अरनिकोले नेपाललाई चीनमा चिनाए

वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीले आजभन्दा ७०० वर्षअघि नै देशका विभूति अरनिकोले चीनमा गएर नेपालको कला, संस्कृति तथा बुद्धको चैत्यसम्बन्धी आफ्नो सिर्जनात्मक कला प्रस्तुत गरेर नेपाललाई चीनमा परिचित गराएको बताउनुभएको छ । उहाँले अरनिकोले आठ वर्ष लगाएर चीनमा विशाल चैत्य बनाएको र यसले नेपाल–चीनबीचको मित्रतालाई जनस्तरमा विस्तार गरेको उल्लेख गर्नुभयो ।
साहित्यकार कलाधर काफ्लेको सेक्सपियरको देशमा नामक पुस्तकको शनिबार विमोचन गर्दै शताब्दी पुरुष जोशीले नेपालले अरनिकोको पालादेखि नै नियात्राको विकास गरेको स्मरण गर्नुभयो । उहाँले विश्वमा पहिलोपटक इटलीका विश्व प्रसिद्ध साहित्यकार मार्कोपोलोले विश्वमा पहिलोपटक नियात्रा सङ्ग्रह प्रकाशित गरेको र यसको फाइदा कोलम्बसलाई अमेरिका पत्ता लगाउन सजिलो भएको चर्चा गर्नुभयो ।
जोशीले नियात्राकार, अनुसन्धानकर्ता तथा लेखक मार्कोपोलोले चीनको यात्रा गरेर चीन’bout युरोपलाई ज्ञान दिएको र सोही समयमा अरनिकोले चीनमा नेपालको प्रचार गरेको स्मरण गर्नुभयो । विश्वप्रसिद्ध साहित्यकार सेक्सपियरको सम्झनामा शीर्षक दिइएको सो पुस्तकमा चार खण्ड रहेको छ । १५ यात्रा निवन्ध, बेलायतका यात्राका क्रममा रहेका तस्वीरहरु तथा परिचय पुस्तकमा रहेको छ । सेक्सपियरका आम्र्ज एण्ड दि म्यान विश्वप्रसिद्ध नाटक हुन् ।
त्यस्तै पुस्तकमा सेक्सपियरप्रतिको सम्मान, नेपालमा कर्मचारीको अवस्था, तथा उनीहरुका खराब व्यवहार वर्णन गरिएको छ । कार्यक्रममा समीक्षक रामप्रसाद ज्ञवालीले पुस्तकमा बेलायतयात्रा र सेक्सपियरको वर्णन राम्रोसँग गरिएको बताउनुभयो । डा घनश्याम खतिवडाले देशमा रहेका विभिन्न कला, साहित्य तथा भाषाले बाहिरी विश्वमा परिचित गरेको बताउनुभयो ।
कार्यक्रममा दायित्व वाङ्गमय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, साहित्यकार जीवेन्द्रदेव गिरी, साहित्यकार वासुदेव त्रिपाठी, लेखक कलाधर काफ्ले, कवि ठाकुर शर्मालगायतका वक्ताले निवन्धको विविध पक्षमा प्रकाश पार्नु भएको थियो ।