त्रिशूली नदीमा सवारी दुर्घटना नरोकिनुका पाँच कारण

बिबिसी-पृथ्वी राजमार्गको धादिङ खण्डबाट शुक्रवार सबेर एउटा यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा नौ जनाले ज्यान गुमाएका छन् भने अझै करिब २० जना बेपत्ता रहेको अधिकारीहरूले बताएका छन्।

गएको जेठ महिनामा पनि धादिङमै त्रिशूली नदीमा काँकडभिट्टाबाट राजधानी आइरहेको अर्को यात्रुवाहक बस खस्दा कम्तीमा १५ जनाको ज्यान गएको थियो।

विसं २०७५ श्रावणदेखि त्रिशूली नदीमा साना ठूला गरी १९ वटा सवारीसाधन खस्दा ५१ जनाले ज्यान गुमाएका छन् भने ९० जना घाइते भएको प्रदेश नं ३ ट्राफिक कार्यलयले जनाएको छ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङ र चितवन सडकखण्डका केही स्थानमा दुर्घटनाको जोखिम उच्च रहेको ठानिन्छ।

ट्राफिक अधिकारीहरूका अनुसार पछिल्लो एक वर्षमा धादिङमा ९५ वटा र चितवनमा ९२ वटा दुर्घटनाहरू भएका छन्। ती दुर्घटनामा कम्तीमा ११६ जनाको मृत्यु भएको र ६२३ जना घाइते भएका थिए।

राजधानी काठमाण्डूलाई देशका अन्य ठाउँहरूसँग जोड्ने पृथ्वीराजमार्गमा सवारी दुर्घटना हुनुका पाँच मुख्य कारणहरू यस्ता छन्:

१) चालकको लापर्बाही
ट्राफिक अधिकारीहरूका अनुसार धादिङमा त्रिशूली नदीमा बस खसेका पछिल्लो दुई ठाउँहरू दुर्घटनाको जोखिम भएका स्थानहरू होइनन्।

शुक्रवार बिहान तीन बजे दुर्घटनाग्रस्त भएको बस महोत्तरीबाट काठमाण्डू आइरहेको थियो।

धादिङको गजुरीस्थित ट्राफिक प्रहरी प्रमुख नेत्रप्रसाद भट्टका अनुसार दुर्घटनास्थल थोरै उकालो क्षेत्रमा रहेपनि त्यहाँ कुनै घुम्ती छैन्।

बसका यात्रुहरूले गाडी तीव्र गतिमा हुँइकिएको र थकानका कारण चालक निदाएको हुनसक्ने प्रहरीलाई बताएका छन्।

सरकारले दुई सय ५० किलोमिटरभन्दा लामो दुरी तय गर्दा ठूला सवारीसाधनले अनिवार्य रूपमा दुईजना चालकहरू राख्नुपर्ने व्यवस्था गरेको छ।

महोत्तरीबाट आइरहेको बसमा दुईजना चालक भएपनि एक जनाले मात्रै गाडी कुदाएको पाइएको भट्टको भनाइ छ।

लामो दुरी पार गरेर राजधानी भित्रिने क्रममा पृथ्वी राजमार्ग पार गर्दा चालकहरू निदाएका कारण दुर्घटना भएका खबरहरू बेला बेला आइरहन्छन्।

यातायात व्यवसायीहरू पनि त्यसमा आंशिक सत्यता रहेको स्विकार्छन र त्यसलाई रोक्न आफूहरूले विभिन्न जानकारीमूलक अभियान चलाएको बताउँछन्।

२) सडकको जीर्ण अवस्था
राजधानीको जीवनसँग प्रत्यक्ष रूपमा जोडिने भएपनि दुई लेनको उक्त सडकको अवस्था लगभग जीर्ण बनिसकेको अधिकारीहरू स्विकार्छन्।

अत्यधिक भार बोकेका सवारीसाधनहरूका कारणले राजधानी प्रवेश गर्ने लेनमा सडकको सतह निकै बिग्रिएको छ।

सडक विभागका प्रवक्ता शिवहरी सापकोटा भन्छन्, “हामीले हाम्रो स्रोत र साधनले भ्याएसम्म मर्मत सम्भारको काम गरिरहेका छौँ।”

“तर राजधानी प्रवेश गर्ने मूल राजमार्ग भएकाले दुई लेनले भ्याउँदैन। हामीले यो सडकलाई पुनर्निर्माण गर्नुपर्ने वा विस्तार गर्नुपर्ने कुरामा जोड दिइरहेका छौँ।”

एक वर्ष धादिङमा काम गरेका एक सुरक्षा अधिकारीका अनुसार धेरै भार बोक्ने १६ देखी २० चक्के भारतीय मालवाहक ट्रकहरूको चाप बढ्दै जाँदा त्यसले सडकलाई कमजोर बनाएको देखिन्छ।

राजमार्गमा सवारीसाधनले बोक्न पाउने वजन’bout सरकारी मापदण्ड रहेपनि वजनको जाँच गर्ने वा कडाइ गर्ने गरेको पाइँदैन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका निवर्तमान अध्यक्ष डोलनाथ खनाल भन्छन्, “सडक जीर्ण छ, त्यही भएर कहाँ कसरी के हुन्छ भन्ने ठेगान छैन।”

“सडकको स्तर सुधार गर्दा पनि पृथ्वी राजमार्गमा धेरै दुर्घटना रोक्न सकिन्छ।”

३) कठिन घुम्ती, साँघुरो पुल र तीव्र गति
दैनिक हजारौँ सङ्ख्यामा सवारीसाधनले राजधानी प्रवेश गर्ने पृथ्वी राजमार्गमा साँघुरो घुम्तीहरू रहेका छन्।

माथि अग्लो भीर र तल नदी रहेको उक्त राजमार्गमा गन्तव्यमा चाँडो पुग्ने होडबाजीले द्रुत गतिमा गाडी चलाउँदा पनि दुर्घटना हुने गरेको सुरक्षा अधिकारीहरू बताउँछन्।

घुम्ती मात्र नभइ पुल समेत साँघुरो रहेकाले त्यसकै कारणले पनि दुर्घटना भएका प्रदेश नं ३ का ट्राफिक प्रहरी प्रमुख नवीन राई बताउँछन्।

राईका अनुसार उक्त राजमार्गमा कतिपय ठाउँमा बनाइएका पुलहरू निकै छोटा छन् जसले गर्दा ठूला सवारीसाधनले मोड्न समेत पर्याप्त स्थान पाउँदैनन्।

४) दक्ष चालकको अभाव
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका निवर्तमान अध्यक्ष खनाल दक्ष चालकको अभावका कारण पनि दुर्घटना हुने गरेको बताउँछन्।

उनी भन्छन्, “अधिकांश अवस्थामा दुईवटा चालक राख्ने नियम पनि पालना भएका छन् तर सरकारले सात वर्ष ठूला सवारीसाधनका चालकहरूको लागि अनुमतिपत्र जारी नगर्दा चालकको उत्पादन नै रोकियो।”

“त्यसले गर्दा सवारीसाधन हाँक्ने जनशक्तिको अभाव रहेको छ।”

उनका अनुसार महासङ्घले चालकलक्षित सचेतना तथा जानकारीमूलक अभियानहरू चलाउँदै आएको छ।

५) सङ्केत चिन्ह र बत्तीको अभाव
सडक सुरक्षाका लागि राजमार्गमा ट्राफिक बत्ती, सङ्केत चिन्ह, सडक रेखा र अन्य पूर्वाधारहरू दुरूस्त हुनुपर्छ।

तर पृथ्वी राजमार्गमा कृष्णभीरसहित पहिरोको जोखिम रहेका कैयौँ स्थानहरू छन् जहाँ त्यस्ता चिन्हहरूको अभाव रहेको अधिकारीहरू नै स्वीकार गर्छन्।

सडक विभागका प्रवक्ता सापकोटा सडकको नियमित मर्मत गर्ने र त्यहाँ आवश्यक सङ्केत चिन्ह राख्ने कुरालाई प्राथमिकतामा राखिएको बताउँछन्।

‘ब्ल्याक स्पट’ भनिने सम्भावित दुर्घटनाक्षेत्रहरूमा त्यस्तो चिन्हहरू राखिएको प्रदेश नं ३ का ट्राफिक प्रहरी प्रमुख राई बताउँछन्।

उनका अनुसार चितवनमा कालीखोला, घुमाउने, जलविरे, फिस्लिङ र कुरिनटार क्षेत्र एवम् धादिङमा बाङ्गे झोडा, हुगडी खोला मोड, खत्री पौवा, विशालटार मोड, जहरे र हिल्टेकमोडलाई दुर्घटना जोखिम क्षेत्रका रूपमा घोषणा गर्दै सावधानी अपनाउन सङ्केत चिन्हहरू राखिएका छन्।