हतारमा निर्णय गर्दै पछुताउँछन् प्रचण्ड ?

‘केपी शर्मा ओली त्यसै देशको प्रधानमन्त्री हुनुभएको होइन, १० वर्ष जेलनेलको सजाय भोगेर आउनु भएको हो । कुनै दलाल र सामन्तवादहरुले केपी ओलीलाई प्रधानमन्त्री बनाएका हैनन्, यसतर्फ सरकारको विरोध गर्नेहरुले एकपल्ट सोच्नु जरुरी छ ।

-‘कसैले अहिलेको व्यवस्था फेर्छु भन्ने सपना नदेख्दा हुन्छ, यदि त्यो कोही कसैले सोचेको छ भने त्यसको हविगत कल्पना गर्नै नसक्ने हुनेछ ।’ व्यवस्थालाई सम्मान नगरे पूर्वराजा ज्ञानेन्द्रलाई नागार्जुन दरबारबाट निकाल्ने छन् ।’

– ‘कहिलेकाहीँ यसो (पार्टी एकता) नगरेको भए बरु कहीँ न कहीँ विकल्प रहिराख्थे कि भन्ने पनि लाग्छ । सबै विकल्प सकेर पार्टी एकता गर्दा पनि हामीले सफलता प्राप्त गर्न सकेनौं भने कम्युनिस्ट आन्दोलन र राष्ट्रकै भविष्य बर्बाद हुने हो कि भन्ने चिन्ता छ ।’

– ‘विगतमा कतिपयले आफूहरूलाई सशस्त्र द्वन्द्वबाट गणतन्त्र ल्याउन सक्दैनन् भन्थे, हामीले ल्यायौं । कतिले पार्टी एकता सम्भव हुन्न भन्थे, तर हामीले गर्याैं । अहिले पार्टी एकता टिक्न सक्तैन कि भन्ने टिप्पणी भइरहेको छ । हेर्दै जानुहोला अब सुदृढ एकतासहित नेकपा राष्ट्र हाँक्ने सशक्त पार्टी बन्नेछ ।’

माथि उल्लेखित भनाई सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हो । बेलाबेलामा तरङ्ग फैलिने भाषण गर्ने नेतामध्ये पर्छन् प्रचण्ड । प्रचण्डको यो भनाई करिब १५ दिनको सेरोफेरोको हो । उनले नेपाली राजनीतिमा तरङ्ग नै ल्याइदिने दिने गर्छन् । नेपाली राजनीतिका चतुर खेलाडीका रुपमा चिनिने प्रचण्ड हतारमा निर्णय गर्ने नेतामध्ये अग्रपंक्तिका नेतामा पर्ने कतिपयको बुझाई छ । ‘हामी हतारमा विवाह गर्छौं, फुर्सदमा पछुताउँछौं’ भन्ने उखान झैं हतारको निर्णयले पछि पछुताउनुपर्ने अवस्था आएको अनुभव सुनाए प्रचण्डले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा । कहिले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग आलोपालो सरकार र पार्टी सञ्चालन गर्ने सहमति भएकाले अब छिट्टै आफू प्रधानमन्त्री हुने खालका अन्तरवार्ता दिन्छन् त कहिले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट हटाउने भाषण गर्छन् उनी ।

शुक्रबार मात्रै पार्टी एकताको बाँकि रहेको काममध्ये ३२ विभागको नेतृत्व टुंग्याएका नेकपा अध्यक्षको भोलिपल्टै यस्तो भनाइ आउनुले प्रचण्ड पूर्व एमालेको पेलानमा परेका हुन भन्ने पनि सहजै बुझ्न सकिन्छ । मुख्य विवाद रहेको स्कूल विभागका रक्षामन्त्रीसमेत रहेका इश्वर पोखरेललाई नस्वीकार्ने अडानमा पूर्वमाओवादी समूह थियो । तर अन्तिम अवस्थामा प्रचण्डविरुद्ध खरो रुपमा उत्रिने पोखरेललाई नै स्कूल विभाग नेतृत्व दिँदा उनी मौन बसेको देखियो । उनले सबै विकल्प सकेर पार्टी एकता गर्दा पनि हामीले सफलता प्राप्त गर्न सकेनौं भने कम्युनिस्ट आन्दोलन र राष्ट्रकै भविष्य बर्बाद हुने हो कि भन्ने चिन्ता रहेको बताए । प्रचण्डले भने जस्तै पार्टी एकता गरेर पनि सफलता प्राप्त गर्न सक्ने हो वा होईन त्यो भने भविष्यले नै बताउला ।

त्यतिमात्रै होईन प्रचण्डको मौन सहमतिमा विधानमै नभएको उपाध्यक्ष पद स्थापना गरेर वामदेव गौतमलाई दिईएको छ । रिसाएर प्रचण्डसँग नजिकिएका वामदेव गौतमलाई फकाउनकै लागि पनि अध्यक्ष केपी शर्मा ओलीले यस्तो खेल खेलेको कतिपयको बुझाई छ । तर कतिपय भने आफू निकटका नेता पार्टी दोस्रो बनाएर प्रचण्डलाई ओलीले अध्यक्ष पद सुम्पिन लागेको पनि बताउँछन् । नेकपाकै एक स्थायी कमिटी सदस्यको भनाईलाई आधार मान्ने हो भने दशैंअघि नै ओलीले प्रधानमन्त्री पद सम्हालेर प्रचण्ड एक्लो अध्यक्ष बन्दैछन् ।

रामेछापमा भएको एक कार्यक्रममा प्रचण्डले धेरै बोले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट निकाल्ने चेतावनी दिएका थिए । केपी ओली १० वर्ष जेलनेल भोगेर आएको उदाहरण दिँदै प्रचण्डले भनेका थिए– ‘कुनै दलाल र सामन्तवादहरुले केपी ओलीलाई प्रधानमन्त्री बनाएका हैनन्, यसतर्फ सरकारको विरोध गर्नेहरुले एकपल्ट सोच्नु जरुरी छ ।’

प्रचण्डले यति मात्रै बोलेनन् उनले अर्को खतरनाक खुलासा पनि गरे । अहिलेको व्यवस्था उल्ट्याउन कतिपय लागि परेकोसमेत उनले खुलासा गरे । ‘‘कसैले अहिलेको व्यवस्था फेर्छु भन्ने सपना नदेख्दा हुन्छ, यदि त्यो कोही कसैले सोचेको छ भने त्यसको हविगत कल्पना गर्नै नसक्ने हुनेछ’ उनले चेतावनीको भाषामा भनेका थिए ।