प्रधानमन्त्रीलाई बिना मगरले अनौठो तरिकाबाट स्वागत गर्दै

खानेपानी सहज आपूर्ति नहुँदा शहरी जनजीवन प्रभावित भैरहेको अवस्थामा काठमाडौंको मैजुवहालमा पाइप फुटेर पानी खेर गैरहेको छ । तर खानेपानी संस्थान र काठमाडौं खानेपानी आयोजनाले यसतर्फ ध्यान दिएका छैनन् ।

बिहान सबेरैदेखि पानी खेरगैरहेको स्थानीय बासिन्दाले सोसल मिडिया तस्बिर पोष्ट गरेर र फोनमार्फत जानकारी दिँदा समेत सरकारका सरोकारवाला निकायले थाहा नपाएजस्तो गरिरहेको स्थानीयको गुनासो छ ।

यसैवीच पूर्व जलस्रोत मन्त्री तथा नेपाली कांग्रेसका नेता लक्ष्मणप्रसाद घिमिरेले खेरगैरहेको पानीको तस्बिर आफ्नो फेसबूकमा पोष्ट गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यंगपूर्ण ध्यानकर्षण गराएका छन् ।

नेता घिमिरे लेख्छन्– ‘सम्माननीय प्रम ओलीज्यू …. आज (२७ साउन २०७६) विहान देखिनै तपाईं स्वास्थोपचार गरेर फर्कनु हुने सुखद उपलक्षमा खानेपानी मन्त्री विना मगरज्यूले चावहिल चोकबाट पूर्वपट्टी मैजुवहाल जाने जंक्सनमा पानीको फोहराले स्वागत गर्न थाल्नु भएको छ । खानेपानी नआएर दुःख पाइरहेका मैजुवहालवासी तपाईंको प्रतिक्षामा छन् …. जो आदेश !’

सरकारका सम्बन्धित निकायले कानमा तेल हालेर बसेको भनी स्थानीय युवाले फरक किसिमको विरोध प्रदर्शन गर्ने तयारी गरिरहेको बुझिएको छ ।

(तस्बिर– लक्ष्मण घिमिरेको फेसबूकबाट)