राजाले खोक्दा पनि किन तर्सिन थाले शक्तिशाली नेता ?
योगी नरहरिनाथ पिताजीलाई भेट्न आइरहन्थे, आमाले र दाइ दिदीहरूले चर्चा गर्दा मैले योगीजीको नाउँ थाहा पाएको थिएँ ।
योगी राजा महेन्द्रका उच्च प्रसंशक थिए तर एकचोटी राजा महेन्द्रले उनलाई लामै समय (निश्चित अवधि सम्झना भएन) थुनिदिएका थिए । उनै नरहरिनाथ थुनामुक्त भएछन् र डिल्ली बजारको सांस्कृतिक केन्द्रमा उनको भाषण हुने भएछ ।
तिथि मिति सम्झना छैन, म स्कूलमै पढ्थें जस्तो लाग्दछ,बासु दाइ (बासुदेव आचार्य, बोहोरेटार) हो वा अरू नै कोही अग्रजसँगै म पनि उक्त स्थलमा पुगेँ ।
त्यहाँ नरहरिनाथले भनेका अरू कुरा सम्झना भएन तर उनले भनेको एउटा कुरा भने मेरो मनमा गडेर बसेको छ ! उनले भनेका थिए– राजाको झन्डा र राष्ट्रको झण्डा फरक हुनुहुन्न !
स्मरणीय छ, नेपालको राष्ट्रिय झण्डा भन्दा राजाको झण्डा फरक थियो, राजाको झण्डामा सिंहले झण्डा समाएको देखिन्थ्यो । लाग्दछ, यिनै आधारमा उनले राजा महेन्द्रको आलोचना गरेका थिए र उनी थुनिए ।
अहिले मुलुकका अत्यधिक ठूलो सङ्ख्याका जनताको धर्म र शासक समुदायको धर्म फरक छ, विश्वास र आस्था फरक छ । उनीहरू इश्वरको नाउँमा पद–ग्रहणको शपथ लिँदैनन् । आम जनताको विश्वाससँग जोडिन नै चाहन्नन् ।
एउटा सानो तर विदेशी शक्तिको भर र बल पाएको समूह र समुदायसँग मात्रै जोडिन चाहन्छन् उनीहरू । त्यसैबाट शासकीय शक्ति प्राप्त हुने विश्वास उनीहरूको देखियो । उनीहरू जनताको आस्था र भावनाको प्रतिनिधित्व नै गर्दैनन् । त्यसैले जनताले उनीहरूलाई आफ्नो मान्न सकिरहेका छैनन् ।
एकचोटी भारतीय प्रधानमन्त्री राजिव गान्धीलाई शान्ति निकेतनका विद्यार्थीहरूले सोधे– तपाइँ ईश्वर मान्नुहुन्न तर पनि मन्दिर जानुहुन्छ नी ?
गान्धीको जवाफ थियो– ‘हो म ईश्वर मान्दिन तर मेरो देशका करोडौं जनताको धार्मिक भावनाको सम्मान गर्न र म मन्दिरमा जान्छु, जहाँ जनताको आस्था छ, त्यहाँवाट म कसरी विलग हुन सक्दछु ? जनताको मन्दिर मेरो पनि मन्दिर हो ।’
मुलुकमा दुइ तिहाई बहुमतको सरकार छ । संवैधानिक र कानुनीरूपमा सरकारमाथि कुनै चुनौती छैन । तर सरकार संसद्को, कानुनको र संविधानको बलले मात्रै बलियो हुँदो रहेनछ । अदालत, सेना, प्रहरी, प्रशासन संयन्त्र, संवैधानिक निकाय, बुद्धिजीवी समुदाय, पेशागत क्षेत्र, बिद्यार्थी, ट्रेड युनियन, मात्रै नभएर विदेशी गैरसरकारी संस्था र विश्वका शक्तिशाली र समृद्ध मुलुकहरूको यत्रो ठूलो भर र बल हुँदा पनि सरकार किन अस्थिर देखिएको छ त ?
किन राजनीतिक वा सत्ता परिवर्तनको कुरा सत्तारूढ दलकै सर्वोच्च नेताबाट बारम्बार आइरहेको छ त ? हाँसी हाँसी असाधारण सहजता प्रदर्शन गर्दै नारायणहिटी छोडेर हिँडेका र पुनः राजगद्दी प्राप्तगर्नमा कुनै लालसा नराखेका तर जनता र सबै पक्षले चाहेमा राजधर्म र राष्ट्रधर्म निर्वाह गर्नबाट पछि नहट्ने कुरा मात्रै गरेका राजा ज्ञानेन्द्रले खोक्दा पनि १० बर्षे विद्रोहका नेता र शक्तिशाली सत्तारूढ दलका अध्यक्षको किन सातो गएको देखिन्छ ?
किन उनी असन्तुलित बन्न पुग्दछन् ?
योगी नरहरिनाथकै भनाईको मर्मलाई जोडौं– जनताको धर्म एउटा, शासक समुदायको धर्म अर्को !
जनताले कम्युनिस्ट पार्टी मन पराएर दुई तिहाई दिएका होइनन्, एउटा सन्दर्भमा केपी ओलीको राष्ट्रियता प्रतिको दह्रो अडान, भारतीय नाकावन्दी, काङ्ग्रेसको मूल्यहीन राजनीति र काङ्ग्रेस नेतृत्वले जनतामा आशा र भर जगाउन नसकेको अवस्था आदि कारणहरूको योग र दुइटा ठूला पार्टीको एकता आदि धेरै कुराले त्यसमा योगदान पुर्याएको थियो । नेपाली समाज, वौद्धिक समुदाय र राजनीतिक अवशरवादिताले पनि भूमिका खेल्ने नै भयो ।
राजनीति, प्रणाली र दलहरू जनतासँग जोडिएनन् भने संविधान, कानुन र सेना–प्रहरी लगायत सिङ्गो राज्य संयन्त्रमा शक्तिशाली नियन्त्रण भए पनि सरकार कमजोर, अस्थिर र गतिहीन अनि सधैं सरकार परिवर्तन र सत्ता परिवर्तनका कुरा नै स्थायी हुने रहेछन !
सरकार स्थायी भएको आभास नै हुँदो रहेनछ !
(विश्लेषक तथा नेपाल शिक्षक संघका पूर्व अध्यक्ष केशबप्रसाद भट्टराईको रोचक राजनीतिक विश्लेषण उनको फेसबूकबाट)