फिल्म छनोटमा केकीको हेलचेक्राइ !

नेपाली फिल्म क्षेत्रमा केकी अधिकारी बौद्धिक अभिनेत्रीको रुपमा चिनिएकी छन् । उनको सुन्दरता, बौद्धिकता र अभिनय कलालाई दर्शकले निकै मन पराउँछन् । म्यूजिक भिडियो हुँदै फिल्ममा प्रवेश गरेकी उनले छोटो समयमा नै नेपाली फिल्ममा आफूलाई स्थापित गर्न सफल भइन् । जीवन्त अभिनयको माध्यमबाट दर्शकको मनमा विराजमान भइन् । तर, उनले आफ्नो साख जोगाइराख्न सकिनन् । 

अभिनयको पारंगत मानिने उनले संख्यात्मक अभिनयमा जोड दिँदा करिअर नै सम्हाल्न नसक्ने गरि भद्रगोल भएको छ । करिअरको उत्कर्षमा रहँदा केकीले फिल्म छनोटमा हेलचेक्राइ गरिन्, जसको प्रतिफल अहिले उनले राम्रैसँग चुकाउनु परेको छ । न अहिले उनको स्टारडम जीवित छ न त डिमान्ड लोभलाग्दो छ । यद्यपि, सानातिना भए पनि उनको हातमा फिल्म टुटेका छैनन् । तर, ती फिल्म हलमा आएको/गएकै पत्तो हुँदैन ।  

 फिल्म ‘रातो गलबन्दी’ एक उदाहरण हो । यसमा केकी प्रमुख भूमिकामा छिन् । यो फिल्म गएको शुक्रबार प्रदर्शनमा आयो । तर, फिल्म हलमा लागेको र उत्रिएकै दर्शकलाई थाहा भएन । उक्त फिल्म हलमा एक शो पनि मुश्किलले चल्यो कि ? फिल्ममा केकीको अपोजिटमा अभिनेता कोशिश क्षेत्री छन् । फिल्म कमजोर छ भन्ने जानेरै होला उनी प्रचारमै हिँडिनन् । तर, फिल्म पिटिएपछि अवजसको भारी बोक्दिनँ भन्न पाइएन केकीजी ! ‘रातो गलबन्दी’ उनले ६ लाख पारिश्रमिकमा गरेको चर्चा छ । फेसबुक लाइक्स, ट्विटर र इन्स्टाग्राममा फलोअर्स हेर्ने हो भने उनका लागि यो पारिश्रमिक निकै कम हो ।

तर, उनको मार्केट भ्यालुको आधारमा उक्त रकम धेरै ठूलो रहेको कतिपयको तर्क छ । ६ लाख लिएपछि उनले हलमा १२ देखि १५ लाखको दर्शक तान्न सक्नुपर्छ । तर, यस फिल्मले भित्तामा पोस्टर टाँस्नका लागि बनाएको माडको पैसा पनि उठाएन हम्मेहम्मे पर्ने देखिन्छ ।  यसरी नै पैसाका लागि फिल्म छनोटमा हेलचेक्राइ गर्दै जाने हो भने एकदिन केकी आफैं आफ्नो करिअर देखेर चुकचुकाउनु पर्ने अवस्था नआउला भन्न सकिन्न । उनी समयमै सम्हालिन आवश्यक छ । त्यसै त अभिनेत्रीको करिअर लामो हुँदैन भनिन्छ । यही शैली हो भने केकीको करिअर पनि हेर्दा हेर्दै डुब्नेमा शंका छैन । आशा गरौं, दशैंमा रिलिज हुने दीपकराज गिरी समुहको फिल्म ‘छ माया छपक्कै’ ले उनको गुम्दै गएको साख फिर्ता गर्नेछ । 

– फिल्मीखबर