भीमा एकादशीमा भीमेश्वरको मेला



दोलखा, माघ २३
प्रसिद्ध दोलखा भीमेश्वर मन्दिरमा भीमा एकादशीको मेला लागेको छ । मन्दिरमा एघार लघुरुद्री, होम यज्ञ र रातभर बत्ती बालेर भीमा एकादशीको पर्व मनाइएको हो ।


मेलाका लागि भीमेश्वर मन्दिरलाई विशेष ढंगले सजाइएको छ । मन्दिरलाई फूलमाला र बत्तीले सजाइएको छ ।
भक्तजनहरु आफ्नो भाकल पूरा गर्न मन्दिर परिसरमा बत्ती बाली रातभर जाग्राम बस्ने गर्दछन् । आआफ्ना व्यापार, व्यवसाय, बालीनाली फस्टाओस् भनेर भीमेश्वरमा बत्ती बालेर र भजनकीर्तन गरेर जाग्राम बस्ने परम्परा छ । द्वादशीका दिन बिहान पूजा व्यवस्थापन समितिको तर्फबाट भीमेश्वरलाई बली चढाई प्रसाद ग्रहण गरेपछि पूजा यो पूजा समापन भएको मानिन्छ ।


कुन्तीपुत्र भीमसेनले माघ शुक्लपक्ष एकादशीका दिन दोलखाको कैलाश पर्वत अर्थात गौरीशंकर हिमालको नजिकमा रहेको हालको भीमेश्वर मन्दिर रहेकै स्थामा आई ब्रत बसी भगवान विष्णुको शक्तिबाट सबै पितृऋणबाट मुक्त गराएका कारण यो एकादशी भीमा एकादशी हुन गएको कुरा गरुढ पुराणमा उल्लेख छ ।
भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिले मेलाको लागि भव्य तयारी गरे पनि भक्तजनको रौनक भने निकै घटेको छ । बत्ती बाल्न आउने भक्तजनहरुको संख्या निकै कम छ ।


भीमा एकादशीको राती दोलखा र आसपासका जिल्लाका साथै काठमाडौँ उपत्यकाबाटसमेत ठुलो संख्यामा भक्तजनहरु आउने गरेकोमा केही वर्षदेखि यो संख्या घटेको भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठ बताउँछन् । ‘अझ यो वर्ष भक्तजनहरुको संख्या बढेको हो, अघिल्लो वर्ष झनै कम थियो ।’ अध्यक्ष श्रेष्ठले भने ।