स्तनपानः आमा र शिशु दुवैलाई फाइदा
शिशुलाई जन्मेको दुई वर्षसम्म आमाको दूध ख्वाउन सल्लाह दिने डा. लक्ष्मी लामिछाने (नाम परिवर्तन)ले आफ्नो शिशुलाई भने जन्मेको दुई महिनासम्म मात्र स्तनपान गराइन् ।
पढाइ सकेर भर्खर मात्र काम थालेकी लामिछानेले आफू चिकित्सक भएका कारण शिशुलाई स्तनपान गराउन समस्या भएको बताउँछिन् । अस्पतालमा कहिले राति त कहिले ४८ घण्टासम्म काम गर्नुपर्ने भएकाले सुरुको दुई महिना मात्र स्तनपान गराएको र पछि नखुवाउने निधो गरेको उनले बताइन् ।
चिकित्सक लामिछाने भन्छिन्, “सबैलाई कम्तीमा पनि दुई वर्षसम्म स्तनपान गराउनुपर्छ भनेर सल्लाह दिएँ तर आफँैले खुवाउन नपाउँदा धेरै पीडा भयो । ” शिशुलाई स्तनपान गर्न नदिएपछि दूध गानिएर स्तनको शल्यक्रियासमेत गर्नु परेको नमीठो अनुभव उनको छ ।
महिलाले बाध्यताले स्तनपान गराउन नपाएका यस्ता उदाहरण धेरै छन् । स्तनपानमैत्री कार्यालय नहुनु, फेसनमा बोतलबाट दूधपान (बोतल फिडिङ) गराउनु तथा उचित परामर्शको अभावमा आमाहरूले स्तनपान कम गराउने गरेको उनको अनुभव छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको परिवार स्वास्थ्य महाशाखाका निर्देशक डा. आरपी विच्छाले विगत १० वर्षको तुलनामा हाल स्तनपान गराउनको सङ्ख्या दिनप्रतिदिन घटिरहेको जानकारी दिइन् ।
उनका अनुसार स्तनपान’bout दुईवटा कुरा थाहा पाउनैपर्छ । पहिलो, जन्मेको एक घण्टाभित्र स्तनपान गराइसक्नुपर्छ भने दोस्रो, छ महिनासम्म दूध मात्र खुवाउनुपर्छ । तर दुर्भाग्यवश यो दुवै घट्दो अवस्थामा छ । यो समाचार आजको गोरखापत्र दैनिकमा यलु जोशीले लेखेकी छिन् ।