स्कूल विभाग:ओली–प्रचण्डका साझा उम्मेदवार को हुन् ?

दुई साता सचिवालय बैठक स्थगित गरेर विदेश गएका सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएसँगै आज बैठक बस्दैछ । पार्टी एकताको डेढ वर्ष पुग्नै लाग्दा पनि उनीहरुले एकता प्रक्रिया अझै टुंग्याउन सकेको छैनन् ।

नेकपामा रहेका ३२ विभागमध्ये प्राय सबैमा विवाद उस्तै छ । सबैले विभागको नेतृत्व हत्याउन आफु निकट नेताहरुसँग कानेखुशी र छलफल व्यापक बढाएका छन् । त्यसमध्ये सबैभन्दा बढी विवाद भने स्कूल विभागमा रहेको छ । स्कूल विभागमा पूर्वएमाले समूहबाट सचिवालय सदस्य तथा रक्षामन्त्री इश्वर पोखरेल, स्थायी कमिटी सदस्य घनश्याम भुसाललगायतको दाबी छ ।
तर पूर्वमाओवादीबाट भने स्कूल विभागको एक्लो उम्मेद्वार सचिवालय सदस्यसमेत रहेका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको दावी देखिन्छ । प्रचण्डको चर्को विरोधीका रुपमा चिनिएका पोखरेललाई ओलीले स्कूल विभागको नेतृत्व दिने सुइँको पाएपछि प्रचण्डले श्रेष्ठलाई अघि सारेका हुन् । पोखरेल नेकपाभित्रका यस्ता खेलाडी हुन् जसले प्रतिवेदनमा उल्लेख नै नभएको जनताको बहुदलिय जनवाद (जवज) नै राख्नुपर्छ भन्दै अड्डी कसेका थिए ।

विदेशबाट फर्किएलगत्तै हिजो २८ गते नै सचिवालय बैठक बस्ने भनिएको थियो । तर बैठक बस्न छलफल अपुग भएको भन्दै आज बस्दैछ । यो बीचमा ओली–प्रचण्डले छलफललाई तिब्र पारेका थिए । नेकपाका एक नेताका अनुसार ओली–प्रचण्डले छलफलपछि अहिले स्कूल विभागमा श्रेष्ठ र पोखरेलबाहेक तेस्रो नेता ल्याउने तयारी गरिरहेका छन् ।

स्कूल विभागमा ल्याउन लागेका तेस्रो व्यक्ति को हुन् त ? भन्ने खुलदुली नेकपाभित्र व्यापक छ । पोखरेललाई प्रचण्डले स्वीकार्दै नस्वीकार्ने स्थिति देखिन्छ । श्रेष्ठलाई पनि ओलीले नबुझेका होइनन् । जब आवश्यकता पर्छ त्यतिबेला प्रचण्डसँगै हुन्छन् श्रेष्ठ ।

धेरैलाई लाग्न सक्छ वामदेव गौतम । तर गौतम पनि ओली–प्रचण्डको रोजाइमा भने नपरेका होइनन् । तर पछिल्लो पटक ओली–प्रचण्डको रोजाइमा परेका नेता हुन् गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा बादल । थापा पछिल्लो समय नेकपाभित्र आफ्नै गुट बनाइरहेका छन् । नेकपाको जिल्ला इञ्चार्ज सहइञ्चार्ज छनोटमा पनि थापाले आफ्ना नेतालाई अटाउन सफल भएका छन् ।

पछिल्लो समय थापा न प्रचण्डसँग नजिक छन् न त ओलीसँग । पूर्वमाओवादी नै भएपनि सचिवालय बैठकमा प्रचण्डले केहि विषय राख्दा थापा प्रचण्डको कुरामा केहि नबोल्ने गरेको आरोप लाग्दै आएको छ । नेकपाकै एक नेता भन्छन्– ‘ओलीसँग टाढा पनि छैनन्, प्रचण्डसँग पनि टाढा भएका छैनन् । थापाले दुबैलाई ब्यालेन्समा राखेका मात्र हुन् । ती नेताका अनुसार पूर्वमाओवादी भएकाले थापालाई आफुसँगै राख्न सक्नेमा प्रचण्ड ढुक्क छन् । ओली पनि प्रचण्डसँग नजिक नरहेका थापालाई आफ्नो गुटमा ल्याउन सक्ने विश्वासमा रहेको बुझिन्छ ।

दुइ अध्यक्षले यतिन्जेल गरेका विभिन्न गृहकार्यले पनि स्कूल विभागमा चलिरहेको जुँघाको लडाईं नै एकता प्रक्रिया बल्झाई राख्ने मुख्य कारण भएको नेताहरुको बुझाई छ ।