राजा वीरेन्द्रले यसरी गरेका थिए मुगाबेको प्रशंसा

काठमाडौं, २० भदौ । कुनैबेला स्वतन्त्रता पक्षधर नायकका रुपमा चिनिएका जिम्बाब्वेका पूर्वराष्ट्रपति रोबर्ट मुगाबेको शुक्रबार सिंगापुरमा उपचारको क्रममा मृत्यु भएको छ । उनी अल्पसंख्यक गोराहरुको उपनिवेश शासनविरुद्ध लडेर सन् १९८० मा प्रधानमन्त्री भएका थिए ।

उनी प्रधानमन्त्री भएकै बेलामा असंलग्न आन्दोलनको आठौं शिखर सम्मेलनमा भाग लिन पुगेका नेपालका तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहले मुगाबेको मुक्तकण्ठले प्रशंसा गरेका थिए । १ देखि ६ सेप्टेम्बर १९८६ मा जिम्बाब्वेको राजधानी हरारेमा भएको सो शिखर सम्मेलनमा राजा वीरेन्द्रले मुगाबेको नाम लिएर न्याय, स्वतन्त्रता र समानताका लागि उनले खेलेको भूमिकाको सराहना गर्दछु भनेका थिए । आयोजक राष्ट्रको प्रधानमन्त्री भएकाले मुगाबे त्यही बसिरहेका थिए । राजा वीरेन्द्रको सो मन्तव्य परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले निकालेको असंलग्न आन्दोलनको भाषणको संकलन पुस्तकमा उल्लेख गरिएको छ ।

मुगाबे अफ्रिकाको स्वतन्त्रताका नायकका रुपमा त्यतिबेला विश्वभर चर्चित थिए । उनी जातीय सद्भावको पहल गर्ने नेताको रुपमा समेत चिनिएका थिए । किनकी झण्डै एक शताब्दीसम्म त्यहाँ अल्पसंख्यक गोरा जातिको उपनिवेश थियो । करिब ३७ वर्ष शासनमा रहेका उनलाई पछिल्लो समय विश्वले तानाशाहको रुपमा चिनेको थियो । एउटै व्यक्ति जीवनको एक कालखण्डमा नायक र अर्को कालखण्डमा खलनायकमा चिनिने मुगाबे थोरै व्यक्तिमा पर्छन् ।

चुनावमा धाँधली, अर्थतन्त्रको बर्बादी गर्ने र सधैं नियन्त्रण गर्ने नेताको रुपमा उनी पछिल्लो समय चिनिएका थिए । उनलाई सैनिक कू मार्फत् सन् २०१७ को नोभेम्बर महिनामा हटाइएको थियो । उनी १९८० देखि १९८७ सम्म प्रधानमन्त्री रहेकोमा त्यसपछि प्रधानमन्त्री पद हटाएर २०१७ सम्म लगातार राष्ट्रपति रहेका थिए ।

उनमा पछिल्लो समयमा दम्भ थियो । उनकै पार्टी जानु पीएफ पार्टीले उनलाई कारवाही गरेको थियो । उनको राजीनामालाई देशभर खुसियालीको रुपमा १३ मिलियन जनताले मनाएका थिए ।

मुगाबेका लागि यो असंवैधानिक र अपमानजनक अवस्था थियो । उनकै पार्टीद्वारा उनलाई धोका दियो र उनलाई टुटेको मान्छेको रुपमा उभ्याइयो । उनी पछिल्लो जीवन सिंगापुरमा स्वास्थ्य उपचारका क्रममा बिताइरहेका थिए । उनी एकताका अग्ला मान्छे थिए । तर, जाने बेलामा होचा देखिए ।

सन् १९८० देखि २०१७ सम्म जिम्बाब्वेका एकछत्र नेता थिए मुगाबे । पहिला जिम्बावेको नाम रोडेसिया थियो । बेलायतबाट स्वतन्त्र भएपछि पनि त्यहाँ गोराहरुको शासन थियो । सन् २००० ताका मुगाबे अस्वस्थ हुँदै गए र उनले अरुलाई त्यति धेरै विश्वास गर्न पनि सकेनन् ।

सुरुमा शिक्षा र स्वास्थ्य क्षेत्रमा काला जातिलाई गरेको सहयोगलाई लिएर उनी ‘हाइहाइ’ थिए । तर, २००० ताका उनले पत्नीलाई अघि बढाउन खोजेका थिए । उनकी पत्नी ग्रेसको किनमेलको चर्चा निकै हुने गरेको थियो ।

सन् १९२४ को फेब्रुअरी २१ मा रोमन क्याथोलिक मिसनमा हरारे नजिकै मुगाबेको जन्म भएको थियो । मुगाबेलाई इसाई धर्म गुरुव्दारा दीक्षित गरिएको थियो । उनी दक्षिण अफ्रिकाको युनिभर्सिटी अफ फोर्ट हारेमा पढ्न जानुअघि प्राथमिक विद्यालयमा शिक्षक थिए । उनी अफ्रिकी राष्ट्रवादबाट प्रभावित भएका थिए । रोडेसियामा सन् १९६० मा फर्किनुअघि नै उनी राजनीतिमा प्रवेश गरिसकेका थिए । गोरा जातिको शासनको विरोध गर्दा उनी फर्केको चार वर्षमा नै एक दशकका लागि जेल परेका थिए ।

जब उनको शिशु छोराको औलोका कारण घानामा सन् १९६६ मा मृत्यु भयो, मुगाबेलाई अन्त्येष्टिमा भाग लिन जान पनि दिइएन । गोरा अल्पसंख्यक नेता इयान स्मिथसँग मुगाबेको निकै तीतो सम्बन्ध थियो । उनको रिहाइपछि जिम्बाब्वे अफ्रिकन नेसनल लिब्रेसन आर्मीको उनी शक्तिशाली प्रमुख भएका थिए । उनलाई त्यतिबेला ‘थिंकिङ्ग म्यान्स गुरिल्ला’ भन्ने गरिएको थियो । सन् १९८० मा युद्ध समाप्त भएपछि मुगाबे मुलुकको पहिलो काला जातिको प्रधानमन्त्री भएका थिए ।

प्रारम्भमा मुगाबेले विदेशी र घरेलु व्यक्तिहरुलाई माफी र सहमतिको प्रस्ताव गरेका थिए । त्यसमा पहिलाका प्रधानमन्त्री स्मिथ पनि थिए, जो आफ्नो खेतमा बस्थे र सरकारको तर्फबाट पेन्सन पनि पाइरहेका थिए । सुरुको वर्षमा उनी राम्रो अर्थतन्त्र भएको मुलुकको राष्ट्रपति थिए । उनले रकम सडक र बाँध बनाउने र काला जातिकालाई पनि शिक्षाको व्यवस्था गरेका थिए ।

सन् १९८० दशकको बीचमा काला र गोराबीच तनाव भएपछि धेरै गोराहरु कि बेलायत कि दक्षिण अफ्रिकातर्फ लागेका थिए । उनले विस्तारै विरोधीहरुलाई दबाउने काम गर्न थाले । यसरी दबाइएकामा लिब्रेसन वारका विरोधी जोशुवा निकोमो पनि थिए । १९८० को दशकमा आन्दोलन व्यहोरेका उनले निकोमोलाई दोष दिँदै माताबेलेलान्डमा उत्तर कोरियाली तालिम प्राप्त युनिट खटाएका थिए । नागरिकमाथि दमन भएको भनेर अन्तर्रा्ष्ट्रिय जगतले आपत्ति पनि जनाएको थियो । मानवअधिकार सम्बन्धी समूहले त्यहाँ २० हजार मानिस मारिएको जनाएका थिए । उनीमाथि नरसंहारको आरोप पनि लाग्यो । दुई कार्यकालसम्म प्रधानमन्त्री भएपछि उनले आफ्नो शक्तिलाई कडा बनाउँदै संविधान परिवर्तन गरे ।

त्यसपछि उनी सन् १९८७ मा राष्ट्रपति बने । उनकी पहिली पत्नी साल्ली जसले उनलाई साथ दिन सक्षम भएजस्तो लाग्थ्यो, उनको १९९२ मा मृत्यु भएको थियो । दशकको अन्त्यमा मुगाबे अर्को संविधानको लागि भएको जनमत संग्रहमा नराम्रोसँग पराजित भए । उनले आफ्नो पराजयप्रति गोरा अल्पसंख्यकलाई दोष दिएका थिए । उनीहरुलाई उनले जिम्बाब्वेका दुश्मन घोषणा गरेका थिए । “हामीले युद्धको खाडल बाँकी रहँदै अन्त्य गरेर गल्ति गरेछौं,” उनले सन् २००० मा भनेका थिए । यदि उनीहरुलाई बन्दुकबाट पराजित गरिएको थियो भने आफूहरुले त्यही समस्या व्यहोर्नुपर्ने थिएन भन्ने उनको भनाइ थियो ।

भूमि सम्बन्धी विषयलाई लिएर उनी पछिल्लो समय विवादमा आए । जसले अफ्रिकाको सबल अर्थतन्त्रलाई धक्का लागेको थियो । कृषि क्षेत्र ध्वस्त भएको थियो भने मुद्रास्फीतिको अवस्था आएको थियो । २००० देखि २००८ सम्म पुग्दा अर्थतन्त्र चौपट भएको थियो । बेरोजगारी ८० प्रतिशतसम्म पुग्यो । केही मिलियन जिम्बाब्वेका नागरिक देश छोडेर हिँडे । उनीहरु मध्ये धेरैजसो दक्षिण अफ्रिका गएका थिए । उनले आफूलाई कट्टर अफ्रिकी राष्ट्रवादीको रुपमा चिनाउने प्रयास गरेका थिए । तर नाराले मात्रै धान्ने अवस्था रहेन । उनले जातिवादी र साम्राज्यवादी शक्ति भनेर वाशिङ्गटन र लण्डनमाथि प्रहार गर्ने गर्थे । उनको नारा काम नलागेपछि सन् २००८मा जनताले पश्चिमा समर्थक नेता मोर्गन सिभागिराईको समर्थन गर्न थालेका थिए । मुगाबेको सेना, प्रहरी र गुप्तचरमा नियन्त्रण भएकाले चुनावमा उनी नै अघि आए ।

उनले बेलायतलाई पहिलाको कोलोनियल पावर भएका कारण शत्रु राष्ट्र भन्ने गरेका थिए । कार्पेन्टरका छोरा मुगाबे जातीय रुपमा बहुसंख्यक रहेका शोना भाषी समुदायमा पर्थे । उनको पहिलो पत्नी साल्ली घानाको नागरिक थिइन् ।

उनले १९६४ मा रोडेसियन प्रधानमन्त्रीलाई काउब्वाइ भएको एउटा सार्वजनिक भाषण दिएका थिए । त्यसपछि उनलाई गिरफ्तार गरेर १० वर्ष थुनिएको थियो । उनी रिहा भएपछि मोजाम्बिक गएका थिए । त्यहाँ गएर उनले रोडेसियामा गुरिल्ला युद्ध गर्न निर्देशन दिएका थिए । १९७६ मा उनी लण्डन गए । रोडेसियन समस्याको समाधान बन्दुकको नालबाट मात्रै सम्भव हुने उनले बताएका थिए । उनको सम्झौता गर्ने क्षमताको उनका पूर्व आलोचकहरुले पनि सराहना गरेका थिए । सोच्न सक्ने खालको गुरिल्ला भन्ने नाम उनीहरुले दिएका थिए ।

उनी जेलमै भएको बेलामा जिम्बाब्वे अफ्रिकन नेशनल युनियन (जानु) का अध्यक्ष भएका थिए । उनी मार्क्सवादी लेनिनवादी थिए । पछि आफ्नै नामबाट विचारधारा नै मुगाबेइज्म भन्न थालेका थिए । तर, जनताले उनी हट्दा खुसी मनाउने दिन आएकाले कुनैबेलाका नायक खलनायकमा रुपान्तरण भएको बुझ्न अहिलेको विश्वलाई गाह्रो छैन । एजेन्सी