, घाम कहिले बादल पारी पुग्ने हो थाहा छैन । मसँग यीमध्ये कुनैको पनि उत्तर छैन । सायद ऊसँग पनि छैन।
तपाइँ के गर्नुहुन्छ ?, सोधेँ मैले ।
निश्चित छैन ।
तब ?
उसले लामो कुरा गरेन र तत्पश्चात् एकातिर लमलमती हिंड्न थाल्यो ।
पख्नुस् म पनि आउँछु । म उसको पछि पछि लगभग दगुर्दै पछ्याउन थालेँ ।
घाम उस्तरी नै दन्किरहेछ ।
००