चोरहरुको परिचय

परिचय सुनेर छक्क लाग्यो । के अचम्म यो ! चोर हो भनेर सोद्धा होइन भन्नुपर्ने ठाउँमा यहाँ त खुलेआम आफूलाई चोर भनेर आफै सकारिरहेछ । के सत्ययुग फर्केर आउन लागेको त होइन अथवा पूर्ण लोकतन्त्रमा यस्तै नैतिकताको बिगबिगी चल्ने हो कि !

मुलुकले यस्तरी कोल्टे फे¥यो कि अब सबैको परिचयमा आमूल परिवर्तन आयो । हिजोसम्म जो लुकीलुकी हिंड्थ्यो उही आज छाती फुकाएर हिंड्ने भइसकेछ । हिजो जसलाई जदौ भन्न पाउँदा ठूलो आत्मगौरव हुन्थ्यो उसैलाई आज हेलो त के यसो फुट्या आँखाले पनि समेत हेर्न नहुने भइसकेछ ।


यस्तो अवस्थामा अब चोरलाई ढुकुटी वा सेफको साँचो दिंदा के होला ? अथवा दूधको साक्षी बिरालोलाई राख्दा के हुन्छ ? के हुन्छ भनेर सोध्ने होइन बरु दिएर पो हेर्नुपर्छ । केही नयाँ पो भइहाल्छ कि ! अचेल पढेर भन्दा परेर जान्नुपर्ने बेला हो । अरुले जानेको कुरा सुनेर पढेर किन सिक्ने होइन आफै गरेर हेर्नुपर्छ । आफै परेर थाहा पाउनुपर्छ । अहिले नेपालको राजनीतिमा यही त भइरहेको छ । मुलुकको समग्र अवस्थाले यही त देखाइरहेको छ ।


अल्छि मान्छेहरुले मात्र अरुको सिको गरेर सिक्छ तर बहादुर मान्छेले आफै परेर सिक्छ, जस्तै कालिदास । त्यही भएर आज कालिदास कत्रो महान व्यक्ति बनेको छ । उखानै बनेको छ । तर बहादुर मान्छेले आफै परेर सिक्छ, आफै भोगेर थाहा पाउँछ । बीर तथा बहादुरहरु अलि एकोहोरे पनि हुन्छन् । भूपि शेरचनका अनुसार हामी वीर छौ त्यसैले बुद्धू छांै । महाकवि देवकोटाले भेडा बनाऊ भनेर पुकारा गरेका छन् भने सर्वोच्च नेता गणेशमान सिंहका अनुसार त हामी साँचिकै भेडा हौं । बुद्धू हुनु खराब होइन बरु धूर्त हुनु पो खराब हो त । भेडा हुनु गलत होइन ब्वाँसो हुनु पो गलत हो । तर अहिले जे गलत हुन्छ । त्यही सही हुन्छ । उखानै छ सोझो औंलाले घिउ आउँदैन भने कसैले घिउका लागि औंलो किन सोझ्याइरहन्छ र !


त्यही कारण हो अहिले औंला बंग्याउनेहरुकै बोलबाला छ ।


त्यसैले चोरलाई सेफको साँचो र तस्करलाई भंसारको साँचो दिएर एकचोटि के हुन्छ भनेर किन नहेर्ने । एकचोटि दूधको साक्षी बिरालोलाई बनाएर किन नहेर्ने । जब चोरले आफू इमान्दार छु भनेर घोषणा गर्छ भने वा बिरालोले पनि दूधको साक्षी बस्छु भन्छ भने किन नबनाउने ?


एकजना चोर महोदयसित भेट भयो । उनी चोर महोदय हुन् भन्ने कुरा उनी स्वयंले बताएपछि मात्र थाहा भएको हो । नत्र बाटोमा हिँड्ने व्यक्ति को हो के हो भनेर कसरी थाहा पाउनु ! कसैको निधारमा लेख्या त हुन्न । न साथमा परिचय पत्र नै बोकेर नै हिँडेको हुन्छ । त्यसमाथि चोरी डकैती गर्नेले थाहा दिएर देखाएर वा सकैलाई जानकारी दिएर थोरै आफ्नो कर्म गर्छ ! गर्नुपरे लुकाएर गर्छ । उसले बरु खबर प्रहरीलाई गर्ला । प्रहरीलाई खबर गरेपछि सुरक्षाको ग्योरन्टी पनि हुन्छ ।


प्रहरीले यसै थाहा पाउँछ उसै थाहा पाउँछ । अनि प्रहरीसँग सम्झौता नगरी कहाँ हुन्छ ! तर परिवर्तनको नमूना हेर्नुस् । अचेल चोर स्वयंले आफू चोर भएको घोषणा गर्छ । डाकू स्वयंले डकैती गरेको स्वीकार्छ । र यस्तो कुकर्मलाई आफै सही भएको दाबी पनि गर्छ । गर्वका साथ गरिरहेको पनि छ । त्यसको एउटा नमूना यहाँ प्रस्तुत छ ।


एकजना चोर महोदयले मेरो बाटो रोक्दै भने – पख्नुस् त ।


यसो पर्खेर हेरेँ । चिनिनँ । कहीँ देखेको भए पो चिन्नु !
म तपाइँलाई चिन्दिनँ ।


त्यसैले त रोकेको आफ्नो परिचय दिन ।


कसैलाई किन दिइरहन प¥यो आफ्नो परिचय । कसैले सोधेको भए एउटा कुरा । सोध्दा त आफ्नो परिचय लुकाइने बेला यहाँ त उल्टो बाटोमा रोकीरोकी परिचय दिने काम पो भइरहेछ ।


– भन्नुस् तपाई को ?


बुझ्नुभयो म एक इमानदार चोर हुँ ।


परिचय सुनेर छक्क लाग्यो । के अचम्म यो ! चोर हो भनेर सोद्धा होइन भन्नुपर्ने ठाउँमा यहाँ त खुलेआम आफूलाई चोर भनेर आफै सकारिरहेछ । के सत्ययुग फर्केर आउन लागेको त होइन अथवा पूर्ण लोकतन्त्रमा यस्तै नैतिकताको बिगबिगी चल्ने हो कि !


तपाइँ चोर हो भन्ने कुरा मलाई किन सुनाउनुभएको ? प्रहरीलाई ग्एर सुनाउनोस् ।


प्रहरी लाई त थाहै छ नि ! तपाइँलाई थाहा नभएर पो सुनाएको । चोरले बडो सज्जनतापूर्वक उत्तर दियो ।
राम्रै भएछ । चोर स्वयँले आफूलाई चोर भनेर चिनाएपछि सतर्क त हुन पाइयो । नत्र को चोर को सज्जन भनेर कसरी थाहा पाउने ! सज्जनले त आफूलाई चिनाउनै पर्दैन । तर चोरहरुको त परिचय हुन्न त्यसैले चिनाइरहनु पर्छ । अर्थात् रंगेहात समातिनु पर्छ । अनि मात्र चोर रहेछ भन्ने थाहा हुन्छ । हामीकहाँ चोरको परिचय सज्जन जनतालाई था हा हुन्न । प्रहरीलाई भने थाहा हुन्छ तर प्रहरीहरु आफै चोरको परिचय लुकाउँछन् । प्रहरीहरुलाई समस्या हुन्छ यदि जनताले चोरहरु चिन्न थाले भने उनीहरुको कामै हुन्न ।


तर तपाई मसित सतर्क हुनुपर्दैन । अर्थात् डराउनु पर्दैन । चोरले बडो सज्जनतापूर्वक भने । मानौं उनी चोर नभई कुनै सन्त महात्मा हु्न् । सज्जनताको नमूना नै हो जस्तो ।


किन चोर भनेर थाहा पाएपछि पनि सतर्क नहुने !, मैले तर्क राखें ।
’cause म इमान्दार चोर हुँ ।


तपाइँ कसरी इमान्दार चोर ! के हो यो इमान्दार चोर भनेको ? के अब चोरले चोरीकार्य छोडेर उल्टो आफ्नो खल्तीबाट झिकेर पो राखेर जाने हो कि ?


म स्वयंले आफूलाई चोर भनेर घोषणा गरिरहेछु के यही इमान्द ारीताको प्रमाण भएन र !
त्यो त हो, तर इमान्दार भन्दैमा न जाँची कसरी पत्याउने ?


चाहिन्छ भने मप्रमाणै देखाउन सक्छु ।


कस्तो प्रमाण ?


म चोर्दिनँ भन्ने प्रमाण ।


के अचमम हो यो ! देशमा पूर्ण लोकतन्त्र, समावेशी लोकतन्त्र के आयो चोरहरुले आफू इमान्दार भएको प्रमाणपत्र पनि बोक्न थालेछन् कि क्या हो र खुलेआम आफू इमान्दार सज्जन र नैतिकवान् भएको घोषणा गर्न थालेछन् । चोरहरुको पनि अब सहज अवतरण भएको हो कि ! त्यसो भए के अब झ्यालढोका खुल्ला राखेर सुते हुने भयो कि घरको मूल ढोकामा ताल्चा नलगाइकन हिंडे भयो ! अथवा घरको सेफमा ताल्चा नलगाए पनि भयो ! चोरहरु इमान्दार भएप्पछि अब के को डर ! यही त होला । तैपनि शंक्का लागयो ।


हैन प्रहरीले इमान्दारिताको प्रमाण पत्र दिने हो कि चोर भनेर थुन्ने !


त्यसो भए जाँच्नोस् । प्रहरीले त जाँचेरै प्रमाण दिएका हुन् । तपाइँ पनि जाँच्नोस् कसरी जाँच्ने ? मसँग साधन त केही थिएन । खल्तीमा परिचयपत्र र टेलिफोन डायरी थियो । त्यही दिएँ । त्यो पाउनासाथ चोर त फटाफट हिँडिहाल्यो । मानौं यो उसैको परिचय हो । चोर हिंडेपछि पो थाहा भयो । चोरहरुको परिचय भएछ, सज्जनहरुको परिचय भने हराएछ ।