तुरतुरे ताल फुट्यो
बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमानामा बनेको तुरतुरे ताल फुटेको छ। राति ताल फुटेपछि तालमा पानी ह्वात्तै घटेको बडिगाड गाउँपालिका अध्यक्ष मेयरसिंह पाइजाले जानकारी दिए । ‘तालको धेरजसो पानी घटेको छ,’ पाइजाले भने, ‘पहिरोले सडक अवरुद्ध भएका कारण ताल भएको ठाउँमा पुग्न त सकिदैन। वारिबाटै हेर्दा पानीमा डुबेका रुखहरु सबै देखिन थालेका छन् । ’
राति वर्षा भएपछि खोलामा पानी सतह बढेको छ । वर्षाका कारण तालभन्दा केही मध्यहाडी लोकमार्ग भासिएर खोलामा झरेको छ । पहिरोका कारण ताल फुटेको हुनसक्ने बताइएको छ। रातिको समयमा ताल फुटेर बडिगाड खोलामा पानीको बहाव बढेर आएपछि तल्लो तटीय क्षेत्रका स्थानीय रातभर जाग्राम बसेका थिए । तुरतुरेभन्दा तल रहेका भिङगाड, भिङखाल, खार र खर्वाङ बजार लगायत क्षेत्रका स्थानीय रातभर नसुतेको खर्बाङबाट कमल पौडेलले जानकारी दिए। ‘अहिले पनि पानी परिरहेकाले गर्दा पहिरो भएको ठाउँमा जान सकिएको छैन,’ उनले भने,‘राति दुई बजेतिरबाटै हामी जाग्राम बसेका छौं ।
’तालमा पानीको सतह बिस्तारै घट्दै गएकाले आत्तिनुनपर्ने प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताए । ‘ताल एकैपटक फुटेको होईन, विस्तारै पानी बग्दै गएको भन्ने जानकारीमा आएको छ,’ उनले भने,‘अहिलेसम्मको जानकारीमा ६० प्रतिशत जति तालको पानी बगेको भन्ने छ।