‘बेनिफिट अफ डाउट’  अर्थात् शंकाको लाभ !

अब तपाइ भन्नु होला, क्रिकेटमा जस्तै राजनीतिलाई पनि विवाद रहित वनाउन प्रविधिको प्रयोग गरे भइ हाल्यो नी ! खासमा राजनीतिक व्याट्सम्यानका गलती त्रुटी हेर्ने र सजायका लागि ‘अख्तियार’ प्रदान गरेर व्याट्सम्यानको मुद्धा समेत हेरेर ‘न्याय’ दिने गरी केही संस्था पहिले देखिनै गठन गरिएका त हुन् । तर तिनिहरू व्याट्सम्यानका सामु खासै प्रभावशाली हुन सकेनन् । अझ पछिल्लो समयमा ब्याट्सम्यानले नै त्यस्ता निकाय चलाउनेहरूको चयन गर्न थालेपछि त वेनिफिट अफ डाउट झनै पक्का हुदै गएको छ । यो प्रचलनले राजनीतिको खेललाई झनै अलोकपृय बनाइ दिएको छ।

–राजेन्द्र ज्ञवाली   अहिले इंग्ल्यान्डमा क्रिकेटको विश्वकप प्रतियोगिता आफ्नो उफानमा छ । त्यसो त भलादमीहरूको खेल (नयाँ पुस्तालाई सम्भवतः थाहा नहोला कुनै वेला क्रिकेट यस नामले पनि चिनिन्थ्यो)र राजनीतिलाई सम्भावनाका खेल भनिन्छ । यिनिहरूमा निहित यही सम्भावनाले नै दुवैलाई रोमाञ्चक बनाएको छ ।   क्रिकेटमा अन्तिम बल नफाल्दासम्म केही अनुमान लगाउन सकिदैन भनेझै ‘रात रहे अग्राख पलाए’ भन्ने उखान प्राय राजनीतिमै प्रयोग हुदै आएको छ । यस वाहेक दुबै खेल (राजनीति पनि खेल नै भइ सक्यो क्यारे)मा खोज्ने हो भने केही समानताहरू पाइन्छ । दुबै अनिश्चितताको खेल हुन् ।  एउटा टिमले हार्न लागेको खेल अन्तिम बलमा जितेको क्रिकेटमा अनेकौँ उदाहरणहरू छन् । यस्तै किसिमका उदाहरण राजनीतिमा पनि पाइन्छ ।   तर यहाँ कुरा क्रिकेटमा पहिला पहिला प्रयोगमा हुदै आएको तर अहिले लगभग विलाउदै गएको एउटा भनाइको हो, जुन राजनीतिमा भने यद्यपी छदै छ । त्यो हो बेनिफिट अफ डाउट । अर्थात शंकाको लाभ । क्रिकेट व्याट्सम्यानको खेल मानिन्छ । दर्शकहरू क्रिकेटमा विकेट ढलेको होइन चौका र छक्का हिर्काएको हेर्न आउछन् । त्यसैले क्रिकेटमा ब्याट्सम्यान आउट भए नभए’bout (निर्णायक) अम्पायरलाई दुविधा भएको खण्डमा प्राय ब्याट्सम्यानलाई त्यो शंकाको लाभ दिएर नट आउट अर्थात आउट नभएको घोषित गरिन्थ्यो । विशेषगरी एलबिडब्लु (लेग विफोर दि विकेट), रन आउट र क्याच भए नभए जस्ता निर्णय गर्न अम्पायरलाई कहिलेकाही निकै गहारो हुन्थ्यो । यस्तो अवस्थामा कुरा स्पष्ट नभएको खण्डमा अम्पायरले क्षेत्ररक्षण गरिरहेको टोलीको अपिललाई अस्विकार गर्दै व्याट्सम्यानलाई शंकाको लाभ दिएर नट आउट घोषित गर्र्ने गर्थे ।   तर अहिले क्रिकेटमा बढ्दो प्रविधिको प्रयोगले निर्णायकलाई निर्णय लिन सहयोग पुर्याएको छ । एलविडब्लुको निर्णय गर्न सहज होस भन्ने हेतुले दुबै छेँउको मिडिल स्टम्पमा क्यामरा जडान गरिएको छ भने ‘अल्ट्राएज’ प्रविधिबाट विकेटकिपरको हातमा जानु पूर्व वलले व्याट्को स्पर्श गरे नगरेको निक्योल सहजै गर्न सकिन्छ र कुनै पनि किसिमको दुविधा हटाउन तेस्रो अम्पायरको सहयोग लिइन्छ । जसका लागि अम्पायरको दुई वटा आँखालाई मैदान वाहिर रहेका अनेकौँ कृतिम आँखा (क्यामरा)ले सहयोग पुर्याई रहेका हुन्छन् । त्यसैले यहाँ व्याट्सम्यानलाई शंकाको लाभको अब कुनै गुञ्जाइस छैन ।   हाम्रा राजनीतिक ब्याट्सम्यान (शासक) पहिले देखि नै शंकाको लाभ दिइदै आएको छ । उहिले राजाका पालामा ‘राजा त ठिकै हुन् तर आसे पासे (सल्लाहकार, आठ पहरियाले विगारे)भन्दै उनलाई बेनिफिट अफ डाउट अर्थात शंकाको लाभ दिइन्थ्यो । त्यो कुरा सम्भवतः राणाशासनमा पनि सुनिएको हुनु पर्छ । प्रजातन्त्र पुनः स्थापनापछि यो कुरा ठ्याक्कै उसैगरी सुनिएको हो । प्रधानमन्त्री त ठिकै हुन् तर उनका ‘किचन क्याबिनेट’ (सल्लाहकार)ले विगारे । यसोभन्दै राजनीतिमा अम्पायर (जनता)ले वेनिफिट अफ डाउटको सुविधा राजनितिका व्याट्सम्यानलाई दिदै आएका छन् । यो कुरा पछिल्लो समय सरकारले एकपछि अर्को गर्र्दै विभिन्न विधेयक फिर्ता लिदासम्म जारी छ । अर्थात जनताको मनसाय विपरित जनतालाई आक्रोशित वनाउने किसिमले विधेयक ल्याइनुमा हाम्रा राजनीतिक व्याट्सम्यानको कुनै दोस नभएको वरु उनका सहयोगीहरूले कुरै नवुझी (राजनीतिक व्याट्सम्यानलाई अझ बढी शंकाको लाभ दिन खोज्नेहरूले त प्रधानमन्त्रीलाई ‘वदनाम गराउने वदनियत सहित’भन्ने शब्द पनि प्रयोग गर्छन) ल्याएको भन्दै बेनिफिट अफ डाउटको कुरा उठाउछन् र जनता जनार्दनले त्यसलाई स्विकार पनि गर्छन् ।   तर यहाँ निर नबुझिएको कुरा के भने आफूलाई सधै अप्ठेरोमा पार्ने त्यस्ता आसेपासेको घेरामा पर्नु भनेको राजनीतिक व्याट्सम्यानको कमजोरी पनि त हो नी । त्यता तिर भने सम्भवतः कसैको ध्यान गएको छैन ।   अब तपाइ भन्नु होला, क्रिकेटमा जस्तै राजनीतिलाई पनि विवाद रहित वनाउन प्रविधिको प्रयोग गरे भइ हाल्यो नी ! खासमा राजनीतिक व्याट्सम्यानका गलती त्रुटी हेर्ने र सजायका लागि ‘अख्तियार’ प्रदान गरेर व्याट्सम्यानको मुद्धा समेत हेरेर ‘न्याय’ दिने गरी केही संस्था पहिले देखिनै गठन गरिएका त हुन् । तर तिनिहरू व्याट्सम्यानका सामु खासै प्रभावशाली हुन सकेनन् । अझ पछिल्लो समयमा ब्याट्सम्यानले नै त्यस्ता निकाय चलाउनेहरूको चयन गर्न थालेपछि त वेनिफिट अफ डाउट झनै पक्का हुदै गएको छ । यो प्रचलनले राजनीतिको खेललाई झनै अलोकपृय बनाइ दिएको छ ।   

हुनत क्रिकेटमा त्यस किसिमका प्रविधि लागु गर्दा मेसिनको वढी प्रभावले खेलको मर्म नै समाप्त हुन सक्ने जस्ता विरोधका स्वरहरू निस्केका थिए । तर शंकाको लाभ नै लगभग समाप्त भएपछि पनि क्रिकेटको रोमाञ्चकतामा कुनै किसिमको कमी आएको छैन वरु निर्णय सर्व स्विकार्य भएको छ । राजनीतिमा शंकाको लाभ दिने चलन हटाउन सकेमा व्याट र वल विना खेलिने यो खेल पनि स्वच्छ हुने थियो की !