कारागार स्थानान्तरणपछि कैदीबन्दीलाई राहत

दोलखा, माघ १६ : दोलखा सदरमुकाम चरिकोटस्थित कारागारका क्षमताभन्दा ७ गुण बढी कैदीबन्दीहरुलाई कोचाकोच गरेर बस्नुपर्ने बाध्यताबाट मुक्ति मिलको छ । नवनिर्मित कारागार भवनमा आज उनीहरुलाई स्थानान्तरण गरिएपछि बसाइमा राहत हुनेमा उनीहरु आसावादी भएका हुन् । १७ जनाको क्षमता रहेको चरिकोट कारागारमा अहिले १ सय ९ जना कैदीबन्दीहरु बस्दैआएका छन् । कारागारको क्षमता कम भएपछि कैदीबन्दीहरु भ¥याङ, भ¥याङमुनि, प्यासेज र खाटमुनि समेत सुत्न बाध्य थिए ।


आज कारागार व्यवस्थापन विभागका महानिर्देशक गजेन्द्रबहादुर श्रेष्ठले चरिकोट कारागारको नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै महानिर्देशक श्रेष्ठले क्षमताभन्दा बढी कैदीबन्दी रहने अवस्था मुलुकभर नै रहेको बताए । उनका अनुसार मुलुकभर १३ हजार क्षमताको बन्दीगृह रहे पनि २५ हजार कैदीबन्दी छन् । उनले भने ‘अब नुवाकोट, बाँके लगायतका क्षेत्रमा कारागार बनेपछि यो समस्या समाधान हुनेछ ।’


चरिकोटस्थित कारागार भवन जीर्ण भएपछि २०६९ सालमा भवन निर्माण सुरु गरिएको थियो । गत असोजमा निर्माण सम्पन्न भएको भए पनि सुरक्षा प्रबन्ध भैनसकेकोले कैदीबन्दीलाई नयाँ भवनमा सार्न नसकिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए ।


१७ जनाको क्षमता रहेको महिला कैदीबन्दी भवनमा अहिले १ सय ९ जना बस्दै आएका छन् । कहिलेकाहीँ सो भवनमा १ सय १३ जनासम्म कैदीबन्दीहरु बस्ने गरेका थिए । महिला कैदीबन्दीलाई भने रामेछाप कारागारमा पठाउने गरिएको छ ।


नव निर्मित सात कोठे भवन ३४ जनाको क्षमता भए पनि दुईवटा भवनमा बाँडेर सुत्दा अब उक्त समस्या हट्ने चौकीदार दीलिप खत्रीले बताए । नवनिर्मित भवनमा कैदी बन्दीका लागि आवश्यक शौचालय, बाथरुम, किचेन र ठूलो कम्पाउण्ड सहित आँगन बनाइएको छ । त्यसैगरी सुरक्षा व्यवस्थाका लागि कारागार भित्र र बाहिरका सबै दृश्य कैद गर्न मिल्ने गरी सीसी क्यामरा जडान गरिएको छ ।