पुडासैनी आत्महत्या प्रकरणमा रवि लामिछानेको नाम : पक्राउ गरी अनुसन्धान गर्ने तयारीमा प्रहरी
चितवन प्रहरी प्रमुख दानबहादुर मल्लले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछानेविरुद्ध कारवाही प्रक्रिया अघि बढेको बताएका छन् । गत २० गते चितवनकाे एक हाेटलमा पत्रकार पुडासैनी मृत अवस्थामा फेला परेपछि अनुसन्धान थालेको प्रहरीले सुरुदेखि नै रवि लामिछानेको नाम आएकाले अनुसन्धान अघि बढाएको थियो ।
बुधबार पुडासैनीले आत्महत्या गर्नुअघिको करिब ८ मिनेट लामो भिडियो नै सार्वनजिक भएपछि प्रहरीमाथि तीव्र दबाब परिरहेको अवस्थामा एसपी मल्लले यस्तो बताएका हुन् ।
पत्रकार शालिकराम पुडासैनीको भिडियो सार्वजनिक पत्रकार पुडासैनीले भिडियोमा रवि, युवराज कंडेल र ओखलढुंगाकी युवती अस्मिता कार्कीका कारण आफूले आत्महत्या गर्न बाध्य भएको कुरा भिडियोमा बोलेका छन् । एसपी मल्लले असार २१ देखि नै चितवन प्रहरी यही प्रकरणको अनुसन्धानमा जुटेको बताएका छन् ।
‘म यही विषयमा लागि रहेको छु । प्रहरीले उहाँ (रवि लामिछाने) लाई सम्पर्क गरिरहेको छ’, एसपी मल्लले भने । ’ एसपी मल्लले पुडासैनीको मोबाइल फोन र उक्त फोनमा रहेका अडियो, भिडियो ल्याबमा परीक्षण भइसकेको पनि जानकारी दिए । प्रहरी स्राेतका अनुसार ‘अब पक्राउ गरी कारवाही प्रकृया अघि बढाउन लागिएकाे छ ।
उनका अनुसार ल्याव परीक्षणबाट मोबाइलमा भेटिएको भिडियोको आवाज पुडासैनीकै पुष्टि भएको छ । ‘विधि विज्ञान प्रयोगशालामा गरिएको ल्याव रिपोर्ट पनि आइसेको छ’, मल्लले भने, ‘किटाणी जाहेर आएपछि अब कारवाही प्रक्रिया अघि बढ्छ ।’
पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भिडियो र रेकर्ड गराएको अडियो प्रहरीले नै गायब गरेको आरोप लागिरहेका बेला मल्लले रविसहित तीनजनाविरुद्ध कारवाही थालिएको जानकारी दिएका हुन् ।