योगेशको मन्त्री पदः ओलीले बचन दिए, प्रचण्डले पूरा गरे !
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य योगेश भट्टराईले हिजोबाट ‘सिंहदरबारकाे यात्रा’ गर्ने पहिलाे माैका पाए । तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि उक्त मन्त्रालय खाली थियो । खाली मन्त्रालयमा भट्टराई चान्स त पाए तर त्यहाँ चुनौतीका चाङ भने छन् । चुनौतीको चाङमध्ये तीन प्रमुख वाइडबडी, गिरेको वायु सेवा निगमको साख र अर्काे चुनाैती भनेकाे भ्रमण वर्ष सन् २०२० सफल पार्नु हो ।
नेकपाभित्र माधवकुमार नेपाल समूहको रुपमा चिनिन्छन् । उनले पछिल्लो समय नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग राम्रो सम्बन्ध बनाएको पनि चर्चा हुने गरेको थियो । त्यसोत तत्कालिन माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्ध अहिले पनि नेकपाभित्र प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले सहजै स्वीर्कादैनन् । पार्टी एकता भएपछि पनि पूर्वमाओवादी समूहले फागुन १ गते जनयुद्ध दिवस मनाउँदै आएको छ । तर उक्त कार्यक्रममा ओली अहिलेसम्म देखिएका छैनन् । गत वर्षको जनयुद्ध दिवसको कार्यक्रम ओलीले ‘बहिस्कार’ गरेको चर्चा चलिरहँदा प्रचण्डसँगै भट्टराई पनि पुगेका थिए । प्रचण्ड पुग्ने पार्टीको काठमाडौंमा हुने प्राय कार्यक्रममा भट्टराई उपस्थित भएका हुन्थे ।
त्यसोत भट्टराईलाई मन्त्री बनाउन प्रचण्डले तिब्र दबाब दिएको पूर्वमाओवादीभित्र चर्चा चल्न शुरु गरेको छ । केहि महिना अघि प्रचण्डले भट्टराईलाई अब मन्त्रीमण्डल बिस्तार हुने बेला जसरी पनि समावेश गराउने बचन दिएको पनि समाचार सार्वजनिक भएका थिए । भट्टराई मन्त्रीको रुपमा सपथ गरिरहँदा प्रचण्ड भने दुबइमा थिए ।
प्रतिनिधिसभाको चुनावको बेला ओली ताप्लेजुङको चुनावीसभामा सहभागी भएका थिए । उक्त चुनावीसभामा भाषण गर्दै ओलीले भनेका थिए ‘योगेशलाई चुनाव जिताएर पठाउनुस्, मन्त्री बनाएर फर्काउँछु ।’ ओलीको यो भाषण पहिलो पटक मन्त्रीमण्डल गठन गर्ने बेलामा निकै चर्चामा आयो । पहिलो पटक मात्रै हाेइनन् छैठौं पटक मन्त्रीमण्डल विस्तार हुँदासमेत भट्टराई ओली नेतृत्वको सरकारमा मन्त्री बन्न सकेनन् । अहिले सातौं पटक मन्त्रिपरिषद् विस्तारमा भने भट्टराइले न्याय पाएका छन् ।
‘आफ्नै कारणले मन्त्री बन्न ढिला गरे’
नेकपाका केन्द्रीय सदस्य रहेका सुर्य थापाले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै भट्टराईकै कारणले मन्त्री बन्न ढिलाई भएको बताएका छन् । थापाले लेखेका छन् ‘यो जिम्मेवारी कम्तीमा ४ महिनाअघि नै आएको थाहा थियो । त्यतिबेला भएको भए नीति, कार्यक्रम र बजेट निर्माणमा भूमिका हुन्थ्यो र अहिले काम गर्न धेरै सहज हुन्थ्यो । आफ्नै कारणले मन्त्री बन्न ढिलो भयो । आज यथार्थको धरातलमा उभिएर मन्त्री हुनुभएको छ। गन्तव्य एक थान मन्त्री हुनु मात्र किमार्थ होइन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुने साविक नेकपा (एमाले) धाराको तपाईं ११ औं व्यक्ति हो । यो मन्त्रालय सम्हालेर र सम्हालिएर अघि बढेका नेताहरुको राम्रैसँग उन्नति र प्रगति भएको छ । आफ्नो विवेक र संस्थागत निर्णयका साथ कार्य गरेर अघि बढ्नचाहि धेरै जरूरी छ । खासमा मन्त्री र सेलिब्रेटी दुबै एकसाथ हुन संभव नहोला । ’cause, अब वास्तविक परीक्षा शुरू भएको छ । योग्यता, क्षमता र कार्यसम्पादनको समस्या र कमी छैन र होइन । प्रतिकूलताको सामना गर्न आवश्यक आँटको कमी पनि छैन, तर परिणाम निकाल्ने सुझबुझ र सामर्थ्यचाहि व्यवहारमा नै देखिनु अपरिहार्य छ । त्यहाँ अनेकन् एम्बुसहरू थापिएको स्पष्टै छ, माफिया र स्वार्थ समूहका घेराबन्दीलाई छिचोल्नुपर्छ ।’
संघर्षकाे कथा
२०२३ भदौ २१ गते ताप्लेजुङको साँघु (मैवाखोला गाउँपालिका–३) मा आमा महेन्द्रादेवी र बुबा स्व. भीमलालका कान्छा छोराका रूपमा जन्मिएका भट्टराई मध्यमवर्गीय परिवारका हुन् । भट्टराईले २०५१ सालमा ताप्लेजुङ ढुंगेसाँघु निवासी विन्दा घिमिरेसँग विवाह गरेका हुन्।
२०३६ सालको विद्यार्थी आन्दोलनको रापताप विस्तारै गाउँसम्म फैलिँदै थियो । गाउँसम्म अनेरास्ववियुको चर्चा हुँदै थियो । पञ्चायती व्यवस्थाविरुद्ध गाउँगाउँबाट उठ्नुपर्ने सन्देश मादीसम्म त्यतिबेला पुगिसकेको थियो । पञ्चायती व्यवस्थाविरुद्ध २०३७ चैत १४ मा पहिलोपटक अनेरास्ववियुले हामहडताल ग-योे । नेपालकै पहिलो ऐतिहासिक हडताल सफल पार्न उनी सक्रिय रूपमा सहभागी भए । संगठित हिसाबले उनको राजनीतिक यात्राको आरम्भ पनि त्यही थियो ।
एसएलसीपछि उच्च शिक्षाका लागि २०४० सालमा राजधानीको ताहाचलस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसमा भर्ना भएका उनी पञ्चायती व्यवस्था विरोधी आन्दोलनका क्रममा (विषाक्त दूधका विरुद्धको आन्दोलन) १८ वर्षको उमेरमा नै पहिलोपटक काठमाडौंको केन्द्रीय कारागारमा थुनिएका थिए । २०४१ सालमा महेन्द्ररत्न क्याम्पसको स्ववियु निर्वाचनमा उपसभापति र २०४३ सालमा सभापति पदमा अत्यधिक मतले विजयी भएका थिए ।
पञ्चायती व्यवस्था र राजतन्त्रविरुद्ध दृढतापूर्वक अघि बढ्दै जाँदा उनले थुप्रैपटक जेलनेल र कठोर यातना भोगेका थिए । जेल बसाइका बेला झापा संघर्षका चर्चित अगुवाहरू केपी ओली (हालका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष), आरके मैनाली, मोहनचन्द्र अधिकारीलगायत राजनीतिक बन्दीहरूसँग नजिकबाट अन्तक्र्रिया गर्ने अवसर पाए ।
२०४६ सालदेखि अनेरास्ववियुको केन्द्रीय कमिटीमा काम गरेका भट्टराई संगठनको कार्यालय सचिव, प्रचार विभाग प्रमुख, सचिव र महासचिव हुँदै २०५१ देखि २०५६ सालसम्म अध्यक्ष रहे । मदन भण्डारी र जीवराज आश्रितको रहस्यमय हत्याविरुद्धको आन्दोलनमा अगुवाइ उनले नै गरेका थिए । यस्तै, अनेक आन्दोलनबाट खाँरिदै, माझिँदै युवा जोस र उत्साहका साथ अघि बढिरहेका भट्टराईले खासगरी २०५०÷५१ सालतिर शिथिल भएको नेपाली विद्यार्थी आन्दोलनलाई नेपाली समाजमा पुनःस्थापित गराए ।
भट्टराईले २०६२/६३ मा सम्पन्न ऐतिहासिक जनक्रान्तिमा नेकपा (एमाले) को काठमाडौं उपत्यका कमिटीको सचिवका रूपमा आन्दोलनको संयोजन र परिचालनमा कमान्डरको भूमिका निर्वाह गरेका थिए । आन्दोलनमा उपत्यकाभित्र अन्य राजनीतिक दल, नागरिक समाज तथा १२ बुँदे सहमतिपश्चात् तत्कालीन माओवादीलाई समेत समन्वय गर्न अग्रणी भूमिका खेलेको चर्चा चलेको थियो ।