युरोकप छनोट : घरेलु टिमका लागि रोनाल्डोको ४ गोल

काठमाडौँ, २५ भदौ । पोर्चुगलले युरोकप छनोटमा लिथुनियाविरुद्ध प्रभावशाली जित निकालेको छ । क्रिस्टियानो रोनाल्डोले चार गोल गरेको खेलमा पोर्चुगलले लिथुनियामाथि ५–१ को जित निकाल्न सफल भयो । पोर्चुगलका लागि अर्को गोल विलियन कार्भाल्होले गरे । 

खेलको सातौ मिनेटमा रोनाल्डोले पोर्चुगललाई अग्रता दिलाएका थिए । २८ औ मिनेटमा घरेलु टोली लिथुनियाका लागि आन्द्रेयुके विसियसले बराबरी गोल फर्काए । तर उसका लागि दास्रो हाफ पिडादायी रह्यो । 

६१ औ मिनेटमा रोनाल्डोले पोर्चुगललाई अग्रता दिलाए । त्यसको चार मिनेटमा उनले ह्याट्रिक पुरा गरे । ७६ औ मिनेटमा उनले पोर्चुगललाई ४–१ को स्थितिमा ल्याएका थिए । केहि समयमा नै लगालग गोल खान पुगेको लिथुनिया खेलमा फर्कने कुनै मौका नै पाएन् ।  

दोस्रो हाफको इन्जुरी समयमा कार्भाल्होले गोल गर्दै पोर्चुगललाई फराकिलो जित दिलाए । रोनाल्डोले ४ गोल पुरा गरेसँगै पोर्चुगलसँग ९३ अन्तराष्ट्रिय गोल पुरा गरेका छन् । ३४ वर्षका रोनाल्डोले आठ अन्तर्रा्ष्ट्रिय ह्याट्रिक पूरा गरेका छन् । समूह बीको दोस्रो स्थानमा रहेको पोर्चुगलले ४ खेलबाट ८ अंक जोडेको छ । समूहमा युक्रेन ५ खेलबाट १३ अंक सहित शीर्ष स्थानमा छ ।