सरकार पूर्व राजालाई थुन्न चाहन्थ्यो तर किन सकेन ?

 नेकपा सरकारले ठूलै गृहकार्यपछि पूर्व राजा ज्ञानेन्द्र शाहलाई गिरफ्तार गरी नजरबन्द गर्न चाहे पनि अन्तिम समयमा रोक्न वाध्य भएको बुझिएको छ ।

 देशका सबै भूभागमा पुगेर मठमन्दिर देवदेवालयको दर्शनसँगै स्थानीय जनतासँग घुलमिल हुनथालेका पूर्व राजाले शक्तिमा फर्किन जनभावना बुझ्दै हिँडेको निष्कर्ष निकालेर सरकार शाहलाई नजरबन्दमा राख्न तयार भैसकेको थियो ।

 पूर्व राजालाई गिरफ्तार गरी नजरबन्दमा राख्ने अन्तिम तयारी भैसकेको सूचना चुहिए लगत्तै सरकारमाथि थामिनसक्नुको दवाव परेपछि सबै तयारी स्थगित गरिएको एक उच्च सूत्रले सरल पत्रिकासँग बताएको छ ।

उच्च सुरक्षा निकायबाट अवकाश प्राप्त एक समाचार सूत्रका अनुसार, नेकपा अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहालवीच पूर्व राजाको देश दौडाहामाथि कुनै न कुनै किसिमको नियन्त्रण आवश्यक भएकाले गणतन्त्रविरुध्द जनभावना भड्काउन प्रयाश गरेको अभियोग लगाएर भएपनि नजरबन्दमा राख्ने बिषयमा सहमति बनेको थियो । यसका लागि सुरक्षा निकायका खास अधिकारीहरुलाई ब्रिफिङ समेत गरिसकिएको सूत्रको दावी छ ।

बैंकक दौडाहा

 पूर्व राजा शाहको थाइल्याण्डको राजधानी बैंकक दौडाहा यता आएर बाक्लिँदै गएको छ । अबको बैंकक यात्रा यसै महिनाकोे अन्तिम सातालाई जुराइएको बुझिएको छ ।

 केही महिना अघि पूर्व राजा शाहको देश दौडाहाबाट तनावमा परेको सरकार उनको बैंकक यात्राबाट समेत सशंकित बनेको बुझिएको छ । देशभित्र र बाहिर पनि पूर्व राजा शाहका भ्रमण र भेटघाट बाक्लिँदै गएपछि सरकार फेरि तनावमा परेको बताईन्छ । 

 शाहको बैंकक भ्रमण यो नै पहिलो भने होइन । यो एक वर्षको अन्तरालमा शाहबाट तीनपटक बैंकक यात्रा भइसकेको छ । उनकी नातिनी पूर्णिका हाल बैंककमै अध्ययनरत छिन् । साउनको अन्तिम साता हुने भ्रमणमा राजनीतिक  भेटघाट समेत हुनसक्ने जानकार सूत्र बताउँछ । 

हालै भारतीय गुप्तचर संस्था रअका प्रमुख र भारतीय जनता पार्टीका वरिष्ठ नेताको काठमाडौं भ्रमणमा नेपाललाई हिन्दू राष्ट्र नै कायम गर्नुपर्ने जोड सहित यहाँका सबैजसो नेतासँग गम्भीर कुराकानी भएको कुरा प्रकाशमा आईसकेकै छ । उनीहरुले धर्म निरपेक्षता र संघीयतालाई क्रमश बिस्थापित गरेपछि स्वतःराजसंस्था पुनस्थापनाको मार्ग प्रशस्त हुने भनी नेताहरुवीचमै कुराकानी गरेको भनिएको सन्दर्भमा पूर्वराजाको सम्भावित राजनीतिक भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको बुझिएको छ । 

सरकारले मित्र राष्ट्र भारत सरकारले नै नेपालका सन्दर्भमा गम्भीर चासो राखेको बुझेपछि पूर्व राजालाई नजरबन्दमा राख्ने तयारीबाट पछि हटेको समाचार सूत्रको भनाई छ ।

 एक महिनाअघिमात्र पूर्व राजा दुई साता बैंकक बसेर स्वदेश फर्किएका थिए ।