कावासोतीमा ट्रक र कार ठाेक्किँदा ५ जनाको मृत्यु

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको कावासोती नगरपालिका-८ मा ट्रक र कार ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ । गएराति करिब पाैने ११ बजे लु १ ख ८५३२ नम्बरको ट्रक र बा २१ च ६४०९ नम्बरको कार खरकट्टा जंगल क्षेत्रमा ठोक्किँदा कारमा सवार व्यक्तिहरुको मृत्यु जनाईएको छ । मृतक सबै पुरुष भएको र उनीहरुको सनाखत नभएको नवलपुर प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै नवलपरासीको मध्यविन्दु नगरपालिका-१०, स्थित जंगलमा राति पौने दुई बजेतिर यात्रु बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कम्तीमा १५ जना घाइते भएका छन् ।

दाङबाट काठमाडौं जाँदै गरेको ना ७ ख ८६४२ नम्बरको बस आफैं अनियन्त्रित भएर पल्टिँदा मकवानपुर घर भएका बस चालक ३५ वर्षीय लक्ष्मण तिमिल्सिनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरुको नवलपुर अस्पताल, कालिगण्डकी अस्पताल र पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको पनि बताईएको छ ।

घाइते हुनेहरुमा सल्यान कालीमाटी गाउँपालिका-४ बस्ने रामबहादुर ओली, सोही स्थानकै प्रकाश केसी र लेखराज केसी, सल्यानकै कपुरकोट गाउँपालिका-४ बस्ने दीपक पुन र कपुरकोट गाउँपालिका-३ बस्ने दल बहादुर ओली, शैलेश्वरी गाउँपालिका-१ बस्ने रोहित चन्द, रोल्पाको गंगादेव गाउँपालिका-६ बस्ने नवलसिंह ओली र पूर्वी रुकुमको भुमे गाउँपालिका-८ बस्ने प्रेम बहादुर घाइते भएका छन् ।

त्यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका-१४ बस्ने बसका सहचालक सुजन बुढाथोकी, दाङ तुलसीपुर उपमहानगरपालिका-५ बस्ने ४० वर्षीय दुर्गा परीयार, सोही स्थान बस्ने २४ वर्षीय कल्पना परियार, तुलसीपुर-१ का प्रेम भुसाल, पूर्वी नवलपरासीको विनयत्रिवेणी गाउँपालिका-१ बस्ने नरबहादुर श्रेष्ठ, सुनसरीको इनरुवा-१० बस्ने रिजवार आलम र गुल्मीका जगदीश अर्याल पनि दुर्घटनामा घाइते भएको प्रहरीले जनाएको छ ।