विदेश भ्रमणको विशेषता

उहाँका विरोधी र प्रतिद्धन्द्धीले त उहाँका उपलब्धिलाई त उपलब्धि नै मान्दैनन् । सफलतालाई सफलता नै ठान्दैनन् । नेताजीले विना एजेण्डा भ्रमण गरेर पनि गुडविल र कन्फिडेन्स विल्डिङ्ग ब्युल्ड अप गर्दा पनि देख्दैनन् भने त्यस्ता प्रतिद्धन्द्धीको औचित्य पनि छैन ।

पत्रकारहरुले घेरेर भ्रमण कस्तो भयो, सोधेपछि उहाँको जवाफ थियो – भ्रमण त सोचे भन्दा बढी सफल भयो।

नेताजीको अनुहार प्रफुल्ल थियो ।

एकजना पत्रकारले सोधिहाले – नेताजी सफल कसरी ?

– भ्रमण भयो । महत्वपूर्ण नेताजीहरुसित भेट भयो, हात मिलाइयो । सौहार्दपूर्ण वातावरणमा वार्ता भयो । हामीले आफ्ना कुराहरु राख्यौं .. हाम्रा कुराहरुलाई सकारात्मक रुपमा लिए.. ।

उपलब्धि के के भए, त्यो भन्नुस् न ।

यही त हो उपलब्धि ।, नेताजीले दाँत मात्र होइन, गिजासमेत देखाइदिनुभयो ।

हुन पनि यही त हो उपलब्धि । भ्रमण हुनु, भेटघाट हुनु , वार्ता हुनु , हात मिलाउनु , सके जति दाँत देखाएर फोटो खिचाउनु यही त हो उपलब्धि । वास्तवमा नेताजी विना एजेण्डा भ्रमणमा जानुभएको थियो । भ्रमणको हतारो यति थियो कि एजेण्डाका लागि समय नै भएन । भ्रमण एजेण्डामा केन्द्रित हुनुपर्ने भए पनि भ्रमणको एजेण्डामै ज्यादा केन्द्रित भयो । तैपनि उहाँको भ्रमण सफल भयो । गरिब मुलुकको नेता खाली हात जानु , आउँदा भेटघाट , वार्ता, आश्वासन सौहार्दता लिएर आउनु भनेको कम उपलब्धि को कुरा हो र !

उहाँ रित्तो हात जानुभएको थियो तर आउँदा हात रित्तो पारेर आउनु भएन । भलै उहाँको हातमा केही नहोस् । भलै उहाँले देखिने चीज केही ल्याउनु नभएको होस् । तैपनि उहाँको भ्रमण सफल भयो । उहाँले नदेखिने थुप्रै उपलबिध बोकेर आउनुभयो । उहाँका अनुसार उहाँ गुडविल र कन्फिडेन्स विल्डिङ्ग का लागि जानुभएको थियो र त्यो उहाँले मनग्य ल्याउनुभएको छ । उहँले जाँदा भन्नुभएको थियो – म आउट अफ ट्रायक भएको सम्बन्धलाई ट्राय्कमा ल्याउन र समझदारी अभिवृद्धि गर्न जान लागेको हुँ ।

र उहाँले त्यही गरेर आउनुभयो । उहाँले भ्रमण गरेपछि सम्बन्ध ट्राय्कमा आइहाल्यो । भलै सम्बन्ध एकातिर र ट्राय्क अर्कोतिर किन नहोस् ! मुलुकको द्धन्द्ध समस्या, सीमा विवाद, शरणार्थी समस्या, व्यापारमा असमानता जस्ता समस्याहरु यथावत रहे पनि समझदारी भने निकै बढेछ । समस्याहरु,, विवादहरु चाहिँ निकै बढेछ । अब चीज, यी उपलब्धि कसैले देखेनन् भने देखेनन् । त्यसको दोष त हाम्रा नेताजीको होइन । यो त नदेख्नेको दोष पो हो ।
उहाँका विरोधी र प्रतिद्धन्द्धीले त उहाँका उपलब्धिलाई त उपलब्धि नै मान्दैनन् । सफलतालाई सफलता नै ठान्दैनन् । नेताजीले विना एजेण्डा भ्रमण गरेर पनि गुडविल र कन्फिडेन्स विल्डिङ्ग ब्युल्ड अप गर्दा पनि देख्दैनन् भने त्यस्ता प्रतिद्धन्द्धीको औचित्य पनि छैन ।

यति मात्र होइन नेताजीले पदीय भ्रमण मात्र गर्नुभएन, भ्रमणको नाउँमा तीर्थाटन पनि गर्नुभयो । बाबाहरुलाई भेटेर आशीर्वाद पनि लिनुभयो । चुन्ने त जनताले हो तर बाबाले सत्तामा टिकाउने.आशीर्वाद दिनुभयो । मुलुकको लागि विकास परियोजना केही नल्याए पनि बाबाको प्रसाद आशीर्वाद भए पनि ल्याउनुभयो । आजसम्म कोही होला सरकारप्रमुख भएर विदेश भ्रमणमा जाने र भ्रमणमा भन्दा बढी भजनमा लिप्त हुने र प्रसाद बोकेर ल्याउने । कत्रो महान कार्य ! नेताजी तीर्थाटनमा जान्छु भनेर जानुभएको होइन, नेताजी प्रसाद लिन भनेर जानुभएको पनि होइन तर साथमा धार्मिक पुण्यका साथै प्रसाद पनि लिएर आउनुभयो । आशीर्वाद समेत लिएर आउनुभयो ।

नेताजी किनमेल गर्न भनेर पनि जानुभएको होइन तर भ्रमण चाँडो सकाएर किनेमल पनि गर्न भ्याउनुभयो, घरपरिवारको लागि ।

नेताजी मुलुकभन्दा कत्ति सुपरफास्ट हुनुहुन्छ भन्ने कुरो यसबाट पनि सिद्ध हुन्छ कि भ्रमण साताअवधिको थियो तर उहाँले त्यसलाई दुई दिनमै सक्याउनुभयो । बाँकी समय भ्रमणमा बिताउनुभयो । एजेण्डा केही भए पो वा कुनै गम्भीर बहस गर्नुपरे पो भ्रमण लम्बिन्थ्यो । त्यसो त एजेण्डा थुप्रो थियो तर भ्रमणको हतारोले गर्दा कुनै पनि एजेण्डा बनाइएन । एजेण्डा बनाउन थाल्यो भने भ्रमण छुट्ला भन्ने पीर थियो । भ्रमण महत्वपूर्ण थियो एजेण्डा होइन । तर उहाँको आँट हेर्नुस् त उहाँले एजेण्डा नबोकिकनै भ्रमण कार्यक्रम घोषणा गर्नुभयो, त्यो पनि सात सात दिनको । अझ उहाँको सक्रियता हेर्नुस् कि उहाँले दुई दिनमै साताव्यापी भ्रमणको सम्पूर्ण कार्यक्रम सक्नुभयो । मुस्किलले दुई दिन वार्ता गरेपछि सबै कुरा टुङ्गियो । विवाद र समस्या समाधान गर्नुपरेको भए पो काम कुरो लम्बिन्थ्यो । यहाँ त समझदारी बृद्धि गर्ने कुरो मात्र छ । त्यो त नेताजीको कुटनीतिले एकैछिनमा भयो । सम्बन्धलाई ट्राय्कमा ल्याउने सहमति भयो । तर ट्राय्क चाहिँ पछि बनाउने सहमति भयो । त्यही भएर हाम्रा नेताजीले बडो अनुग्रहित भएर भन्नुभयो – वार्ता फलदायी भयो । म वार्ताबाट सन्तुष्ट छु ।

अब यति धेरै उपलब्धिपछि अरु सन्तुष्ट होस् कि नहोस् स्वयं नेताजीले नै सन्तुष्ट छु भनेपछि निश्चित छ भ्रमण अत्यन्त सन्तोषप्रद रह्यो । भ्रमणमा भ्रमण हुनुनै ठूलो हो, झन त्यसमाथि भेटघाट, वार्ता, छलफल र समझदारी पनि भएपछि त्यो भ्रमण त सफल नहुने कुरै भएन । अझ महा सफल रह्यो । हाम्रा नेताजीले आफ्ना लागि तीर्थाटन गर्नुभयो । तर मुलुकका लागि भ्रमण गर्नुभयो समझदारी बृद्धि गर्नुभयो । परिवारका लागि अलिकति किनमेल गर्नु कुन ठूलो कुरो भयो र ! अब यतिभन्दा बढी उपलब्धि र सन्तुष्टि किन चाहियो । त्यसो त उहाँले असन्तुष्ट हुनेहरुका लागि भ्रमण गर्नुभएको पनि त होइन । अनि भ्रमण किन सफल नहोस् त !