गुरु पूर्णिमा बिशेष

भागवत खनाल

आज गुरु पूर्णिमा । कृपया नपढी “रियक्ट” नगर्नुहोला ।

म सानै हुँदा गुरुबाट सुनेको – “विद्या चोर्नु ।”
पछि मात्र थाहा भयो विद्या चोर्नु र वुद्धि चोर्नु फरक रहेछ ।
लेखन कहिल्यै पनि स्वतन्त्र हुँदैन । कुनै वातावरण , व्यक्ति , घटना , बेदना वा खुसीबाट प्रभावित भएर मात्र लेखिन्छ । भावनालाई प्रकाशन गर्ने माध्यम हो शव्द , शव्दलाई प्रकाशन गर्ने माध्यम हो लेखन । लेखनमा कशैको शैलीको प्रभाव पर्न सक्छ , तर लेख्दा त्यो प्रभाव प्रेरक मात्र हुनु पर्दछ । प्रेरणा लिन सकिन्छ , सापटी लिन सकिन्न ।

मन परेको कुरालाई आफ्नो स्वामित्वमा ल्याउन खोज्नु मानवीय प्रवृत्ति हो । लेखक र कविमा पनि अरुको अभिव्यक्तिलाई सुटुक्क आफ्नो नाममा प्रकाशित गरेर नाम कमाउने चाहना हुँदो रहेछ । शंकर लामिछाने प्रशिद्ध लेखक हुन । किन्तु उनलाई पनि वौद्धिक चोरी गरेको आरोप लाग्यो , जसलाई शंकरले सहर्ष स्वीकार गर्दै माफी मागे । उनले बाच्नको लागि साहित्यिक चोरी गरेको स्वीकार गरे र झन महान भए ।

धेरैलाई थाहा नहुन सक्छ , कवि शिरोमणि लेखनाथ पौड्यालको सुप्रशिद्ध कविता ” पिन्जराको सुगा ” हिन्दी भाषाका कवि मैथिलीशरण गुप्तको “पन्जरवद्ध कीर” को शव्दावली नै प्रयोग गरिएको प्रतिछाया मात्र रहेछ । लेखनाथले चराको बिषयमा अत्यन्तै उम्दा बलिन्द्रधारा झार्न सफल अन्य धेरै काव्य लेखेका छन । उनी महान कवि हुन । तर एउटामा सप्रमाण आरोप लाग्यो । यो बिषयमा हङ्गामा हुँदा कवि शिरोमणि जीवित थिएनन । जीवित भएको भए सायद शंकरले जस्तै स्वीकार गरी झन महान हुने थिए ।

अचेल सामाजिक सन्जाल अभिव्यक्तिको सशक्त माध्यम बनेको छ । यो अन्य माध्यमबाट अभिव्यक्त हुन नसक्नेका लागि ठूलो सहारा हो । तर यो माध्यमबाट देखादेखी एकको अभिव्यक्तिलाई अर्कोले आफ्नै जस्तोगरी प्रयोग गर्न थालेको पाइन्छ । कुनै अभिव्यक्तिबाट प्रभावित भई सो सम्बन्धमा आफ्नै शव्दमा अझ प्रभावकारी ढङ्गले प्रकाश पार्नु उचित र सान्दर्भिक हुन्छ । तर तिनै शव्दहरु प्रकाशन गर्ने हो भने शेयर वा साभार गर्नु राम्रो हो । तोडमरोड गरी शव्दहरुलाई अगाडि पछाडि पार्दैमा किमार्थ मौलिकता पैदा हुँदैन ।

म कुनै स्थापित लेखक होइन , चिन्तक होइन र विचारक होइन । कसैलाई फाइदा नभए तापनी हानी पनि नहुने सोचेर यदाकदा लेख्ने गर्दछु । तर म अकिन्चनको लेख पनि कोही कोहीलाई मन पर्दोरहेछ । मेरो प्रकाशन म बाहेक अर्को एक व्यक्तिले अद्द्योपान्त पढ्यो भने म सफल !

एक पल्ट मैले सामाजिक सन्जालमा पोस्ट गरेको सानो अभिव्यक्ति जस्ताको तस्तै अर्को व्यक्तिको वालमा पनि देखियो । उनको पोस्टको समय मेरोभन्दा पछि थियो । मैले सोधेपछि उनले साभार गरे । अर्को एउटा पोस्टमा दुई तीन शव्द थपथाप गरेर एकजनाले आफ्नो नाममा पोस्ट गरे । त्यसमा साह्रै राम्रा प्रतिकृया पनि देखिए । मलाई लाग्यो – जे होस मेरो लेखाइ कसैलाई मन परेछ । आफ्नै बनाउन मन लागेछ । त्यसैलाई आफ्नो सफलता माने मैले ।

सामाजिक सन्जालमा कसै कसैका लेखाइ अत्यन्त प्रेरणादायी हुन्छन । किन्तु ती सारगर्भित बिषय थोरैले पढ्दछन , अझ थोरैले प्रतिकृया दिन्छन । तर ती प्रतिकृया झन गहन हुन्छन । उट्पट्याङ्ग कुरामा त्यस्तै “कमेन्ट” आउछन । ती लेखाइ क्षेणिक मनोरन्जन मात्र हुन । हजार जनाले पढेको उट्पट्याङ्ग लेखभन्दा केही जनाले पढेको सारगर्भित लेख मार्मिक र प्रेरक हुन्छ । जीवन बुझ्न सहयोग गर्ने लेख “पोस्ट” गर्ने ती महान गुरुहरुलाई नमन गर्दै निरन्तर सन्जालमा सकृय रहन विनम्र निवेदन गर्दछु ।

-भागवत खनालको फेसबुक बाट साभार