कश्मीरको ‘पुरानो गौरव फेरि स्थापित गर्ने’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको घोषणा

बिबिसी-भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत-प्रशासित कश्मीरले पाएको विशेषाधिकार समाप्त गर्ने निर्णयबाट सो क्षेत्र पुन: आफ्नो पुरानो गौरवमा फर्किने दाबी गरेका छन्।

भारतीय स्वतन्त्रता दिवसको अवसरमा भाषण गर्दै उनले भने, “हामी कश्मीरको पुरानो गौरव फेरि स्थापित गर्नेछौँ र यसले देशको विकासमा महत्त्वपूर्ण भूमिका खेल्नेछ।”

कश्मीरलाई विशेष मान्यता दिने भारतीय संविधानको धारा ३७० ले केवल भ्रष्टाचारलाई प्रश्रय दिएको उनको तर्क थियो।

नयाँ दिल्लीको निर्णयपछि गत हप्तादेखि कश्मीर बन्दको अवस्थामा छ र त्यहाँ फोन र इन्टरनेट पनि अवरुद्ध छन्। तर मोदीले सो स्थिति’bout कुनै टिप्पणी गरेनन्।

दिल्लीस्थित लालकिलामा आयोजित समारोहमा बिहीवार बिहान उनी डेढ घण्टा बोलेका थिए।

सन् १९४७ मा ब्रिटिश शासनबाट मुक्त भएको भारतको यो ७३औँ स्वतन्त्रता दिवस हो।

भारतबाट विभाजन भएको पाकिस्तानले आफ्नो स्वतन्त्रता दिवस एक दिनअघि अगस्ट १४ मा मनाउने गरेको छ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बुधवार आफ्नो भाषणमा कश्मीरमा भारतीय हस्तक्षेपको चर्को आलोचाना गरेका थिए।

“विश्वको आँखा कश्मीर र पाकिस्तानमा छ। कर्फ्यू लगाएर भारतद्वारा जे गरियो त्यसका लागि म अन्तर्राष्ट्रिय समुदायलाई त्यसका लागि ‘तिमीहरू उत्तरदायी छौ’ भन्नेछु।”

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत-प्रशासित कश्मीरको विशेष मान्यता खारेज गरेर ‘ठूलो रणनीतिक त्रुटि’ गरेको भन्दै खानले यदि युद्ध भए पाकिस्तान पूर्ण रूपमा तयार भएको बताए।

“तपाईँको ईँटको जबाफ हामी पत्थरले दिन्छौँ,” उनले मोदीतर्फ इङ्गित गर्दै भनेका थिए।

तर मोदीले खानको टिप्पणीमा कुनै प्रतिक्रिया दिएनन्। बरु धारा ३७० खारेजको विरोध गर्नेहरूले “राजनीति गरिरहेको” उनको भनाइ थियो।

आँट नभएको र राजनीतिक भविष्य’bout चिन्ता रहेकाले पूर्ववर्ती सरकारहरूले आफ्नोजस्तो साहसिक कदम लिन नसकेको उनको दाबी थियो।

कश्मीरमा हजारौँ सुरक्षाकर्मी परिचालित छन्
“म मेरो राजनीतिक भविष्य’bout चिन्तित छैन। मेरा लागि मेरो देशको भविष्य पहिलो स्थानमा आउँछ।”

विगत एक हप्ताभन्दा बढी समयदेखि कश्मीर बन्द छ। सरकारले लगाएका प्रतिबन्धका कारण मानिसहरू भेला हुन पाउँदैनन्।

तर हिन्दूबहुल क्षेत्रमा परिस्थिति केही सहज भएको बुधवार सरकारी अधिकारीहरूले बताएका छन्।

सुरक्षामा कडाइ गरिएको भए पनि श्रीनगर तथा अन्य स्थानमा भारत सरकारको निर्णयविरुद्ध प्रदर्शन भएको छ। शुक्रवारको प्रार्थनापछि हजारौँ मानिसहरूले मुसलमानबहुल कश्मीर उपत्यकामा प्रदर्शन गरेका थिए।

आफ्नो भाषणमा मोदी कश्मीरको विषयमा केन्द्रित भएको भए पनि उनले केही महत्त्वपूर्ण घोषणाहरू पनि गरे।

अब स्वतन्त्र भारतमा पहिलो चोटि तीनवटै सशस्त्र सुरक्षाबलको नेतृत्व एक अधिकारीले गर्नेछन्।

एकचोटि मात्र प्रयोग हुने प्लास्टिक घटाउन उनले सर्वसाधारणलाई आग्रह गरे।

उनले पानीको अभाव, जनसङ्ख्या नियन्त्रण र स्वास्थ्यसेवाको विषयमा पनि बोले।

सन् १९४७ मा ब्रिटिश शासनबाट मुक्त भएसँगै भारत र पाकिस्तान छुट्टिएर नयाँ स्वतन्त्र राष्ट्र बने।

स्थापना कालदेखि नै यी दुई छिमेकी देशबीच कहिल्यैपनि सम्बन्ध सुमधुर हुन सकेन। सम्बन्धमा तिक्तताको केन्द्रमा सधैँ कश्मीर रह्यो।

यस अवधिमा दुई देशबीच कैयौँ यस्ता घटना भए जसले कहिले युद्ध नै निम्त्यायो त कहिले चर्को तनाव।

हाल भारत र पाकिस्तानमाझ पुन: चर्किएको तनावका माझ यी दुई दक्षिण एशियाली मुलुकहरूबीच यस अवधिमा भएका महत्त्वपूर्ण घटनाको सङ्क्षिप्त विवरण –

अक्टोबर १९४७: भारत र पाकिस्तानबीच पहिलो युद्ध। स्वतन्त्र भएको केवल दुई महिनापश्चात् दुई छिमेकी कश्मीरलाई लिएर युद्धमा होमिए।

अगस्ट १९६५: कश्मीरलाई नै लिएर दुई छिमेकीबीच अर्को छोटो युद्ध।

डिसेम्बर १९७१: भारतद्वारा पूर्वी पाकिस्तान (वर्तमान बाङ्ग्लादेश) मा अतिक्रमण। इस्लामाबादको शासनविरुद्ध स्वतन्त्रताको लडाइँमा भारतको समर्थन। भारतीय वायुसेनाद्वारा पाकिस्तानी भूभागमा बम आक्रमण। बाङ्ग्लादेशको स्थापनासँगै युद्धको अन्त्य।

सन् १९८९: कश्मीर उपत्यकामा भारतीय शासनविरुद्ध सशस्त्र विद्रोहको थालनी।

फेब्रुअरी १९९९: भारतीय प्रधानमन्त्री अटल बिहारी वाजपेयीद्वारा पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफसँग भेट्न र शान्ति सम्झौता गर्न बस चढेर पाकिस्तानको लाहोर प्रस्थान।

मे १९९९: पाकिस्तानी सेना तथा विद्रोहीद्वारा कार्गिल पर्वतमा रहेका भारतीय सैनिक शिविर कब्जा। सीमित द्वन्द्व सुरु। भारतद्वारा हवाई तथा स्थल आक्रमणपश्चात् अतिक्रमणकारीहरू फिर्ता।

मे २००१: भारतको आगरामा भारतीय प्रधानमन्त्री वाजपेयी र पाकिस्तानी राष्ट्रपति परवेज मुशर्रफको भेटवार्ता। कुनै सम्झौता हुन सकेन।

अक्टोबर २००१: श्रीनगरस्थित कश्मीरको विधानसभामा आक्रमण। ३८ जनाको मृत्यु।

१३ डिसेम्बर २००१: दिल्लीस्थित भारतीय संसद्‌मा भएको सशस्त्र आक्रमणमा १४ जनाको मृत्यु।

फेब्रुअरी २००७: भारत र पाकिस्तानबीच चल्ने सम्झौता एक्सप्रेस रेलमा बम विस्फोट। ६८ जनाको मृत्यु।

२६ नोभेम्बर २००८: विद्रोहीहरूद्वारा मुम्बईस्थित मुख्य रेलवे स्टेशन, विलासी होटलहरू तथा एक यहुदी सांस्कृतिक केन्द्रमा आक्रमण। ६० घण्टे घटनामा १६६ जनाको मृत्यु। भारतद्वारा पाकिस्तानमा रहेको लश्कर-ए-तइबा समूहमाथि दोष।

जेनुअरी २०१६: पठानकोटस्थित भारतीय वायुसेनाको अखाडामा भएको चार दिन लामो आक्रमणमा सात भारतीय सैनक र छ विद्रोहीको मृत्यु।

१८ सेप्टेम्बर २०१६: भारत प्रशासित कश्मीरस्थित उरीमा रहेको सैन्य अखाडामा विद्रोहीद्वारा हमला। १९ सैनिकको मृत्यु।

३० सेप्टेम्बर २०१६: भारतद्वारा पाकिस्तानी कश्मीरमा सैन्य कारबाही ‘सर्जिकल स्ट्राइक’ गरेको भनाइ। पाकिस्तानद्वारा त्यस्तो कारबाही भएको अस्वीकार।

१४ फेब्रुअरी २०१९: कश्मीरको पुलवामामा विद्रोहीद्वारा आत्मघाती विस्फोट। अर्धसैनिक बल सीआरपीएफका ४० भन्दा धेरैको मृत्यु। पाकिस्तानमा रहेको जैश-ए-मोहम्मद समूहद्वारा जिम्मेवारी स्वीकार।

२६ फेब्रुअरी २०१९: भारत-पाकिस्तान सीमा उल्लङ्गघन गरेर भारतीय वायुसेनाद्वारा पाकिस्तानी भूभागमा आक्रमण। लडाकु समूह जैश-‍ए-मोहम्मदको शिविर नष्ट गरिएको भारतको भनाइ।

५ अगस्ट २०१९: भारतद्वारा भारत-प्रशासित जम्मू-कश्मीर राज्यलाई दिइएको संवैधानिक मान्यता खारेज।