प्रचण्डको त्यो डिजाइनः जसले चम्किन सक्छ वामदेवको भाग्य !

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र पार्टी विभाग र केहि संगठनको नेतृत्व चयनमा तिब्र विवाद छ । नेकपाभित्र रहेको ३२ विभागमध्ये सबैभन्दा बढी विवाद स्कूल विभागमा रहेको छ ।

उक्त विभागमा तत्कालिन नेकपा एमाले र माओवादी दुबै पार्टीको दाबी रहेको छ । तत्कालिन एमालेबाट स्कूल विभागमा रक्षामन्त्रीसमेत रहेका नेकपाका सचिवालय सदस्य इश्वर पोखरेलको प्रमुख दाबी रहेको छ । पार्टी एकिकरण नटुंगिदैं जनताको बहुदलिय जनवाद (जवज)को मुद्दा उठाउँदै आएका पोखरेल पूर्वएमाभित्र प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली समूहका हुन् । पूर्वमाओवादीबाट स्कूल विभागमा नेकपाका प्रवक्तासमेत रहेका सचिवालय सदस्यसमेत रहेका नारायणकाजी श्रेष्ठलाई अघि सारिएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्रेष्ठलाई अघि सारेका हुन् । पछिल्लो समय पूर्वएमालेबाट घनश्याम भुसालले पनि स्कूल विभागमा दाबी गर्दै आएका छन् ।

केहि समयअघि प्रचण्डलाई समर्थन गर्दै आइरहेका सचिवालय सदस्य अहिले ओली समूहतीर गएको समाचारहरु सार्वजनिक भइरहेका छन् । नेकपाका एक स्थायी कमिटी सदस्यका अनुसार स्कूल विभाग सकभर पूर्वमाओवादीले लिन अन्तिमसम्म प्रयास गर्ने पक्षमा प्रचण्ड रहेका छन् । तर पोखरेलाई कुनै हालतमा स्कूल विभाग नदिने भन्ने पक्षमा प्रचण्ड रहेको ति सदस्यले बताए । ति सदस्यका अनुसार माओवादीले स्कूल विभाग नपाए वामदेव गौतमलाई जसरी पनि दिलाउने पक्षमा छन् । ‘अहिले गौतम ओलीतिर ढल्किएका होइनन्, ढल्काइएका हुन् । जसले स्कूल विभागमा सहजै इन्ट्री होस् भन्ने प्रचण्डको लाइन हो । अहिले पनि प्रचण्ड जसरी हुन्छ गौतमलाई सांसद र विभाग प्रमुख बनाउने लाइनमै छन् ।’

पार्टी एकताको बेला एमाले र माओवादीबीच भएको सहमतिपत्र केहि समयअघि मात्रै सार्वजनिक भएको थियो । उक्त सहमतिको बुदाँ नम्बर ४ मा ओली–प्रचण्डले आलोपालो प्रधानमन्त्री र पार्टी अध्यक्ष हुने उल्लेख थियो । उक्त सहमतिपत्र बाहिरिए लगत्तै गौतमले प्रचण्डको पक्ष लिएर सहमति अनुसार चल्नुपर्ने सार्वजनिक कार्यक्रममा बोल्दै हिडेका थिए ।

आउँदो मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका गौतम यो पटक उपनिर्वाचनमा टिकट लिनका लागि पनि प्रचण्ड–ओली दुबै अध्यक्षसँग नजिक हुन बाध्य छन् । यसअघि पनि काठमाडौं–७ का सांसद रामविर मानन्धरलाई राजीनामा गराएर गौतमलाई सांसद बनाउने खेलमा प्रचण्ड लागेका थिए । मानन्धरले प्रचण्ड निवासमा पुगेर गौतमका लागि सांसद पद नै छाड्ने सहमतिसमेत गरेका थिए । तर ओली नमानेपछि गौतमको संसद यात्रामा ब्रेक लागेको थियो ।