राजनीतिमा राजीनामा

बडो राम्रो शीर्षक लाग्यो मलाई । राजनीतिमा राजीनामा । यो शीर्षक बडो सामयिक र सार्थक पनि छ । राजनीतिमा हुनपर्ने अर्थोक भलै जे होस् तर भइरहेको यही हो । शीर्षक मात्र राम्रो होइन, आकर्षक र तुकमय पनि छ । नेपालको राजनीतिमा अहिले यस्तै रमाइलो निकै छ । राजनीतिमा राजीनामा वा राजीनामाको राजनीति, राजनीतिमा कुर्सी वा कुर्सीको राजनीति । यस प्रकारका शीर्षकहरूको स्वाद नै बेग्लै हुन्छ । यस प्रकारका रोचक र तुकमय शीर्षक राखेर कविहरूले कविता, गजलकारहरूले गजल र छन्द कविहरूले पद्य कविताको धारा नै बगाउन सकिन्छ ।
यस्तो महत्वको राजनीतिबाट अप्रभावित सायदै कोही होला । भुस्याहा कुकुर र सुंगुरले समेत राजनीति गर्ने युगमा राजनीतिबाट अलगथलग बस्न सक्नु पनि कसरी ! मासुविनाको मःमःचा र प्लेटविनाको चम्चाको कल्पना गर्न सकिएला तर राजनीतिविनाको जीवनको कल्पना गर्न सकिन्न । राजनीतिबाट अलग बस्छु भनेर कसैले भन्यो भने त्यसलाई युगकै नमुना माने हुन्छ । त्यस्तालाई टुंडिखेलमा उभ्याएर मात्र पुग्दैन जावलाखेलको चिडियाखानामै पु¥याउनुपर्छ ।
अन्त राजनीतिमा नीति महत्वपूर्ण हुन्छ तर नेपालमा नीतिविनाको राजनीति अत्यन्त महत्वपूर्ण मानिन्छ । अर्थात् नीतिविनाको राज । पिरती विनाको काज । अब त झन् गजब के भइदियो भने राजनीतिभन्दा राजीनामा पो महत्वपूर्ण हुन थालेको छ । राजीनामाको भाउ यति बिघ्न बढ्यो कि राजीनामा विना त कसैको राजनीति नै नचल्लाजस्तो भइसक्यो ।
सत्तामा कोही पुगोस् र त्योसँग भोलिदेखि राजीनामा नमागियोस्, यस्तो त हुनै सक्तैन । यस्तो भयो भने सम्झनोस् त्यसको राजनीतिको कुनै भविष्य छैन र यसलाई नेपाली राजनीतिको अन्तिम आश्चर्य भनिदिए हुन्छ । प्रजातन्त्र पुनस्थापनापछि कोही प्रधानमन्त्री छैन जसको राजीनामा नमागिएको होस् । अथवा त्यस्ता कोही नेता र दल बाँकी छैन जसले राजीनामाको उच्चारण नगरी राजनीति थालेको होस् । कतिलाई भ्रम होला प्रधानमन्त्रीको राजीनामा मात्र महत्वपूर्ण हो अरूको होइन तर त्यसो नभई वडाध्यक्षदेखि अध्यक्ष र पियनदेखि प्रधानमन्त्रीसम्मको राजीनामा उतिकै महत्वपूर्ण छ । फरक कतिसम्म भने प्रधानमन्त्रीको राजीनामाको चर्चा जोडतोडले हुन्छ , प्रचार प्रसार व्यापक हुन्छ , अरुको त्यति हुन्न , फरक त्यति मात्र हो ।
कोही नेता सत्तामा पुगोस् र त्यससित राजीनामा नमागिएको होस्, यो त उसको घोर अपमान भयो । सके नियुक्त भएको भोलिपल्टदेखि राजीनामा मागिनुपर्छ । नियुक्त हुनु त्यति महत्वपूर्ण होइन जति महत्वपूर्ण राजीनामा मागिनु हो । राजीनामा मागिएन भने सोचे हुन्छ त्यो नेता असफल भयो । जसको राजीनामा मागिएन त्यो पनि जसले राजीनामा माग्दैन त्यो पनि !
अहिले फेरि राजीनामाको सिजन शुरु भएको छ । कुनै महान वा विशेष व्यक्तिको भए उसको महान कार्यको प्रारम्भबाट राजीनामाको साइत सुरु हुन्छ । कारण त्यस्ता व्यक्तिले काम थाल्दा नै राजीनामाको लागि पनि विशेष मार्ग राखिदिएको हुन्छ । यस्तो मार्ग नजानेर होइन चाहिने भन्दा बढी जानेर नै छोडिएको हुन्छ । बेलामा मात्र होइन कुबेलामा पनि राजीनामा मागियोस् भन्नाखातिर नै त्यसका लागि बाटो बनाइदिएको हुन्छ । सत्तामा पुगेपछि प्रतिपक्षलाई कमिला ठान्ने मानसिकता कुर्सिमा बसेको क्षणदेखि नै सुरु हुन्छ । अरु त अरु सरकार सत्तापक्षको संसद प्रतिपक्षको भन्ने मान्यता हुँदाहुँदै पनि सभामुखले संसद पनि सत्तापक्षको भनेर महान चाकरीको नमूना खुलेआम प्रदर्शन गरिरहेको हुन्छ ।
त्यसो त राजीनामाको लागि कुनै साइत कुर्न पर्दैन । कहिलेकाहीँ पर्खाल चढ्दा, कुनै महिलाको दैलोमा टेक्दा, डाक्टरी पढ्न युवतीले अस्मिता बेच्नपर्छ भन्दा वा यस्तै महान बोली बोल्दा यसको साइत सुरु हुन्छ । वास्तवमा यसको सिजन त बा¥है महिना चलिरहन्छ भने पनि हुन्छ । त्यसो त राजनीतिको कुनै निश्चित सिजन हुन्न । कत्तिका लागि त रातदिन सिजनैसिजन । त्यसैगरी राजीनामाको लागि पनि कुनै रिजन चाहिन्न । सर्वमान्य सिद्धान्त के हो भने जो सत्तामा पुग्छ नपुग्नेले त्यसको खुट्टा कुनै न कुनै बहानामा तान्ने हो, कुनै बहाना नभए विना बहानामा भए पनि तान्ने हो ।
राजीनामाको अर्को महत्वपूर्ण पक्ष के हो भने माग्नेले पनि ज्यानै फालेर माग्ने हो र जोसँग मागिन्छ त्यसले पनि ज्यानै फालेर कुर्सी च्याप्ने हो । जुन स्तर र शैलीमा राजीनामा मागिन्छ त्यही स्तर र शैलीमा (सके अझ त्यसलाई पनि माथ गर्ने गरी) राजीनामाको प्रतिकार गर्ने हो । ’cause अब राजनीतिको पर्याय भनेको कुर्सीनीति जो भइसकेको छ ।
तर नयाँ अध्याय कस्तो सुरु भयो भने सत्तामा चढ्नेले नै पाइलैपिच्छे राजीनामाको लागि मार्ग प्रशस्त गरिदिएको हुन्छ । यसले प्रतिपक्ष वा राजीनामा माग्नेलाई सजिलो होइन बरु कति राजीनामा माग्नु, केमा मात्र माग्नु भनेर हैरान पारिदिएको हुन्छ । राजीनामाको विषय दिनेलाई भन्दा माग्नेलाई पो घाँडो बन्छ ।
००